८ वैशाख २०८१ शनिबार
समाज

रौतहटमा फेला पर्यो मंगोलियन चिल

फोटो क्याप्सन : रौतहटमा फेला परेको मंगोलियन चिल

रौतहट, – मंगोलियाबाट आएको चिल रौतहटमा फेला परेको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका– १ शीतलपुरमा बिहीबार राति आठ बजे मंगोलियन चिल फेला परेको हो ।

एउटा चिल थकित अवस्थामा देखेपछि स्थानीय केही बालबालिकाले खेतबाट समाएर खेल्न खोज्दा चिलको पिठ्युमा सोलारसहितको सेटेलाइट देखेपछि प्रहरीलाई खबर गरेका थिए । चिलको दाहिने खुट्टामा सिल्भरको गोलो रिङमा अक्सनिथ डट ल्याब डट, एनएसटी डट बायल, मंगोलया २७१ लेखिएको पनि देखिएको छ ।

प्रहरीले चिललाई फेला पारी चिलको विषयमा अध्ययन गर्न जिल्ला वन कार्यालय रौतहटलाई पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए ।जिल्ला वन कार्यालय रौतहटका प्रमुख दीर्घ कोइरालाले सोलार प्यानलसहितको चिल जिल्ला प्रहरी कार्यालय रौतहटबाट आएको र त्यो मंगोलियाबाट नेपालमा आएको स्पस्ट भएको जनाए ।

विश्वमा निकै कम संख्यामा रहेकाले चिल प्रजातिको चरा मंगोलियाबाट कहाँकहाँ जान्छ भनेर पत्ता लगाउन सेटेलाइट जडान गरिएको हुन सक्ने बताउँदै कोइरालाले अन्य प्रयोजन पनि हुन सक्ने अनुमान गरेका छन् । चराको पिठ्युमा जडान गरिएको स्याटेलाइटको अध्ययन नगरी केही भन्न नसकिने कोइरालाको भनाइ छ।

नेपालका चराविद् डा. हेमसागर बरालले गोमायु महाचिल भएको बताउँदै हिउँद महिनामा हरेक वर्ष नेपालमा आउने गरेको बताउँछन् । विश्वमा नै निकै कम संख्यामा रहेका यो चराका विषयमा अनुसन्धान गर्न थालिएकाले पिठ्युमा सोलारसहितको सेटेलाइट राखिएको हुन सक्ने डा. बरालले बताए । विश्वमा पाइने ३९ प्रजातिका चिलमध्ये एक प्रजाति गोमायु महाचिल रहेको बताउँदै यो चिल अफ्रिकासम्म जाने गरेको डा.बरालको भनाइ छ ।  ‘सुरक्षा प्रयोजनले चिलको पिठ्युमा सेटेलाइट राखिएको होइन,’ उनले भने ।  
बरालले मंगोलियाका सिनियर चराविज्ञ डा. गम्बो बटारलाई चराको फोटो र आफूले पाएको जानकारीसहितको विवरण इमेलमा पठाएको र नेपालमा फेला परेको चिलको प्रयोजनका विषयमा उताबाट उत्तर आएपछि थप कुरा थाहा हुने पनि बताए ।

 

 

प्रकाशित: ६ फाल्गुन २०७४ ०२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App