७ वैशाख २०८१ शुक्रबार
समाज

रंगिन घर बने कात्तिके गाउँमा

भूकम्पपछि पुनर्निर्मित सिन्धुपाल्चोक, जलवीरस्थित कात्तिके गाउँ । तस्बिर : ध्रुव-नागरिक

सिन्धुपाल्चोक –ढुंगामाटोको गाह्रो, काठैको प्रयोग । साना र मझौला आकारका संरचना । धेरै निलो अनि केही रातो, हरियो जस्तापाताको छपनी (छानो) ले सजिएका घर । तस्बिरको यो रंगिन बस्ती, भूकम्पपछि पुनर्निर्मित जलवीरको कात्तिके गाउँ हो ।

 ‘भूकम्पले ढालेका घर ठडिइसक्दा बस्ती रंगिन गाउँमा बदलियो,’ स्थानीय हरि पौडेलले नागरिकसँग भने । उनका अनुसार ५७ परिवार बस्ने यो गाउँका ५५ घरको पुनर्निर्माण भइसकेको छ । एउटा घर बनिरहेको छ भने अर्को घर निर्माणको तयारीमा छ । पुनर्निर्माण सकेका सबैले रंगिन जस्तापाताले घर छाएका छन् । ‘अधिकांशले निलो जस्तापाता रोजे,’ पौडेल सुनाउँछन्, ‘केहीले रातो, र हरियो रंगको छानो रोज्दा गाउँ रंगिन देखियो ।’ प्रविधि अपनाएर ढुंगामाटो र काठ प्रयोग गरी बनाइएका गाउँका धेरै घर भुइँतले छन् । केहीले चोटा निकाले पनि घर धेरै अग्लो र भद्दा हुन दिएका छैनन् ।

 पौडेलको आफ्नै घर निलो जस्ताले छाइएको छ । रंगिन जस्तापाताको टिकाउ दिगो हुने बुझेपछि गाउँले यसमा आकर्षित भएको उनी बताउँछन् । परम्परा कायम राख्दै बाहिरभित्रै रातो माटोले पोतिएका घर चिटिक्क छन् । भूकम्पको वर्षपछि गाउँले स्वःस्फुर्त पुनर्निर्माणमा जुटेका थिए । भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका पीडित पुनर्निर्माणमा जुट्दा यहाँका टोलबस्ती रंगिन गाउँमा रूपान्तरित भइरहेका छन् । पुनर्निर्माणले थप तीव्रता पाउँदै गर्दा निला, राता र हरिया जस्तापातासहित टोलबस्ती र गाउँ रंगिन बनेका छन् ।

पूर्वतातोपानीदेखि पश्चिम हेलम्बुसम्म भूकम्पले ढालेका बस्ती पुनर्निर्माणमार्फत रंगिन बनेर धमाधम उठिइरहेका छन् । भूकम्पको ३४ महिना बित्न लाग्दा धेरै बस्ती ठडिएका छन् । घरमाथि छाइएको छानाले मात्र होइन भित्रबाहिर पोतिएका विभिन्न किसिमका रंग र सजावटले गाउँबस्ती वास्तवमै रंगिन छन् । सरकारी यकिन तथ्यांक नभए पनि जिल्लामा ४० हजारभन्दा बढी घरको पुनर्निर्माण भइसकेको अनुमान छ ।  ‘जिल्लाका हरेक गाउँ चिटिक्क, आकर्षक र लोभलाग्दो बनिरहेका छन्,’ पुनर्निर्माणको स्थलगत अनुगमन गरिरहेका सहरी विकास तथा भवन निर्माण डिभिजन, जिल्ला आयोजना कार्यान्वयन इकाइ प्रमुख टंक गौतमले भने । उनका अनुसार पीडित प्रविधिमा आधारित साना तथा मझौलाखाले संरचनामा आकर्षित देखिएका छन् ।

  धुर्मुस–सुन्तली फाउन्डेसनले जिल्लाको गिरानचौरमा डेढ सय घरधुरीको रंगिन एकीकृत नमुना गाउँ ठड्याएपछि भूकम्प प्रभावितले त्यसको सिको गरिरहेका हुन् । हरियो छानो तथा रातो र सेतो रंगले पोतिएर बनाइएको सुन्दर गाउँ फाउन्डेसनले गत वर्षको कात्तिकमा पीडितलाई हस्तान्तरण गरेको थियोे ।
    ग्रामीण भेगमा भुइँतले भन्दा ठूला घर देख्न मुस्किल छ । रंगिन जस्तापाताले छाइएका उस्तै डिजाइन, आकार र किसिमका घरले गाउँबस्तीको पुनर्निर्माणमा एकरूपता ल्याएको छ । प्रविधिमा आधारित ढुंगामाटो, ढुंगासिमेन्ट र इँटासिमेन्ट जोडाइ संरचना धमाधम बनिरहेका छन् ।

 अधिकांश पीडितको ‘लोडबियरिङ’ संरचनामा आधारित साना तथा मझौला घर रोजाइमा परेको छ । यो संरचना धेरै ठूला र भद्दा बनाउन नमिल्ने भएकाले घरको आकार हेरेर यो गरिब वा त्यो धनीको भनेर छुट्याउन सकिँदैन । ‘सबै वर्गका पीडितको घरमा समानता हुनु नै सिन्धुपाल्चोक पुनर्निर्माणको मुख्य विशेषता बनेको छ,’ भूकम्पपछिको पुनर्निर्माणमा काम गरिरहेका जनहित सेवा समितिका कार्यक्रम निर्देशक राजेन्द्र शर्माले भने ।  हेलम्बुमा विस्थापितका लागि एकीकृत नमुना बस्ती बनाउने काम गरिरहेका उनको विचारमा पुनर्निर्माण सम्पन्न हुँदा जिल्लाका हरेक बस्तीका घरहरू प्रविधिमा आधारित र रंगिन हुनुका साथै शौचालय, सडक पहुँच तथा खानेपानी सुगमताले आधुनिक गाउँ बन्नेछन् ।
 
    
 

प्रकाशित: ६ फाल्गुन २०७४ ०२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App