७ वैशाख २०८१ शुक्रबार
राजनीति

१० गते मुख्यमन्त्रीले विश्वासको मत लिने

काठमाडौं – प्रदेश २ का मुख्यमन्त्रीले आगामी १० गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।
संघीय समाजवादी फोरमका मोहम्मद लालबाबु राउत यही फागुन २ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । राष्ट्रिय जनता पार्टीको समर्थनमा राउत मुख्यमन्त्री बनेका हुन् । 

संविधानको धारा १६८ को उपधारा ४ बमोजिम दुई दलको समर्थनमा मुख्यमन्त्री भएका व्यक्तिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ ।प्रदेशसभाको शनिबार बसेको बैठक फागुन ९ गते विश्वासको मत लिनेगरी स्थगित भएको थियो । तर मुख्यमन्त्रीको आग्रहमा प्रदेशसभा सचिवालयले सूचना जारी गरी फागुन १० गते दिउँसो १ बजेका लागि बैठक बोलाएको छ ।  सो बैठकमा सर्वप्रथम मुख्यमन्त्री राउतले विश्वासको मतका लागि प्रस्ताव राख्नेछन् । उनले प्रस्ताव राखेपछि त्यसमा छलफल हुनेछ । त्यसपछि छलफलमा उठेका विषयमा मुख्यमन्त्री राउतले जबाफ दिनेछन् । उनले जबाफ दिएपछि सभामुखले लबी विभाजन गरी लिखित रुपमा मतदान हुनेछ । 

मतदानमा मुख्यमन्त्रीको पक्षमा बहुमत अर्थात् ५४ मत प्राप्त भए उनी मुख्यमन्त्रीमा पक्का हुनेछन् । पहिलो चरणको मतदानमा पक्ष र विपक्षमा बराबर मत परे सभामुखले निर्णायक मत दिनेछन् ।  प्रदेशसभाबाट विश्वासको मत प्राप्त भएपछि मुख्यमन्त्रीविरुद्ध  दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन मिल्ने छैन ।प्रदेश २ मा प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी १०७ सांसद छन् । सरकार गठनका लागि ५४ सांसदको समर्थन भएमात्र बहुमत पुग्छ । प्रदेशसभामा संघीय समाजवादी फोरमका २९ र राष्ट्रिय जनता पार्टीका २५ सदस्य छन् । दुवै दलको कुल सिट सख्ंया ५४ छ । दुवै पार्टीमा विभाजन नभए वा समर्थन फिर्ता नभए राउतले प्रदेश संसद्को विश्वास प्राप्त गर्नेछन् ।

तर राष्ट्रिय जनता पार्टीबाट निर्वाचित सरोज यादव सभामुख भएका छन् । बराबर मत परे उनको मत निर्णायक हुनेछ ।  सभामुखले मतदान नगर्ने हो भने  समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको ५३ मत मात्र हुन्छ । ५३ मतले बहुमत पुग्दैन । सभामुखले निर्णायक बाहेक अन्य मतदानमा भाग लिने व्यवस्था छैन ।अरु दलबाट  विश्वासको प्रस्तावको पक्षमा मतदान भए सभामुखले निर्णायक मतदान गर्नुपर्ने अवस्था नआउने स्रोतले बताएको छ । प्रदेशसभामा फोरम र राजपाबाहेक एमालेका २१, कांग्रेसका १९, माओवादी केन्द्रका ११  र दुई स्वतन्त्र सदस्य छन् ।

 

प्रकाशित: ६ फाल्गुन २०७४ ०१:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App