८ वैशाख २०८१ शनिबार
राजनीति

राउतलाई कांग्रेसको समर्थन

निधिलाई भेट्न उनकै निवासमा पुगेका मुख्यमन्त्री राउत । तस्बिर : सुरेश यादव

जनकपुर –लालबाबु राउत नेतृत्वको प्रदेश सरकारलाई नेपाली कांग्रेसले समर्थन गर्ने जनाएको छ । कांग्रेस नेता विमलेन्द्र निधिलाई शनिबार साँझ जनकपुरस्थित उनकै निवासमा पुगेर मुख्यमन्त्री राउतले भेट गरेका छन् । सो अवसरमा पूर्व उपप्रधान मन्त्रीसमेत रहेका निधिले सत्तापक्षले अपेक्षा गरेको हरेक प्रकारको सहयोग गर्न कांग्रेस तत्पर रहेको बताए।

निधि जनकपुर आएको जानकारी पाएपछि मुख्यमन्त्री राउतले नै भेट गर्न चाहेको खबर पठाएका थिए । भेटको क्रममा राउतले समृद्ध प्रदेश निर्माणको लागि सबै राजनीतिक दल तथा नेताको सहयोग र समर्थन आवश्यक रहेको बताएका थिए । ‘हिजोसम्म हामीले एकले अर्कालाई विरोध गर्ने राजनीति ग¥यौं र त्यसैकारण पछि परेका छौं,’ निधि निवासमा सञ्चारकर्मीसँग राउतले भने, ‘अब राजनीतिको परिपाटीमा व्यापक सुधार गर्दै समृद्ध प्रदेश निर्माणमा जुट्नुपर्ने बेला आएको छ ।’

कांग्रेसका प्रदेशसभा संसदीय दलका नेता रामसरोज यादव, पूर्वमन्त्री एवं कांग्रेस नेता आनन्दप्रसाद ढुंगाना र महेन्द्र यादवलगायत नेताहरू सहभागी थिए । ‘मुख्यमन्त्रीले मागेको हरेक सहयोग कांग्रेसले गर्न तयार छ,’ निधिले भने । आफ्नो गृहनगरसमेत रहेको जनकपुरलगायत प्रदेशको विकासमा सरकारसँग हातेमालोगरी अघि बढ्न तयार रहेको निधिले भनाइ थियो ।

यसअघि प्रतिनिधिसभा सदस्यसमेत रहेका फोरम नेता प्रदिप यादवले प्रदेश २ को सरकारमा कांग्रेसलाई सहभागी गराउनुपर्ने धारणा राखेका थिए । पार्टी संसदीय दलका नेता रामसरोज यादवले भने सरकारमा सहभागी नगराए पनि विकास र समृद्धिका लागि फोरम नेतृत्वको सरकारलाई समर्थन गर्ने जनाए । प्रदेश तथा प्रतिनिधिसभा चुनावको बेला फोरम अध्यक्ष उपेन्द्र यादवले पनि वाम कांग्रेसलाई तालमेल गर्न आग्रह गरेका थिए ।


 

प्रकाशित: ६ फाल्गुन २०७४ ०१:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App