१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सत्ता–प्रतिपक्षबीच घोचपेच

जनकपुरधाम–  प्रदेशसभाले सभामुख र उपसभामुख चयन गरिसकेपछि शनिबार पहिलोपटक प्रदशेसभाको पूर्ण बैठक बसेको छ । नवनिर्वाचित ती पदाधिकारीलाई बधाई ज्ञापन गर्न बसेको उक्त बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच कटाक्ष सुरु भएको छ।

प्रतिपक्षी माओवादी केन्द्रका सांसद रामचन्द्र मण्डलले भागबण्डामा आपूmहरूलाई उपसभामुख नपारेकोमा आक्रोश पोखे । ‘सभामुख सत्तापक्षले लिएपछि कम्तीमा उपसभामुख हामीलाई दिनुपर्ने हो,’ मण्डलले भने, ‘सबै पद आफंैले ओगटेर सत्तापक्षले विपक्षीको विश्वास जित्ने अवसर गुमाएको छ ।’ उनले मुख्यमन्त्री मोहम्मद लालबाबु राउत मुस्लिम भएर पनि हिन्दु परम्परा अनुसार गृह पूजा गरी कार्यभार सम्हालेकोमा कडा आलोचना गरे । मुस्लिम धर्माबलम्बीको भावनामा ठेस पुर्याएर भगवानको पूजा गरेको टिप्पणी गरे । राउत नेतृत्वको सरकारले मधेसका अपेक्षा सम्बोधन गर्न नसक्ने उनको दाबी छ ।

संघीय समाजवादी फोरमका सांसद पारस साहले धर्म निरपेक्ष राज्यमा पूजापाठको विषय उचाल्नु दुर्भाग्य भएको जवाफ फर्काए । प्रतिपक्षी हुँदैमा संकीर्ण मानसिकता प्रदर्शन नगर्न सुझाउँदै उनले सत्ता पक्ष र प्रतिपक्षीको नाटक नगरी सबैलाई मधेसका पक्षमा काम गर्न आग्रह गरे । मधेस फेल भए सिंगो देश असफल हुने जिकिर गर्दै साहले समृद्ध प्रदेश निर्माणमा सबै दल एकजुट हुनुको विकल्प नरहेको दाबी गरे ।
फोरमकै सांसद उषाकुमारी यादवले निजगढमा निर्माण चरणमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको नाउँमा अनावश्यक वन फँडानी भइरहेको ध्यानाकर्षण गराइन् ।

विमानस्थल निर्माणको लागि दुई सय बिघा जग्गा मात्रै आवश्यक भए पनि ११ सय बिघा वन फँडानी भइरहेको बताउँदै उनले भनिन्, ‘तराई क्षेत्रमा सीमित वन छ । त्यसको संरक्षण गर्नुपर्ने हाम्रो दायित्व हो । प्रदेश सरकारले तत्काल अनावश्यक फँडानी रोक्न पहल गरोस् ।’

राजपाकी सांसद रानीकुमारी तिवारीले प्रदेशलाई काँचो माटो सम्झेर आधुनिक स्वरूपमा ढाल्नुपर्ने सुझाव दिइन् । विकास र शिक्षामा ठोस् आकार लिइनसकेको मधेसलाई नयाँ डिजाइनमा निर्माण गर्नुपर्ने उनले सुझाइन् । मधेसका नेता अनुभवी रहेकाले विगतमा भएको आन्दोलनबाट जनताले राखेको अपेक्षा सम्बोधन हुनेगरी पाँच वर्षमा काम हुने उनले विश्वास व्यक्त गरिन् ।

एमालेका सांसद गोविन्दबहादुर न्यौपानेले प्रदेशको चुरे क्षेत्रमा ‘फोरेष्ट्री एग्रिकल्चर’ को रुपमा विकास गर्नुपर्ने बताए । यस प्रदेशले सिंगो मुलुकलाई आवश्यक खाद्यान्न उत्पादन गर्न सक्ने दाबी गर्दै उनले भूमिको सदुपयोग हुन नसकिरहेको उल्लेख गरे । न्वारन नहुँदै संघीयतामाथि खतरा आइलाग्न थालेको उनले बताए । ‘समृद्ध राष्ट्र निर्माणका लागि संघीयताको महत्व धेरै छ । अब यसको औचित्यता पुष्टि गर्नुपर्ने बेला आएको छ र त्यो जिम्मेवारी यस प्रदेशको काँधमा छ,’ न्यौपानेले भने ।मुख्य प्रतिपक्षी एमाले संसदीय दलका नेता सत्यनारायण मण्डल र दोस्रो प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले सरकारलाई गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने बताए । प्रदेशसभाको अर्को बैठक अगामी बिहीबार दिउँसो १ बजे आह्वान गरिएको छ ।

सभामुख सरोजकुमार यादवले अर्को बैठक बुधबार दिउँसो १ बजे बस्ने सूचना दिँदै स्थगित भएको घोषणा गरेका थिए । सोही दिन प्रदेश सांसदहरुलाई संघीयता सम्बन्धी प्रशिक्षण कार्यक्रममा सहभागी हुनुपर्ने भएपछि सूचना टाँस गरी अर्को बैठक बिहीबार दिउँसो १ बजे आह्वान गरिएको छ ।               

 

प्रकाशित: ६ फाल्गुन २०७४ ०१:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App