coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

ओलीको प्रस्तावमा राजपा र फोरम ‘सकारात्मक’


काठमाडौं - मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालले केपी ओली नेतृत्वको  सरकारमा सहभागी हुने विषयमा ‘ग्रिन सिङ्नल’ देखाएका छन् । संविधान संशोधन र मधेस मुद्दा सम्बोधन गर्न ओली लचिलो भए राजपा र फोरम  सरकारमा सहभागी हुने विषयमा छलफल गर्न  सकारात्क देखिएका हुन् ।  

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री हुुनुअघि राजपा अध्यक्षमण्डल संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेट गरी आफ्नो नेतृत्वमा बन्ने सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए । स्रोतका अनुसार ओलीले ठाकुरसँग काठमाडौंको एक होटलमा  र यादवसँग आफ्नै निजी निवास बालकोटमा कुराकानी गरेका थिए ।  

वार्तामा ओलीले  आफू संविधान संशोधन विरोधी नभएको भन्दै मधेसलाई समेटर अघि बढ्ने बताएका थिए । नेतात्रयबीच सरकार गठन हुनुअघि अर्को चरणमा कुराकानी गर्ने सहमति भएको थियो । तर माओवादीसँगको एकता प्रक्रियामा ओली व्यस्त भएकाले अर्को चरणको कुराकानी नभएको स्रोतको भनाइ छ । ‘अर्को चरणमा कुराकानी नभईकनै ओली प्रधानमन्त्री नियुक्त हुनुभयो । त्यसपछि कुराकानी भएको छैन’, राजपा एक शीर्ष नेताले भने । राजपा अध्यक्षमण्डल सदस्य महेन्द्र यादवले संविधान संशोधन र मधेस मुद्दा सम्बोधन गर्न प्रधानमन्त्रीले समयसीमा राखेर प्रतिबद्धता जनाए सरकारमा सहभागी हुने विषयमा छलफल गर्न सकिने बताउँछन् ।

‘संविधान संशोधनका लागि प्रधानमन्त्रीले टाइम बाउन्डरी राखे सरकारमा जाने विषयमा छलफलका लागि ढोका खुला हुन्छ,’ उनले भने ।राजपा सहमहामन्त्री सुरेन्द्र झाले ओली र ठाकुरबीच कुराकानी भएको स्वीकार्दै भने, ‘हाम्रो उद्देश्य संविधान संशोधन र मधेस मुद्दा सम्बोधन हो । यसमा ओलीजी प्रतिबद्ध भए सरकारमा जान्नौं भन्ने हाम्रो भनाइ होइन । तर पनि हाम्रो प्राथमिकता सरकारभन्दा मधेस मुद्दा सम्बोधन हो ।’

फोरम राजीतिक समिति सदस्य रेखा यादवले  पनि एमाले अध्यक्ष ओली र आफ्नो पार्टी अध्यक्ष यादववीच कुराकानी भएको बताइन् । उनले भनिन्, ‘संविधान संशोधन गर्ने प्रतिबद्धता जनाए हामी छलफल गर्न तयार छांै ।’ ओली र यादवबीचको कुराकानी सकरात्मक भएको दाबी गर्दै उनले थपिन्, ‘हामीले एमाले अध्यक्ष केपी ओलीलाई संविधान संशोधननका लागि अघि बढ्नुहोस् भनी सल्लाह दिएका छौं । उहाँले के गर्नु हुन्छ । त्यो हेर्न बाँकी नै छ । ’स्रोतका अनुसार, राजपाभित्र ओली सरकारलाई हेर्ने दृष्टिकोणबारे दुइ धार देखिएको छ । राजेन्द्र महतो, महेन्द्र यादव र अनील झा सरकारप्रति लचिलो हुनुपर्ने पक्षमा छन् ।

एमालेसँग चिसिएको सम्बन्ध सुधार नगरे संविधान संशोधन पनि नहुने र पाँच वर्षसम्म केन्द्रीय सरकारबाट बाहिर बस्नुपर्ने निष्कर्ष महतो, यादव र झाको छ । फोरम  पनि संविधान संशोधन गर्न एमालेसँग मिलेर जानुपर्ने निष्कर्षमा पुगेका छन् । तर राजपा अध्यक्षमण्डल संयोजक ठाकुर, अध्यक्षमण्डलका सदस्यद्वय शरतसिंह भण्डारी र राजकिशोर यादव लोकतान्त्रिक गठबन्धन छाडेर एमालेसँग नजिक हुन नहुने पक्षमा रहेको स्रोत बताउँछ । भण्डारी र यादवको तुलनामा पछिल्लो समयमा ठाकुर एमालेप्रति अलि नरम देखिएको स्रोतको दाबी छ ।ओलीसँगको कुराकानीपछि ठाकुर र यादव जनकपुर गएका छन । यादव आइतबार काठमाडौं फर्कने छन् ।
राजपा र फोरमसँगको सम्बन्ध सुधारमा एमाले दोस्रो तहका केही नेता पनि सक्रिय रहेको स्रोतको भनाइ छ । खासगरी एमाले नेता रुघुवीर महासेठले यसमा चासो दिएका छन् ।

महासेठले प्रतिनिधिसभा चुनावलगत्तै राजपा र फोरम नेतासँग सम्बन्ध सुधारका लागि अनौपचारिक कुराकानी गर्दै आएका छन् । राजपा एक नेताले भने ओलीले पछिल्लो समयमा राजपा र फोरमसँगको संवादलाई कम महत्व दिएको गुनासे गरे । ती नेताले भने, ‘माओवादीसँग कुरा मिलेपछि एमाले अध्यक्ष ओलीले हामीसँगको संवादलाई कम महत्व दिनुभयो ।’यादव, ठाकुर र ओलीबीच पछिल्लोपटक भएको कुराकानीपछि एमालेका नेताहरूले पनि संविधान सशोधनप्रति नकारात्मक धारणा राखेका छैनन् ।

प्रकाशित: ६ फाल्गुन २०७४ ०१:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App