८ वैशाख २०८१ शनिबार
समाज

युवालाई गाउँमै स्वरोजगार

जुम्ला – जुम्ला मालापानी गाउँका जीवनवहादुर वुढा गाउँमै व्यस्त छन्। घर वनाउने मिस्त्री उनले गाउँमै घरका झयाल ढोका वनाउनेदेखि सरकारी तथा गैरसरकारी कार्यालयबाट हुने भौतिक संरचना निर्माणका काममा निकै खटिएका हुन्छ। ‘मेहनत गर्न सके गाउँमै रोजगारी सृजना गर्न सकिन्छ’ उनले भने, ‘रोजगारी खोज्दै विदेशीनु भन्दा आफ्नै माटोमा मेहनत गरे सुखसँग बस्न सकिन्छ।’

‘दशकअघिसम्म परिवारको गुजारा चलाउन कालापहाड धाउनु पर्थ्यो’, उनले भने, ‘अहिले कालापहाड भन्दा दोव्वर कमाई गाउँमै गर्ने गरेको छु। परिवारसँग हासखेल गर्दै वस्न पनि पाएको छु।’ उनी मेहतन गरे गाउँमै बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्न चाहेको बताउँछन्। मिस्त्री काम गरेरै उनी दैनिक एक हजार कमाउँछन्। आफ्नै ठाउँमा बसेर मासिक ३० हजार रूपैयाँ कमाउछन पाउँदा बुढा दंग छन्।

तातोपानी गाउँपालिका–३ लिताकोटका करन सुनार गाउँमै स्वरोजगारका लागि पाखुरा खियाउँदै छन्। ‘रोजगारका लागि विदेशिनु पर्दैन’, उनले भने, ‘काम गर्न सके गाउँमै रोजगारीका अवसर भेटिन्छन्।’ अर्काको देशमा गएर जीवन जोखिममा राखेर कठिन भन्दा कठिन काम गर्नु भन्दा आफ्नो माटोमा पौरख पोख्नुमा उनी गर्व गर्छन्।

अहिले करण जस्ता सयौ युवा गाउँमै नङ्ग्रा खियाएर स्वरोजगार वन्दैछन्। जुम्लामा अधिकांश गाउँबाट कालापहाड जाने युवाको संख्या घट्दै गएको छ। ‘नेपालमा रोजगारीको अवसर छैन भन्दै दैनिक हजारौ युवा विदेशिन्छन’, उनले भने, ‘हामी गाउँमै रोजगारीको बाटो खुलाउँदैछौ। विदेशमा चुहाउनु पर्ने पसिना स्वदेशमै लगानी गर्न सके देशको समृद्धिका साथै परिवारको समृद्धि पनि हुनेमा ढुक्क छौ।’

लिताकोट गाउँका युवाहरु कालिका प्रथामिक विद्यालयको २ कोठे भवन निर्माण गर्दैछन्। जिल्ला शिक्षा कार्यालय जुम्लाको १६ लाख रूपैयाँ लगानीमा युवाहरू दुई कोठे भवन निर्माणमा जुटेका छुन्। ‘आफ्नै गाउँठाउँको विकास पनि हुने र आयआर्जन पनि हुने भएपछि युवाहरू सकेसम्म स्वदेशमै रोजगार खोज्नु राम्रो मान्छन’, स्थानीय  परिमल नेपालीले  भने, ‘आफ्नै ठाउँमा पसिना बगाउन सके रोजगार यहाँ नै छ विदेशिनु पर्दैन आफ्नै माटोमा सुन फलाउन सकिन्छ ।’

केहि महिना अघि खाडीमुलुक कतार गएर फर्केका गोविन्द रावलका अनुसार रोजगारका लागि विदेशिनु राम्रो होइन।  ‘अर्काको देशमा अनेक समस्या आईपर्छन, समस्य सुन्दिने कोहि हुदैनन्’ उनले भने, ‘२ बर्ष कतारमा बसें, विदेशमा दुःख गर्नुभन्दा स्वदेशमै दुःख गर्नु राम्रो रहेछ।’

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले युवालाई गाउँमै रोजगारको वातावरण सृजना गर्ने वताए। आफ्नो गाउँ आफै बनाउ भन्ने मान्यतालाई आफुले मुर्त रूप दिन चाहेको उनले बताएका छन्। ‘वैदेशिक रोजगारीलाई निरुत्साहित पार्ने खालको काम वढाउछौ, उनले भने, ‘युवाहरूले रोजगारी पाउन् भन्ने उद्देश्यले विकास निर्माणका कामहरू ठेक्कापट्टामा नदिई उपभोक्ता समिति मार्फत नै काम गराइरहेका छौं।’

प्रकाशित: ५ फाल्गुन २०७४ ०९:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App