७ वैशाख २०८१ शुक्रबार
अन्य

‘गोरा जर्नेल’ र ४२ साल पर्व

प्रकाश ए राज

नेपालको राणाकालीन इतिहासमा १९४२ सालको पर्व ज्यादै महत्वपूर्ण छ । यसै पर्वमा नेपालका पहिला राणा प्रधानमन्त्री जंगबहादुरका भाइ रणोद्दीप सिंहको हत्या भएको थियो । त्यसबेला उनी आफ्नै कोठामा थिए, आफूलाई तेलले मालिस गराइरहेका थिए । उनलाई उनकै भतिजाहरू खड्गशमशेर, डम्बरशमशेर (बालकृष्ण समका बाजे) र भीमशमशेरले गोली हानेका थिए ।

त्यसबेला रणोद्दीप सिंहको दरबार नारायणहिटीमा थियो, जहाँ पछि नेपालका राजाहरू बस्न थाले र अहिले संग्रहालय भएको छ । १९३३ सालमा जंगबहादुरको मृत्यु भएपछि उनका भाइ रणोद्दीप सिंह प्रधानमन्त्री र श्री ३ महाराज भएका थिए । त्यसपछि जंगका छोराहरू ‘जंग राणा’ र उनका कान्छा भाइ धीरशमशेरका छोरा ‘शमशेर राणा’का बीच ‘शीतयुद्ध’ चलेको थियो ।

धीरशमशेरका छोराहरू १७ जना थिए र तीमध्ये जेठा वीरशमशेर थिए । धीरशमशेर जीवित रहुन्जेल त रणोद्दीप सिंह सुरक्षित रहे तर धीरशमशेर बितेपछि उनीमाथि खतरा बढ्यो ।
बयालीस साल पर्वमा रणोद्दीपसिंह मारिनुको एक कारण जंगबहादुरकी पत्नी मैयाँ महारानीबाट पैदा भएका दुई छोरीले आफ्ना दाजुभाइ ‘जंग राणा’हरूलाई समर्थन नगरी काकाका छोरा शमशेर राणाहरूको पक्षमा लाग्नाले पनि थियो । यीमध्ये जेठी ललितराज्यलक्ष्मी पृथ्वीवीर विक्रमकी आमा थिइन् भने कान्छी दीपकुमारीलाई ‘बागकी कान्छीमैयाँ’ भनिन्थ्यो, किनकि उनी बागदरबारमा बस्थिन् । यिनी २१ वर्षको उमेरमै विधवा भएकी थिइन् । विधवा भएपछि उनको अनैतिक सम्बन्ध खड्गशमशेरसँग भएको हल्ला चलेको कुरा हृषिकेश शाहले लेखेका छन् ।

बयालीस सालको पर्व भएका बेला प्रधानमन्त्री हुने रोलक्रममा रणवीरजंग चौथो र वीरशमशेर सातौँ स्थानमा थिए । दोस्रो ठाउँमा रहेका जितजंग कानको औषधि गराउन भनी भारततर्फ पलायन गरिसकेका थिए । जंगबहादुरका धेरैजना रानी थिए । तीमध्ये कोही विवाहिता थिए, कोही अविवाहिता । रणवीरजंगकी आमाको नाम सिद्धिगजेन्द्रलक्ष्मी थियो, जसको विवाह अर्कै व्यक्तिसँग भइसकेको थियो ।

अर्काकी स्वास्नी ल्याउनेलाई त्यसताका जारी गर्ने भनिन्थ्यो । रणवीरजंगकी आमालाई जंगबहादुरले स्वास्नी बनाएका थिए । त्यस्तो विवाह गरी जन्मेका भए पनि असाध्य योग्य र शुरा थिए, रणवीरजंग । जंगले रणवीरजंगलाई प्रधानमन्त्री बन्ने रोलमा राखेका थिए । यिनलाई गोरा जर्नेल पनि भन्थे । रणोद्दीपसिंहको हत्या भएको भोलिपल्ट गोरा जर्नेलले रणोद्दीपसिंहलाई मारेको भनी पृथ्वीवीरविक्रमकी आमा र बागकी कान्छीमैयाँले आरोप लगाएका थिए भनी प्रमोद शमशेर राणाले उनले लेखेको इतिहासको पुस्तकमा लेखेका छन् । जंगपुत्रहरू बयालीस सालको पर्वपछि लैनचौरमा ब्रिटिस रेसिडेन्सीमा शरण लिन गएकाले ज्यान बच्यो ।

जंगका छोरा जगतजंग र नाति जुद्धप्रतापजंगको भने हत्या भयो । राजमाता ललितराज्यलक्ष्मीको सिफारिस मानेर वीरशमशेरले पद्मजंगलाई आफ्नो सबै अचल सम्पत्ति भारत लैजान दिए र उनी इलाहवादमा बसोबास गरे । रणवीरजंगले भने केही अचल सम्पत्ति लैजान पाएनन् । तैपनि नेपालमा वीरशमशेरलाई हटाउन अथवा मार्न धेरै कोसिस गरे । आफैँ फौज जम्मा गरी पूर्वमा इलाम र धनकुटामा तथा पश्चिममा पाल्पामा समेत हमला गरेका थिए तर उनी सफल भएनन् ।सन् १९२६ मा चन्द्रशमशेरले अंग्रेज लेखक पर्सिभल ल्यान्डनमार्फत तयार गराउन लागेको वंशवृक्षमा रणवीरजंगका नौ छोराको नाम लेखिएको छ ।

१९४२ सालदेखि भारतमा निर्वासित जीवन बिताएका रणवीरजंगले के गरे त ? कुँवर राणाजीहरूको बृहत् वंशावली (प्रकाशक पञ्चायत प्रकाशन, २०५६) मा उनको जन्म १९१३ सालमा भएको कुरा उल्लेख छ । जितजंगले राजीनामा दिएर भारत गएपछि यिनी केही महिना कमान्डर इन चिफ पनि भएका रहेछन् । उनले वीरशमशेरको शासन नेपालबाट हटाउन आफ्नो पूरा सम्पत्ति सकेछन् र उनका सन्तानमध्ये कोही नेपाल फर्केछन् र कोही भारतमै बसेछन् ।

बृहत् वंशावलीमा रणवीरजंगका दशजना छोराको नाम लेखिएको छ । पद्मजंगको जन्म १९१४ सालमा भए पनि उनी १९१३ मा जन्मेका रणवीरजंग र १९०९ सालमा जन्मेको वीरशमशेरभन्दा रोलक्रममा माथि रहेछन् । रोलक्रममा आपूmभन्दा कान्छा भाइ पद्मजंग र रणवीरजंग माथि भएका हुनाले पनि वीरशमशेरलाई बयालीस सालको पर्व गराउन प्रेरित गरेको हुन सक्छ । यसैगरी जंगले रोलक्रममा आफ्ना नाति (राजा सुरेन्द्रका दोहित्र) जुद्धप्रतापजंगलाई भतिजा वीरशमशेरभन्दा माथि राखेछन् । सो रोलक्रम बयालीस सालमा पनि कायम थियो र जुद्धप्रतापजंग मारिनुको कारण बनेको हुन सक्छ ।

मेरा पितामह हेमराज १९९७ सालको हिउँदमा बनारसमा रहेछन् । उनले त्यहीँ चन्द्रशमशेरकी कान्छी बडामहारानी बालकुमारीले त्यहीँ लगाएको कोटी होम आफ्नो छोरा (मेरा पिता केशरीराज जो त्यसबेला १४ वर्षका थिए) लाई आचार्य बनाएर गराएछन् । त्यसैताका नेपालमा बसेका जुद्धलाई रणवीरजंगकी कान्छी रानी चिनियाँकुमारीको पत्र आएछ, आर्थिक सहायता पाउनका निमित्त । बयालीस सालको पर्वमा जुद्ध (जन्म वि.सं. १९३२) को उमेर दश वर्षको मात्र थियो । यो घटना घटेको ५५ वर्षपछि पनि उनी जीवित रहेछन् । जुद्धले हेमराजलाई पत्र साथै एक हजार रुपैयाँ पठाएछन् र चिनियाँकुमारीको खोजी गरी उनलाई दिन अह्राएछन् । हेमराजले काशीमा खोजी गर्दा उनी असीघाटमा बसेकी रहिछन् ।

जुद्धले पठाएको एउटै नोट उनलाई दिएमा साट्ने मान्छेले खाई देलान् भनी १०÷१० रुपैयाँको नोट साटी आफ्नो दुई कारिन्दा र गणेशभक्त राजभण्डारीको हातमा सो पैसा पठाई भर्पाइ लिई जुद्ध कहाँ पठाएछन् । ‘उहाँको अवस्था ठीक छैन, पाउ चल्दो रहेनछ’ भनी लेखेकाले उनी अस्वस्थ हुनुका साथै धेरै ठूलो आर्थिक संकट परेको रहेछ र आफ्नो पतिलाई नेपालबाट निकाल्ने व्यक्तिको भाइ (वीरशमशेरका भाइ जुद्धशमशेर) सँग पैसा माग्नु परेछ भन्ने घटना चाखलाग्दो छ ।

 

प्रकाशित: ५ फाल्गुन २०७४ ०३:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App