coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

कृति, कीर्ति र कीर्ते

 

नेपाल र भारत दुवैतिरका नेपालीले असाध्यै मनपराउने नेपाली कवि हुन्, ईश्वर वल्लभ । गायक, संगीतकार योगेश वैद्यले कवि वल्लभ जतिको नेपालीभाषामा गीत लेख्ने कविता चेतना भएका कवि नेपालीमा छैनन् भनेर एकपटक यस पंक्तिकारसित ठोकुवा गरेका छन् ।

नेपाली, हिन्दी, अंग्रेजी, नेपालभाषा, उर्दूको मिहीन ज्ञान राख्ने गायक योगेश वैद्य नेपाली संगीत सागरलाई अत्यन्त मीठो आवाज दिने गायक हुन् । गायकीमा एकदम काम देखाउन सक्ने स्वरमा हर्कत भएका कलाकार योगेश वैद्य नेपालमा भएका केही मौलिक गायकमध्ये एक हुन् ।

दुर्भाग्यवश उनको तारिफ गर्दा उनलाई नेपालका मोहम्मद रफी भनिदिने गर्छन् । नेपालको एउटा सिने मासिक पत्रिकाले आफ्नो पत्रिकाको आवरणमै यही कुरा लेखिदिए । यो कति न्यायसंगत कुरा हो, समीक्षक जानून् तर यो पदावली गायक वैद्यलाई कति मनपर्दो हो उनै जानून् ।मेरो आफ्नो ध्येयमा उनी नेपालका एक मौलिक गायक हुन्, जसको आवाज भारतको कुनै कलाकारसित संयोगले मिल्दो हो ।

मौलिक स्वरलाई नक्कल भन्ने चलनमा नेपाल धेरै अघि छ । हुन त योगेश वैद्यसित तुलना गरिएका भारतका आदरणीय गायक मोहम्मद रफीको स्वरलाई नै भारतको ओरिजिनल स्वर मानिँदैन । रफी महोदयको स्वरलाई उनको समयमा अग्रज गायक जिएम दुर्रानीको हुबहु नक्कल भनेर संगीत समीक्षकले धेरैपटक चर्चा गरेका छन् । हिन्दी फिल्मको श्यामश्वेत युगमा प्रवेश गरेका इस्लाम मूलका गुलाम मोहम्मद दुर्रानी पाश्र्वगायकका रूपमा प्रवेश गर्दा उनले आफ्नो नाम जिएम दुर्रानी गर्नुको कारण उनको नाम नै शास्त्रीय संगीतका महारथी गुलाम अली खाँसित मिल्दो भएर नै हो भन्ने संगीत प्रवद्र्धकको दाबी छ ।

शास्त्रीय संगीतका धरोहर गुलाम अली खाँको जीवनमा पनि पछि कस्तो संकट आयो भने उनको जस्तै स्वर भएका वा उनको नक्कल गर्ने धेरै कलाकार आएपछि उनले आफ्नो आइडेन्टिटी (पहिचान) लाई मौलिक बनाउन आफ्नो नाम जानीनजानीकन बडे गुलाम अली राख्नुप¥यो । बडे गुलाम पछि उनका शिष्य भन्दै कैयन् छोटे गुलाम अली नेपालमा आए तर कोही टिकेनन् तर पाकिस्तानका एकजना गजल गायक गुलाम अली चाहिँ बचेका छन् ।

तिनै पाकिस्तानका गुलाम अलीलाई ४० को दशकमा नेपालमा सांगीतिक कार्यक्रम गर्न सांस्कृतिक संस्थान र रत्न रेकर्डिङ संस्थानले निम्त्याएको थियो । गायक, संगीतकार नारायणगोपालको पहलमा होटल याक एन्ड यतिमा उनको बिदाइका लागि एउटा सांगीतिक कार्यक्रम राखिएको थियो, जसमा नारायणगोपालले गायक भक्तराज आचार्य र स्वयम्भूराज शाक्यले गुलाम अलीका सम्मुख गायन प्रस्तुत गरेका थिए । त्यस कार्यक्रममा भेट हुँदा यस पंक्तिकारले अलीलाई तपाईं आफूलाई कति मौलिक गायक मान्नुहुन्छ भनेर सोध्दा उनले लजाएर भनेका थिए, ‘म गजलका बादशाह मेहदी हसनबाट सर्वाधिक प्रभावित छु तर म उहाँको नक्कल गर्दिनँ ।

उनले वार्ताका क्रममा भनेका थिए, ‘तर म उहाँको सिंहासन खोस्न आएको होइन । (यो अन्तर्वार्ता सोही वर्ष सुवास गजुरेल सम्पादित कलाकार आवाजमा प्रकाशित भएको थियो ।)सो कार्यक्रममा गुलाम अली स्वयंले पनि उनका शैलीका गायन नेपालमा सुनेका थिए तर त्यो उनको नक्कल थिएन । बरु पछि उनको गजल ‘चुपके चुपके रात दिन आँसु बहाना याद है’ को शैलीमा धेरै नेपाली आधुनिक गीत बने, त्यो मौलिकताको नाममा अर्को इतिहास हो ।

मौलिक भन्ने यथार्थ वा अर्थवत्ता स्वरमा, संगीतमा वा गायनमा अध्यावधिक पाउन गाह्रो छ । लेखनमा त झन् यसको ठूलो संकट देखिँदै आएको छ । नेपाली उपन्यासको लेखनमा जुन यो मौलिकताको संकट आज देखिँदै छ, यो धेरै पहिले समकालीन नेपाली कवितामा समवेदना भएर आइसकेको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाका मुनामदन र सयौँ वर्षअघि संकलित जि वयागु लच्छि मदुनि सँगसँगै पढेपछि पाठक झुक्किन्छन्, तर नेपाली साहित्यका पण्डितले महाकवि देवकोटालाई बचाउन वा सम्हाल्न यसलाई नक्कल नभनेर प्रभावित भन्ने गरेका छन् ।

शंकर लामिछानेले माइकल कर्वीको आभाँ गार्डको सौन्दर्यशास्त्रबाट प्रभावित भएर लेखेको लेखलाई साहित्यिक जगत्ले चोरीको आरोप लगाइदियो । कुमुदिनी (अर्थात् स्व. माधवप्रसाद शर्मा) ले त यसबारे पाठक चोरीको आरोप लगाइदिएपछि लेखक लामिछानेले भावुकतावश सत्य स्विकारेर लेखनबाट सन्न्यासको घोषणा नै गरे । हुन त उनको यो सन्न्यास केही कारण लामो समय जान सकेन । यसपछि मौलिकताको अभावमा शंकरको लेखन खस्किँदै गयो भन्ने पाठकको अनुमान छ ।यसरी चोरीको आरोप लागेको सहर्ष स्विकार्ने शंकर विश्वका पहिलो लेखक होइनन्, तर उनको त्यो महान् स्वीकारोक्ति विश्व साहित्यका निम्ति नै एउटा अद्वितीय उदाहरण बन्न पुग्यो ।

उनलाई जस्तै कैयौँ वर्षअघि चिलीका महान् कवि पाब्लो नेरुदामाथि त्यस्तो आरोप लाग्दा नेरुदाले हाँसेर त्यो कुरा स्विकारे । तर पछि उनले एक संस्मरणमा ओरिजिनालिटी भन्ने एउटा अध्याय नै लेखे, जसमा उनले आई डन्ट बिलिभ इन ओरिजिनालिटी भन्ने एक अंश उद्गारका साथ लेखे र भने, ‘म मौलिकता भन्ने कुरामा विश्वास नै गर्दिनँ । यो आजको हाम्रो समयको एउटा ढोंगी शब्द हो, जुन बिस्तारै नासिँदै जाँदै छ । यो देशमा जो–कोही राष्ट्रकवि (पोयट लरेट) का रूपमा चुनिन चाहन्छ, तिनीहरू यसका पछि दौडिरहेका छन् ।’नेरुदाले भन्दा अगाडि मार्क ट्विनले पनि यसबारे धेरैपटक खिल्ली उडाएका छन्, उनले त सबै लेखक चोर हुन् किनकि तिनले शब्दकोषको शब्द चोरेर लेख्छन् सम्म भनिदिए ।

मौलिकता अर्थात् ओरिजिनालिटीको घोर विवाद हरेकतिर छ । बुद्ध दर्शनमा अहिलेसम्म प्रकट भएका महान् कवि सन्त मिलारेपाको नाउँमा प्रकाशित ‘द हन्ड्रेन्ड थाउजेन्ड सङ्स अफ मिलारेपा’ पुस्तक संकलन र सम्पादन गर्ने क्रममा गर्मा सिसी च्याङले कृतिको मौलिकता उनको जीवनले स्पष्ट बनाउँछ भनेर ठानेका छन् ।यो आफैँमा कति सत्य हो थाह छैन, कहिलेकाहीँ लेखकलाई कृतिले प्रिय बनाउँछ, कहिलेकाहीँ लेखकले कृतिलाई प्रिय बनाउँछ ।

डा. चन्द्रेश्वर दुबे नेपाली साहित्यमा यस किसिमका खोजी विषयका ज्ञाता नै मानिन्थे । उनले नेपाली साहित्यको धेरै चिरफार वा अपरेसन गरेका छन् तर कैयौँ प्रसंगमा उनले नेपाली साहित्यमा चोरी नै पक्रेका छन् ।चालीसको दशकमा धुलाबारीमा आयोजित महानन्द सापकोटा स्मृति कार्यक्रममा डा. दुबेले भारतबाट आउँदा आफ्ना तीन कृति बोकेर आएका थिए, ती कृतिको त्यहाँ त चर्चा भएन तर काठमान्डु पिपलबोटमा ती कृति सजिएपछि नेपाली साहित्यको अस्थिपञ्जर झलक्कै देखियो ।

नेपाल र भारतमा दुवैतिर अति प्रिय मानिने कवि ईश्वर वल्लभको अमर कृति ‘आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन्’ मौलिक होइन, कीर्ते हो भनी प्रमाणित गर्ने डा. दुबेले तेस्रो आयामको शवपरीक्षा लेख्दा नेपाली साहित्यमा केशवराज पिँडालीको चर्चित उपन्यास ‘अन्त्यदेखि सुरु’ हिन्दी फिल्म कोरा कागजबाट प्रभावित भनेर गीतकार एवं नाटककार चेतन कार्कीले दाबी गरिसकेका थिए । लैनसिंह बाङ्देलको ‘मुलुकबाहिर’ मौलिक होइन, कीर्ते हो भनेर पारिजातले ठहर गरिसकेकी थिइन् ।

प्रेमचन्द र शरत्चन्द्रको कृतिबाट प्रभावित भएर नासो लेख्ने गुरुप्रसाद मैनालीमाथि ओरिजिनालिटीको प्रश्न त्यसअघि नै उठिसकेको थियो, जतिबेला ताना शर्माले कवि मवीवि शाहको ‘फेरि उसैका लागि’लाई कठघरामा उभ्याइसकेका थिए ।आजको समय त्यो कीर्तेको समयभन्दा खतरनाक समय बन्दै गएको छ । आदिकवि भानुभक्त आचार्यले लेखेका छन्, ‘नाम क्यै रहोस् पछि भनी कुवा खनायो...।’ तर, आज बजारमा नाम राख्न कृति होइन, विकृति बढ्दो छ ।स्रष्टा वा लेखक मात्र होइन, देशका उच्चपदस्थ कुलपति वा न्यायमूर्ति नै कीर्तिका नाममा कीर्ते काम गरिरहेको अहिलको भ्रामक समयमा समाचारमा विश्वास गर्नुपरेको छ ।

नाममा कीर्ते, जन्ममितिमा कीर्ते, शोधग्रन्थमा कीर्ते काम भइरहेका वेला कुनै न्यायमूर्तिको चारित्रिक प्रमाणपत्र कसरी ओरिजिनल हुन सक्छ, यो पनि सन्देहास्पद नै भएको छ ।ओरिजिनालिटी भन्ने शब्द नै विश्वमा विवादमा पर्दै गएको छ, यो दुर्भाग्यशाली समयमा म मरे पनि मेरो देश बाँचिरहोस् भन्ने गीत लेख्ने लक्ष्मण लोहनी वा प्रेमप्रकाश मल्ललाई ओझेल पारेर कवि मवीवि शाह हुन् भन्ने दाबी धेरैको छ तर मूल रूपमा यो मवीवि शाहको नारा मात्र हो, यो संवाद मवीवि शाहपछि भारतको बाइसौँ राज्य सिक्किमका पूर्वमुख्यमन्त्री नरबहादुर भण्डारीले आफू पदासीन हुँदा बगैँचाहरूमा टाँस्न लगाए । मूल रूपमा यो मवीवि शाहको पनि ओरिजिनल होइन, यो अमेरिकी राष्ट्रपति जोन एफ केनेडीबाट प्रभावित भएर उनले लेखेका हुन्।

ओरिजिनालिटी (मौलिकपन) को प्रसंगमा धेरै वर्षपहिले भनिएको एउटा अंग्रेजी वाक्य प्रसिद्ध छ, ‘ओरिजिनालिटी इज द आर्ट अफ कन्सिलिङ दी सोर्स अर्थात् मौलिकता स्रोत लुकाउने कला हो ।’
विडम्बनाको चरम दुर्भाग्यशाली समयमा अहिले आएर यो महान् स्वीकारोक्ति कसको मौलिक हो भनेर फेरि विवादमा परेको छ, तीन नाम आएका छन् प्रमुख रूपमा– बेन्जामिन फ्र्यांक्लिन, अल्बर्ट आइन्स्टाइन, पत्रकार फ्र्यांकिलिन पी जोन्सन ।

तीनै सही होइन भनेर कोटइन्भेस्टिगेटरडटकम (उद्धरणसम्बन्धी अनुसन्धान गर्ने एउटा संस्था) ले यो उक्ति सिइएम जोडले सन् १९२६ मा भनेका हुन् र उनी नै यसका मौलिक हकदार हुन् भनेर भरणपोषण गर्दै आएको छ । इन्टरनेट सुविधाले धेरै पहिलेदेखि यसको श्रेय बेन्जामिन फ्र्यांक्लिनलाई दिँदै आएको छ ।
स्रोतलाई हुबहु उतार्ने क्षमतालाई नै मौलिकताको पहिचान मान्ने पश्चिमेली समाजको दर्शनलाई पछ्याउँदै आएको न्यु स्टेटस्म्यानले अर्जेन्टिनाका कवि होर्खे लुई बोर्खेसका बारे स्पष्ट लेखेको छ, ‘कुनै पनि शदीका एक मात्र मौलिक र आविष्कृत लेखक हुन् बोर्खेस ।’

स्पेनी भाषामा लेख्ने कवि स्रष्टा बोर्खेसलाई पूर्वी युरोपमा निकै गर्वका साथ पढिन्छ, उनको लेबिरिन्थस्, ब्रडिज रिपोर्ट अनि सम्पूर्ण कविता विश्वभर नै लोकप्रिय छ, उनका बारेमा इकोनोमिक्स भन्ने पत्रिकाले दुःखका साथ लेखेको छ, ‘बोर्खेस २०औँ शताब्दीका सम्भवतः महान् कवि हुन्, जसले कहिले नोबेल पुरस्कार पाएनन् ।’नोबेल पुरस्कारबाट वञ्चित भएका कवि बोर्खेस स्वयम् मौलिकताका बारेमा स्पष्ट भएर भन्छन्, ‘अब हामीले लेख्नुपर्ने केही छैन, सबै पहिले लेखिइसके ।’

बोर्खेसले संसारको एक मात्र लेखक भनेर फ्रान्ज काफ्कालाई सगर्व स्विकारेका छन्, भगवान्मा चमत्कार गर्ने शक्ति ह्रास भइसक्यो होला तर स्रष्टामा त्यो सुरक्षित छ । काफ्का मात्र एक यस्ता लेखक हुन्, जसले आफू पछि आउने समयलाई ख्याल गरेर लेख्न सके ।काफ्का स्वयं आफूलाई कति मौलिक मान्थे, त्यो त कतै उल्लेख छैन तर उनले आफ्ना कृतिमाथि शंका गर्दै एउटा पत्रमा आफ्ना परममित्र म्याक्स ब्रोडलाई यतिसम्म भने, ‘म मरेपछि मेरा सबै कृति विश्वासपूर्वक जलाइदिनू ।’

तर ब्रोडले काफ्काको विश्वासलाई तोडे वा पाठकका निम्ति जोगाए, त्यो इतिहासगर्भित छ ।काफ्काको उक्त उक्ति दाहो¥याउँदै हाम्रा महाकवि देवकोटाले आफ्ना सहृदयी कवि सञ्चारकर्मी हरि श्रेष्ठलाई त्यही भने, ‘मेरा सबै कृति जलाए पनि मुनामदन नजलाइदिनू ।’देवकोटाको त्यो उक्तिलाई हरि श्रेष्ठले सम्मानका साथ वा (अविश्वासका साथ) स्विकारे, जसले गर्दा हामीले मुनामदन जस्तो कृति पढ्न पाइरहेका छौँ ।मुनामदनको मौलिकता अझै पनि हाम्रो माझ सुरक्षित छ,मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन ।

 

 

प्रकाशित: ५ फाल्गुन २०७४ ०३:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App