coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

गजुरबिनाको मन्दिर

सविता खड्का

 ललितपुर, चापागाउँस्थित श्रीमाई बज्रवाराही देवीको मन्दिर अरुभन्दा भिन्न छ । सदरमुकामबाट आठ किलोमिटर टाढा रहेको यो मन्दिरको गजुर छैन ।
गजुर नराखिनुमा एक किंवदन्ती छ । पुजारी बासुदेव कर्माचार्यका अनुसार मन्दिरमा निर्माणका क्रममा गजुर राख्नुभन्दा अघिल्लो दिन राती तत्कालीन पुजारीलाई सपना भएछ ।

ती पुजारीलाई सपनामा कसैले बुलु गाउँको मान्छे मन्दिर अगाडिको चितामा जलाउन ल्याएका बेला मात्रै गजुर राख्नू । अन्यथा मानिसको टाउको फुटी मर्ने छ भनेर सुनाए । भोलिपल्ट पुजारीले सपनाबारे गाउँका बुद्धिजीवीलाई जानकारी गराएको र त्यसपछि कसैले गजुर राख्न हिम्मत नगरेको पुजारी कर्माचार्य बताउँछन् । त्यसपछि मन्दिरको गजुर पनि फर्काइएको उनले बताए ।वंशावली शिलालेख अनुसार तत्कालीन राजा श्रीनिवास मल्लले नेपाल संवत ७८६ चैतमा बज्रवाराही देवगृह स्थापना गरेका थिए । मन्दिरका पुजारी बासुदेव कर्माचार्यले घना जंगलको बीचमा रहेको तालबाट श्रीमाई बज्रवाराहीदेवी उत्पन्न भएको जनश्रुति रहेको बताए ।  

मन्दिर अगाडि मसानघाट छ । उनका अनुसार, भक्तपुरका एक मल्ल राजा भगवानको दर्शन गर्न आउँदा देवताको अगाडि मानिसको दाहसंस्कार भइरहेको देखे । त्यस दिन शव गन्हाएपछि ती राजाले नै मसानघाट अली पर सारेको बूढापाका बताउँछन् । अहिले पनि मन्दिर वरिपरि ९ वटा चिताहरू छन् ।मन्दिर १५ सय मिटर उचाईमा छ । मन्दिरको पूर्वमा झरुवारासी र बडिखेल, पश्चिममा छम्पी, उत्तरमा धापाखेल तथा दक्षिणमा लेले रहेको छ ।किंवदन्ती अनुसार श्रीमाई बज्रवाराहीदेवीका चार दिदीबहिनी छन् । सेतीवाराहीदेवी, धुम्वाराहीदेवी र  निलवाराहीदेवी उनका बहिनीहरू मानिन्छन् । यीमध्ये श्रीमाई बज्रवाराहीदेवी सबैभन्दा शक्तिशाली रहेको जनश्रुति छ ।

मन्दिरभित्र नवदुर्गाका मूर्ति स्थापना गरिएका छन् । मन्दिर अगाडि महिषको मूर्ति छ । पुजारी कर्माचार्यका अनुसार महिषको मूर्तिमा दूध चढाउने चलन अझै कायम छ ।  मन्दिरको मूलद्वारको दायाँतर्फ गणेश र सिंहका मूर्ति छन् ।चापागाउँ ६ मा पर्ने क्वाँगु जंगलमा महादेव बस्न खोज्दा श्रीमाई बज्रवाराहीदेवी बँदेलको रूप लिएर त्यस स्थानमा आएपछि महादेव भागेर भारदेउमा बसेको जनश्रुति छ ।पहिले चापागाउँलाई चम्पापुर भन्ने गरिन्थ्यो । उहिले चाँपका रुख प्रशस्त भएकाले गाउँको नाम चम्पापुर भएको पुजारी कर्माचार्य बताउँछन् ।

चापागाउँको जात्रा पनि मनाइन्छ । पुजारी कर्माचार्यका अनुसार, परापूर्वकालमा भक्तपुरका राजा नरेन्द्रेव मल्ल लडाइँबाट फर्किने क्रममा चापागाउँ हुँदै आए । फर्कने क्रममा राती भएपछि बाटोमा पर्ने घरमा बास माग्न एक सिपाहीलाई पठाए ।सिपाहीले सेतो कपडा ओढेर सुतिरहेको आकृति देख्यो र डराउँदै फर्केर राजालाई जानकारी दियो । त्यसपछि राजा आफै हेर्न गए । राजाले पनि उस्तै आकृति देखे र कपडा उघारेर हेर्दा त्यहाँ वराहरूपी श्रीमाई बज्रवाराहीदेवीको दर्शन गरे ।

देवीले यस्तै मूर्ति बनाएर चैत पूर्णिमाको दिन जात्रा चलाउनु भन्दै देवी अलप भइन् । त्यसपछि राजाले चैत पूर्णिमामा उस्तै मूर्ति र खट बनाएर जात्रा चलाएको किंवदन्ती रहेको पुजारी कर्माचार्य बताउँछन् । पुजारी कर्माचार्यका अनुसार त्यसबेलादेखि चैत पूर्णिमामा जात्रा हुँदै आएको छ ।
श्रीबज्रवाराही देवीको मन्दिरमा जेठ कृष्ण दशमीमा पूजा गर्ने र बली दिने चलन छ । उक्त दिन होम गरी पूजा गरिँदै आएको पुजारी कर्माचार्य बताउँछन् ।

दुई घन्टासम्म मन्दिरको ढोका बन्द गरी पूजा गरिन्छ । पूजा सकेपछि बलिपूजा गर्ने र त्यसकै सामानबाट मन्दिर वरिपरिका नौ चितामा पूजा गरिने उनले बताए । पूजाका क्रममा तीन पटक चिता परिक्रमा गरिने स्थानीय सोयम कर्माचार्य बताउँछन् ।मन्दिरमा बलि दिँदा बोको नपर्सिएमा मन्दिर अगाडिको पाटीपछाडि लगेर पानी छर्किए पर्सन्छ भन्ने किंवदन्ती छ ।

मन्दिर दर्शन गर्न आउनेको मनोकांक्षा पूरा हुने जनविश्वास रहेको पुजारी कर्माचार्य बताउँछन् । उनले पछिल्लो समय मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको बताए । उनका अनुसार पशु बिरामी भए श्रद्धालु मन्दिरमा दूध चढाउन आउने गरेका छन् ।मन्दिरको जल खेतबारीमा छर्किए बालीनाली सप्रिने जनविश्वास छ । मन्दिर क्षेत्र प्राकृतिक रूपले पनि सुन्दर छ । यहाँको जंगलमा विभिन्न जडीबुटी तथा वनस्पतिहरू प्रशस्त मात्रामा पाइएको स्थानीय बताउँछन् ।

जंगलमा सुगा, सारौँ, ढुकुर आदि ३९ थरिका चराचुरुङ्गीहरू बस्ने गरेको पुजारी कर्माचार्यले बताए । तर, पछिल्लो समय जंगल पातलिँदै गएको उनले बताए ।बज्रवाराही देवीलाई बोका, हाँस र कुखुरा बलि दिँदा पनि मन्दिर भित्रको रगत केही घण्टापछि नदेखिने यो देवताको ठूलो शक्ति मान्ने गरेको स्थानीय बताउँछन् । यस जंगलमा काग कहिले बस्दैन । एक दिन चापागाउँका एक व्यक्तिले काग किन बस्दैन भनी समातेर पिँजडामा राखी मन्दिरको पाटीमा राख्यो र चियो गरी बस्यो । जब राती भयो अनि कागलाई तान्न मानिसको हात आयो भन्ने स्थानीय बुद्धिलाल कर्माचार्यको भनाई छ ।

स्थानीयका अनुसार जंगलमा अझै पनि काग बस्दैन । यो नै भगवानको ठूलो शक्ति मान्ने गरेको कर्माचार्य बताउँछन् । उनका अनुसार जंगलबारे पनि किंवदन्ती छ । जंगलका रुख, पात, दाउरा आदि प्रयोग गरे नराम्रो सपना देख्ने र बिरामी हुने स्थानीय बताउँछन् । तर, दाहसंस्कार गर्दा स्थानीयले यहीको काठ प्रयोग गर्ने चलन रहेको उनीहरूको भनाइ छ ।

उनका अनुसार जंगलमा पहिले सुपारी रुख निकै थिए । तर, अहिले संरक्षण अभावमा जंगल पातलिएको पुजारी बताउँछन् । सुपारीलाई टाउको दुखेका बेला घोटेर निधारमा लगाए सन्चो हुने जनविश्वास छ । यही जनविश्वासका कारण मन्दिर आउने श्रद्धालुले सुपारी किनेर लैजाने पुजारी कर्माचार्य बताउँछन् ।
चापागाउँमा विभिन्न समुदायको बसोबास छ । यहाँ हिन्दू, बौद्ध, र क्रिस्चियन धर्मावलम्बीहरूको बसोबास रहेको पुजारी कर्माचार्य बताउँछन् ।

प्रकाशित: ५ फाल्गुन २०७४ ०१:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App