७ वैशाख २०८१ शुक्रबार
समाज

‘भन्सार कर्मचारी र प्रहरीकै सहयोगमा’ तस्करी

चामलको बोराभित्र लुकाएर नेपालगन्ज नाकाबाट तस्करी गरिएको चिनी । तस्बिर : नागरिक

नेपालगन्ज – नेपालगन्ज भन्सारबाट सामान ‘कर्मचारी र सुरक्षाकर्मीकै सहयोगमा’ तस्करी हुने गरेको तथ्य खुलेको छ। कर्मचारी र सुरक्षाकर्मीको सहयोगमा तस्करहरुले खुलेआम भारतबाट सामान तस्करी गर्ने गरेको पाइएको हो। भारतबाट चामलको बोरामा हालेर चिनी तस्करी गरी ल्याउँदै गरेको अवस्थामा दुई महिला पक्राउ परेपछि उनीहरूको बयानबाट यस्तो तथ्य बाहिर आएको हो। 

भारतबाट नेपालगन्जतर्फ ४ वटा बोरामा चिनी राखेर बिहीबार ल्याउँदै गरेको अवस्थामा कोहलपुर नगरपालिका वडा नम्बर २ निवासी २८ बर्षिया कमला शाही र सोही ठाउँकी ३० बर्षिया पवित्रा शाहीलाई नेपाल प्रहरीको पाँच नम्बर प्रदेश अनुसन्धान ब्युरो टोलीले पक्राउ गरेको थियो। उनीहरूको साथबाट १÷१ क्वीन्टल चिनी बरामद गरिएको छ। नेपाल–भारत सिमा जमुनाहादेखी चौलिका चोकसम्म करिव आधा दर्जन चेकपोष्ट छन्। तर, ती सबै चेकपोष्ट पार गरेर चिनी तस्करी गर्न उनीहरु लामो समयदेखी सफल हुदै आएका थिए।

चिनी तस्करी गर्ने महिलाहरू भन्सार कार्यालयको चेकपोष्ट पार गरी नेपालगन्जतर्फ आईसकेको अवस्थामा पक्राउ परेपछि तस्करीमा  भन्सार कर्मचारी र सुरक्षाकर्मीको मिलेमतो रहेको पुष्टी भएको छ। तस्करीमा संलग्नहरू सुरक्षाकर्मीको श्रीमती रहेको बुझिएको छ। उनीहरूले लामो समयदेखी भन्सार कर्मचारी र सुरक्षाकर्मीलाई प्रभावमा पारेर तस्करी गर्दै आएको खुलेको छ। 

‘लामो समयदेखी यिनीहरुले खाद्यान्न र कपडा तस्करी गर्दै आएका छन्,’ एक प्रत्यक्षदर्शीले भने ‘यिनीहरुले अबैध काम गर्ने कुरा भन्सार र सुरक्षाकर्मीलाई प्रष्टसँग थाहा छ, दिनमा कम्तिमा पनि २ देखी ३ पटक ओहोर–दोहोर गरेर सामान तस्करी गर्छन्, तर भन्सार र सुरक्षाकर्मीले नदेखेझै गर्छन्।’ तस्करहरूले भन्सार कर्मचारी र सुरक्षाकर्मीलाई प्रभावमा पारी सामान तस्करी गर्दै आएको कुरा थाहा पाएपछि पाँच नम्बर प्रदेश प्रहरी व्यूरो टोलीले निग्रानी बढाउँदै आएको थियो। 

उनीहरूको गतिविधिको निग्रानी गर्दै आएको ब्युरो टोलीले भन्सार कार्यालयको चेकपोष्टबाट सहजै रूपमा चिनी छिराएको देखेपछि मात्र पक्राउ गरेको थियो। ‘हामीले उनीहरूका गतिविधिको निग्रानी गरेका थियौं,’ अनुसन्धान व्युरोका एक प्रहरीले भने ‘जब चेकपोष्टबाट उनीहरू पार भए, त्यसपछि नियन्त्रणमा लिएको हौं।’ 

पक्राउ परेका महिलाले पनि भन्सार कर्मचारीलाई सहयोग गरे वापत रकम  दिने गरेको बयान दिएका छन्। ‘हामीलाई यो काममा भन्सारका कर्मचारी र प्रहरीले पनि सहयोग गर्नु भएको छ, उहाँहरूको सहयोगले मात्र यो सबै सम्भव भएको हो,’ तस्करीमा संलग्नको भनाई उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो।

प्रकाशित: ४ फाल्गुन २०७४ १५:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App