७ वैशाख २०८१ शुक्रबार
खेल

आर्मी सिमरा गोल्डकपको फाइनलमा, उपाधि भिडन्त थ्रिस्टारसँग

बारा – त्रिभुवन आर्मी क्लब वीरगञ्ज युनाइटेड क्लबलाई पराजित गर्दै रुस्लान नवौं सिमरा गोल्डकपको फाइनल प्रवेश गरेको छ। 

सिमरा रंगशालामा विहीबार सम्पन्न दोस्रो सेमी फाइनलमा वीरगञ्ज युनाइटेड क्लबलाई ३–० गोल अन्तरले स्तब्ध पार्दै त्रिभुवन आर्मीले उपाधि भिडन्तमा थ्रिस्टार क्लबसंगको भेट पक्का गरेको हो। 

आर्मीको जीतमा दिनेश हेम्जन र दिप लामाले समान एक गोल गरे भने वीरगञ्ज यूनाइटेड क्लबका  विष्णु सुनारले आत्मघाती गोल गर्दा आर्मीले ३–० को जित दर्ता गरायो। 

साविक विजेता संकटा क्लबलाई हराउँदै सेमीफाइनलमा प्रवेश गरेको वीरगञ्ज यूनाइटेड विभागीय टिम आर्मी सामु निरिह बन्यो। करिब ८ हजार घरेलु दर्शकमाँझ आर्मीविरुद्ध उत्रिएको वीरगञ्ज यूनाईटेडलाई त्रिभुवन आर्मीले पुरै समय दबाबमा राख्यो। 

पहिलो हाफमा १–० को अग्रता दिलाउने क्रममा आर्मीका दिनेश हेम्जनले गोलको खाता खोले। खेलको ३८ औं मिनटमा भरत खवासको पासमा दिनेशले आर्मीलाई अग्रता दिलाए। 

खेलको ६० औं मिनटमा वीरगञ्ज यूनाइटेडका विष्णु सुनुवारले आत्मघाती गोल गर्दा आर्मीले २–० को अग्रता हात पा¥यो। आर्मीका भरत खवासको क्रसबल पेनाल्टी एरियामा नियन्त्रणमा लिने प्रयास गरेका सुनुवारको प्रयासले गोलपोष्टको दिशा लिंदा वीरगञ्ज यूनाईटेड थप दबाबमा प-यो। 

वीरगञ्ज विरुद्ध हावी भएको आर्मीले ६७ औं मिनटमा अर्को गोल थप्यो। आर्मीका दिप लामाले गोल गर्दै टिमलाई ३–० को फराकिलो अग्रता दिलाए। टंक बस्नेतको पासमा उत्कृष्ट गोल गर्दै दिप लामाले सिमरा गोल्डकपमा त्रिभुवन आर्मीको फाइनल यात्रा तेश्रो पटक सुनिश्चित गरे। 

त्रिभुवन आर्मी प्रतियोगिताको छैठौं संस्करणको विजेता हो, भने आठौं संस्करणको उपविजेता समेत हो। त्रिभूवन आर्मीले शनिवार सिमरा रङ्गशालामा उपाधिका लागि थ्रिस्टार क्लबसंग प्रतिस्पर्धा गर्नेछ। 

खेलको म्यान अफ दि म्याच त्रिभूवन आर्मीका दिनेश हेम्जन घोषित भए। उनले ५ हजार नगद सहित म्यान अफ दि म्याचको ट्रफी हात पारे।

हारपछि उदास बनेका वीरगञ्जका प्रशिक्षक सुलभजंग राणाले आर्मीविरुद्धको खेलमा आफ्ना खेलाडी शारीरिक रुपमा कमजोर देखिएको बताए। अघिल्लो खेलको तुलनामा सोचेंजस्तो प्रदर्शन गर्न नसक्दा हार व्यहोर्नु परेको उनको भनाई थियो। 

उपाधि नजिक पुग्दा उत्साहित आर्मीका प्रशिक्षक नविन न्यौपानेले टिमको प्रदर्शनबाट सन्तुष्ट रहेको प्रतिकृया दिए। वीरगञ्ज विरुद्ध ‘प्रेसर गेम’ खेल्ने रणनीति सफल भएको उनले बताए। वीरगञ्जको टिम सेट नहुनु आफूहरुका लागि फाइदा भएको न्यौपानेले बताए।

 

प्रकाशित: ३ फाल्गुन २०७४ १५:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App