६ वैशाख २०८१ बिहीबार
राजनीति

ईश्वरको नाममा सपथ लिन मानेनन केपी ओली

काठमाडौं – दोस्रोपटक देशको प्रधानमन्त्रीका रुपमा नियुक्त भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ईश्वरको नाममा सपथ लिन अस्वीकार गरेका छन्। 

विहीबार शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको सपथ लिएका ओलीले ईश्वर शब्द उच्चारण गर्न अस्वीकार गरेका हुन्। राष्ट्रपति भण्डारीले ओलीलाई सपथ गराउँदै ‘म ईश्वर, देश र जनताको नाममा सपथ लिन्छु’ भन्ने शब्द उच्चारण गर्न लगाएकी थिइन्। तर, ओलीले ‘देश र जनताको नाममा सपथ लिन्छु’ मात्रै भनेका थिए। 

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीपछि एमालेकै दुई मन्त्रीलाई सपथ गराएकी थिइन्। राष्ट्रपतिबाट मन्त्रीको सपथ लिएका लालबाबु पण्डित र थममाया थापाले पनि ईश्वर शब्द उच्चारण गरेनन्।

रोचक त के भने कम्युनिष्ट स्कुलिङमा अघि बढेकी राष्ट्रपति (एमाले पूर्व उपाध्यक्ष) भण्डारीले ईश्वरको नाममा अध्यक्ष ओलीलाई सपथ ग्रहण गराउन खोजेकी थिइन्। तर ओलीले ईश्वर शब्द उच्चारण नगरेरै सपथ लिए। ईश्वरको नाममा सपथ लिन नमानेपछि ओलीको आलोचना सुरु भएको छ।

नेपालमा ईश्वरको नाममा पद तथा गोपनियताको सपथ लिने परम्परा रहेपनि धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएपनि कम्युनिष्ट नेताहरुले ईश्वर शब्द उच्चारण गर्न छाडेका छन्। यसअघि जेठमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्दा कांग्रेसका मन्त्रीले ईश्वरको नाममा सपथ लिएपनि माओवादी मन्त्री उच्चारण गरेका थिएनन्।

आफ्नो धर्मअनुसार भगवानको नाममा सपथ लिने चलन संसारभर प्रचलित छ। पश्चिममा देशहरुमा राष्ट्रप्रमुख तथा कर्मचारीले बाइबलमा हात राखेर सपथ लिन्छन्। सन् २०१६ मा अमेरिकाको राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्प र त्यसपूर्वका बराक ओबामाले बाइबलको नाममा सपथ लिएको तस्बीर चर्चाको विषय बनेको थियो। 

नेपालका लागि अमेरिकी राजदूत अलाइना बि टेप्लिजले पनि ओहदाको प्रमाणपत्र प्रस्तुत गरी बाइबलमा हात राखेर सपथ लिएको तस्बीर नेपालीमाँझ  लोकप्रिय बनेको थियो। 

देश धर्मनिरपेक्ष भएपनि बहुसंख्यक र सनातन धर्मअनुसार भगवानको नाममा सपथ लिने प्रचलन संसारमा छ। तर नेपालमा भने सनातन धर्म (हिन्दू ईश्वर)को नाममा सपथ लिन कम्युनिष्ट पार्टीका नेताहरुले अस्वीकार गर्दै आएका छन्।

प्रकाशित: ३ फाल्गुन २०७४ १३:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App