७ वैशाख २०८१ शुक्रबार
खेल

फेसबुकको सहयोगमा खेल मैदान

धनकुटा – सामाजिक सञ्जालको मद्दतले संकलन भएको रकमले धनकुटाको सिधुवाबजारमा खेलमैदान निर्माण भइरहेको छ। सामाजिक सन्जाललाई दुरुपयोग भएर बेलाबखत हुने नकरात्मक टिप्पणी हुने गरेको छ। तर सिधुवाका युवाहरुले सामाजिक सञ्जालको प्रयोगले समाजलाई फाइदा पुग्ने उदाहरणीय काम गर्दै राष्ट्रिय प्रतियोगिता खेल्न मिल्ने गतिलो खेलमैदान निर्माण सुरु गरेका छन्। 

सामाजिक सञ्जाल ‘फेसबुक’लाई माध्यम बनाएर आर्थिक सहयोग जुटाएर छथरजोरपाटी गाउँपालिका वडा नं. ७ सिधुवा बजारमा खेलमैदान निर्माण सुरु भएको महिनौ वितिसकेको छ। युवाहरुले सामाजिक सञ्जाल फेसबुकमा ‘म बनाउँछु मेरो खेल मैदान’ अभियान चलाएर सरस्वती माध्यमिक बिद्यालयको करिब १५ रोपनी जग्गामा खेलमैदान निर्माण भइरहेको स्थानीय युवा एवं सिंहदेवी युवा क्लबका अध्यक्ष दिवेस खड्काले बताए। 

पूर्व फुटबल खेलाडी लक्ष्मीनारायण श्रेष्ठको अगुवाईमा सुरु भएको अभियानमा हालसम्म ४५ जना दाताबाट ४ लाख १० हजार रुपैया संकलन भइसकेको छ। सहयोग जुट्ने क्रम जारी छ। दाताहरुले न्यूनतम ५ हजारदेखि ३७ हजार रुपैयाँ सहयोग गरिराखेका छन्। अहिले खेल मैदान सम्याउन मात्रै १० लाख रुपैया बजेटको आवश्यक छ।

सामाजिक सञ्जालको अभियानबाट १० लाख रुपैया सहयोग जुटाउने लक्ष्य लिइएको क्लब अध्यक्ष  खड्काले बताए। खेलमैदान निर्माणको लागि अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया, कतारमा रहेका खेलप्रेमीबाट सहयोग जुटिरहेको छ। युवाहरुको पहलमा खेलमैदान निर्माण सुरु भएपछि  छथरजोरपाटी गाउँपालिकाले वडाको बजेटबा २ लाख ५० हजार रुपैया सहयोग गरेको छ। 

प्रकाशित: ३ फाल्गुन २०७४ १०:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App