१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु

सुर्खेत – नेकपा एमाले आफ्नो अडानबाट पछाडि हटेपछि ६ नम्बर प्रदेशमा सरकार गठन प्रक्रिया अगाडि बढेको छ । एमालेले प्रदेश सरकारको नेतृत्व आलोपालो गर्नुपर्ने अडान राख्दै आएको थियो । एमाले आफ्नो अडान छोडेर माओवादी केन्द्रको नेतृत्वमा सरकार गठनका लागि हस्ताक्षर संकलनमा लागेको छ।

‘केन्द्रमा भएको सहमतिअनुसार माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर संकलन गरिरहेका छौं,’ एमाले सांसद सुशील थापाले भने, ‘बिहीबार हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखलाई बुझाउँछौं ।’ एमालेले आलोपालो सरकारको नेतृत्व, मन्त्रालय बाँडफाँट र मन्त्रीहरुको वरीयताका विषयमा माओवादी केन्द्रसँग लिखित सम्झौता गर्न चाहेको थियो।

केन्द्रको निर्णयविपरीत जाँदा पार्टी एकतामा समस्या आउने भएकाले तत्कालका लागि माओवादी केन्द्रलाई समर्थन गरेर सरकार गठनको प्रक्रिया सुरु गरिएको एमालेले बताएको छ । ‘पार्टी एकीकरण भइसकेपछि योग्यता र दक्षताका आधारमा सरकारको नेतृत्व परिवर्तन हुन सक्छ । अहिलेलाई त्यो सम्भावना छैन,’ एमाले सांसद अम्मरबहादुर थापाले भने, ‘माओवादी केन्द्रको नेतृत्वमा एमाले सरकारमा सहभागी हुन्छ ।’ उनले केन्द्रमा भएको सहमतिविपरीतका गतिविधि गर्दा त्यसले पार्टी एकतामा असर पर्ने भएकाले बिनासर्त एमाले सरकारमा सहभागी हुने बताए ।
आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेर राखेको माओवादी केन्द्रले बुधबार नै एमालेको समर्थन माग गरेको थियो । ‘एमालेले मुख्यमन्त्रीका लागि समर्थनसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई नबुझाएकाले सरकार गठन एक दिन पर स¥यो,’ माओवादी केन्द्रका एक नेताले भने, ‘बिहीबार एमालेको पत्र प्राप्त हुनेबित्तिकै मुख्यमन्त्रीसहित सानो आकारको मन्त्रिमण्डल गठन हुन्छ।’

माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीले संविधानअनुसार बिहीबारसम्म सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष पत्र पुगिसक्नुपर्ने बताए । ‘एमालेले माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई गरेको समर्थनसहितको पत्र प्रदेश प्रमुखलाई बुझाउनेबित्तिकै सरकार गठन प्रक्रिया सुरु हुन्छ,’ उनले भने, ‘सम्भवतः बिहीबार नै सानो आकारको मन्त्रिमण्डल गठन गर्छौं ।’ उनले बुधबार बसेको संसदीय दलको बैठकमा सरकार गठन प्रक्रियाका लागि सबै सांसदको हस्ताक्षर संकलन गरिएको बताए ।
 
एमाले ज्वालाको नेतृत्वमा जाने
माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा एमालेले प्रकाश ज्वालालाई पठाउने भएको छ । सांसद सुशील थापाका अनुसार ज्वालाको नेतृत्वमा एमाले सरकारमा जानेछ । ज्वाला संसदीय दलको नेताका आकांक्षी थिए । संसदीय दलको नेता नपाउने देखेपछि उनैले यामलाल कँडेललाई समर्थन गरेका थिए । ‘एमालेको नेतृत्व गर्र्दै अब बन्ने सरकारमा ज्वाला सहभागी हुनुहुनेछ,’ थापाले भने, ‘अन्यको विषयमा भने छलफल चलिरहेको छ ।’ प्रदेशसभामा ४० मध्ये २० सिट जितेको एमालेमा मन्त्रीका आकांक्षी धेरै छन्। 

सात मन्त्रालय रहने प्रदेशमा मुख्यमन्त्रीसहित तीन माओवादी केन्द्र र चार एमालेले पाउने दुई दलबीच सहमति भएको छ । एमालेबाट सुशील थापा, अम्मर थापा, दलबहादुर रावल, गुलाबजंग शाह, पद्मा खड्का, राजु नेपाली, देवी वलीलगायतका आकांक्षी छन्। वाम गठबन्धनलाई समर्थन गर्दै आएको राप्रपा नेपाललाई कुनै समितिको सभापति दिने दुवै दलबीच सहमति छ। 

प्रकाशित: ३ फाल्गुन २०७४ ०५:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App