८ वैशाख २०८१ शनिबार
कला

ओमविक्रमलाई अञ्जुको सहयोग

काठमाडौं – गायिका अञ्जु पन्तले  मिर्गाैला पीडित गायक ओमविक्रम विष्टलाई २५ हजार नगद प्रदान गरेकी छिन् । हेल्लो क्याफे गजलबारमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा गायिका पन्तले सहयोगको घोषणा गरेकी हुन् । पन्तले गायक विष्टका छोरा शिखरविक्रमलाई सहयोग हस्तान्तरण गरेकी थिइन् ।

उनले गायिका जलजला परियारलाई पनि २५ हजार सहयोग गरेकी थिइन् । जलजलालाई प्रदान गरिएको सहयोग उनका बुबा नारायणबहादुर दर्जीले ग्रहण गरेका थिए । अन्जु पन्तले फाउन्डेसनको स्थापना गरेर बालबालिका तथा अन्यलाई सहयोग प्रदान गर्दै आइरहेकी छिन् । सहयोग हस्तान्तरणपछि गायिका पन्तले दुवैको स्वास्थ्यलाभको कामना गर्दै अन्जु पन्त फाउन्डेसन आवश्यक परे थप सहयोग गर्न तयार रहेको बताइन् ।

त्यसैगरी, पन्तले नेपाली गीतसंगीतको विकास, संरक्षण, सम्बद्र्धनको क्षेत्रमा क्रियाशील रहेको गीतकार संघ नेपाल र संगीतकार संघ नेपाललाई २५÷२५ हजार रुपैयाँ हस्तान्तरण गरेकी थिइन् । सो रकम भने उनले पहिले नै प्रदान गर्ने घोषणा गरेकी थिइन् । दुवै संस्थाको प्रतिनिधित्व गर्दै आएका संगीतकार संघ नेपालका प्रेस सल्लाहकार तथा गीतकार लोकराज अधिकारीलाई उक्त रकम हस्तान्तरण गरिएको थियो ।

उक्त कार्यक्रममा संगीत कला पत्रकार संघका अध्यक्ष सुमन पण्डित, संगीतकार संघका प्रेस सल्लाहकार लोकराज अधिकारी, अन्जु पन्त फाउन्डेसनका महासचिव थीर केसी र गायिका पन्तले आफ्नो मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै जलजलाका बुबा नारायणबहादुर दर्जी र ओमविक्रम विष्टका छोरा शिखर विक्रम विष्टले सहयोगप्रति गायिका पन्तलाई धन्यवाद प्रकट गरेका थिए ।
 

प्रकाशित: ३ फाल्गुन २०७४ ०३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App