८ वैशाख २०८१ शनिबार
कला

भ्यालेन्टाइनमा केकी र प्रदीपकाे गीत

काठमाडौं – भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसमा प्रेमिल जोडी रमाइरहँदा प्रेमसँग सम्बन्धित दुई फिल्मका गीत सार्वजनिक भएका छन् । नायिका केकी अधिकारीको निर्माण रहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ र निर्देशक मिलन चाम्सको निर्देशनमा बनेको फिल्म ‘लिलीबिली’को गीत सार्वजनिक भएका हुन् ।

केकीको फिल्म ‘कोहलपुर एक्सप्रेस’को गीत ‘अब मनसँग मन’मा केकी र नायक विनोद न्यौपानेले अभिनय गरेका छन् । गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत र सुगम पोखरेल तथा अञ्जु पन्तको स्वर छ । गीतमा गम्भीर विष्टको कोरियोग्राफी छ ।दर्जनौं म्युजिक भिडियो निर्देशनको अनुभव संगालेका निर्देशक विशाल भण्डारीले यसै फिल्ममार्फत फिल्म निर्देशनमा डेब्यु गरेका हुन् । फिल्ममा केकी अधिकारी, ऋचा शर्मा, प्रियंका कार्की, विनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झा र कुशाग्र भट्टराईको अभिनय छ ।

भद्रबहादुर शाही, देवीलाल न्यौपाने (पण्डित) र शिवप्रसाद चौलागार्इं निर्माता रहेको फिल्ममा विशाल भण्डारीको कथा, लोकेश बज्राचार्यको सम्पादन र अर्जुन तिवारीको छायांकन छ । फिल्मले वैशाख १४ लाई आफ्नो रिलिज मिति घोषणा गरेको छ ।यस्तै प्रदीप खड्का अभिनित फिल्म ‘लिलिबिली’ले पनि प्रणय दिवसकै अवसरमा ‘घुम्न जाउँ है इञ्जिन गाडीमा’ बोलको गीत सार्वजनिक गरेको छ । गीतमा प्रदीप खड्का नव अभिनेत्री जसिता गुरुङसँग देखिएका छन् ।

स्कटल्यान्डमा छायांकन गरिएको गीतमा एसडी योगीको स्वर तथा संगीत र एकतारेको शब्द छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा सुदीप बरालको छायांकन छ ।निर्देशक मिलन, गोविन्द शाही र सुदीप खड्काको लगानी रहेको फिल्ममा प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्सलगायतका कलाकारको अभिनय छ । चैत्र ३० गतेलाई प्रदर्शन मिति तोकिएको फिल्ममा चन्द्र पन्तको द्वन्द्व र अर्जुन जिसीको सम्पादन छ ।

फिल्मले शीर्ष गीतको कभर भिडियो प्रतियोगिता पनि आयोजना गर्ने घोषणा गरेको छ । यो गीतमा उत्कृष्ट भिडियो बनाउनेलाई १ लाख नगद पुरस्कार दिइने निर्देशन चाम्सले बताए । उनका अनुसार युट्बमा धेरै दर्शक पाउने भिडियोले पुरस्कार जित्नेछ ।
 

प्रकाशित: ३ फाल्गुन २०७४ ०३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App