८ वैशाख २०८१ शनिबार
अर्थ

हुलाकी सडकले फेरिँदैछ देहात

पर्साको रामनगरी नजिक हुलाकी सडकमा काम हुँदै । तस्बिर : रितेश- नागरिक

वीरगन्ज – विभिन्न बाधा अवरोधबीच लामो प्रतिक्षापछि साकार हुन लागेको छ ‘हुलाकी सडकको सपना’ । माटो भरेर सम्याउँदै हुलाकी सडकको रुपरेखा मात्र के बनेको छ, साबिकका खाँटी देहात (अविकसित ग्रामीण क्षेत्र) बदलाव हुन थालेको छ ।

तराईका जिल्लाहरुको मुहार फेर्ने योजनाको रुपमा विगत दुई दशकदेखि अथ्र्याइदै आएको हुलाकीसँग जोडिएका परिकल्पनाहरु अब सार्थक हुने भएका छन् । ‘८० हजार रुपैयाँ कट्ठामा ग्राहक नभेटिने मेरो गाउँको जग्गा अब पाँच लाख रुपैया कट्ठामा किन्ने ग्राहकको भरमार छ,’ पर्साको सदरमुकाम वीरगन्जबाट करिब २५ किलोमिटर टाढा रहेको जितपुरका बासिन्दा रहेका जिल्लाका पुराना नेता मोहनलाल चौधरीले भने, ‘सडकको रुपरेखा मात्र बनेको छ, उपेक्षित रहेका विकास नपुगेका गाउँहरुको अझ कालोपत्रे भएपछि साच्चिकै यस सडकले गर्दा भाग्य फेरिन लागेको छ ।’

अग्रज पुस्ता उनी आफ्नै जीवनमा यो आमुल परिवर्तन हेर्ने पक्का भएको भनी दंग छन् । भारतीय सहयोगमा भारतीय निर्माण कम्पनी हैदरावादको भिसवा कन्स्ट्रक्सनले ०६८ मा बारा र पर्सामा हुलाकी सडक बनाउन लाग्दा सफल हुन सकेन ।उक्त निर्माण कम्पनीले दुई जिल्लामा एक सय १९ किमि सडक निर्माणको ठेक्का लिएको थियो । ०७१ मा भारतीय निर्माण कम्पनी ठेक्का छोडेर भागेपछि अलपत्र परेको हुलाकी सडक योजनाको काम भारत सरकारको आर्थिक सहयोगमा नेपाल सरकारले नै बनाउने सहमति भएर यतिखेर निर्माण कार्य थालिएको हो ।

सडक विभागले निर्माण गर्न लागेको वीरगन्ज–ठोरी सडकखण्ड अन्तर्गत वीरगन्जको प्रतिमा चोकदेखि सेढवासम्मको ३० किमि सडक कालोपत्रे गर्न ठेक्का पप्पु कन्स्ट्रक्सन प्रालिर भारतीय निर्माण कम्पनी एएमआरले संयुक्त सम्झौता गरी काम थालेका छन् । सेढवादेखि ठोरीसम्म कालिका र बानिया कन्स्ट्रक्सन संयुक्तले सम्झौता गरेर काम थालेका छन् ।

अहिले ट्रेक खोल्ने काम सकिएर सडकको आधार निर्माण काम तीव्र पारिएको छ । खुलाइएको सडकमा सवारीसाधन गुड्न सुरु भएका छन् । यसरी सडक निर्माणको काम अघि बढ्दै गर्दा हुलाकी सडकसँग जोडिएका गाउँमा खुसियालीको नयाँ सञ्चार भएको छ । ‘मानिसको जीवनस्तर यस सडकले गर्दा माथि उठ्ने छ, आवागमन सहज भएपछि सवारीसाधन गुड्न थालेपछि आपसेआप ठाउँको विकास हुँदो रहेछ,’ सेढवाका शिक्षक ओमप्रकाश चौधरीले भने, ‘सडक तयार होस् गाउँको तरकारी, दूध, माछा बजार लैजान सहज हुनेछ, ग्रामीण अर्थतन्त्र उठ्ने छ, अनकन्टार ठानेर गाउँबाट पलायन भएका फर्किने आशा पनि पलाएको छ । र, अहिले निर्माण कार्य अघि बढिरहँदा यसको छाँटकाँट मज्जाले देखिएको छ ।’

पृष्टभूमि
हुलाकी राजमार्ग अन्तर्गतको एक हजार चार सय ४० किमि सडक भारतले बनाइदिने १० वर्षअघि ४ जुन २००६ मा भारत सरकार र नेपाल सरकारबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । समझदारीअनुसार भारत सरकारले नेपाल सरकारबाट छनोट भएका एक हजारर चार सय ४० किमि सडकको डिजाइन, सुपरीवेक्षण र निर्माण तीन चरणमा सम्पन्न गर्ने र सो बापत लाग्ने सम्पूर्ण खर्च बेहोर्ने तय थियो । जस अनुसार विभिन्न प्रक्रियापछि भारत सरकारकै सुपरीवेक्षणमा पहिलो चरणमा ६ सय सात किमि सडक निर्माण थालिएको थियो ।

सडक विभागको अभिलेखअनुसार जग्गा प्राप्तिमा समस्या, स्थानीय अवरोध र ठेकेदारको लापरवाही लगायत कारणले ८९ किमि मात्र पहिलो चरणमा बन्न सक्यो । पहिलो चरण अन्तर्गत बाँकी रहेको पाँच सय १८ किमि सडकको पुरानो ठेक्का रद्द भएपछि भारतले नेपाललाई नै योजना कार्यान्यवन गर्ने गरी पाँच अर्ब भारतीय मुद्रा (आठ अर्ब नेपाली रुपैयाँ) दिने २० फ्रेब्रुअरी २०१६ मा नयाँ समझदारी भएको थियो । सोही अनुसार अहिले नयाँ ठेक्का भएर यतिखेर काम अघि बढ्दै छ । दोस्रो चरण अन्तर्गत ११५२.५ किमि सडकको विस्तृत योजना खाका (डिपिआर) बनाउनेसम्म मात्र पुगेको छ ।

अहिले पर्सा, बारा र रौतहट जिल्लामा हुलाकी सडक निर्माण कार्यान्वयन गराउने जिम्मा हुलाकी सडक योजनाको वीरगन्जस्थित कार्यालयले पाएको छ । ‘पर्सामा हुलाकी सडक योजन अन्तर्गत प्रतिमा चोकदेखि ठोरीसम्म ६० किमि सडक दुई प्याकेजमा बन्न लागेको छ । बारामा भने प्रतिमा चोकदेखि अडुवा खोलासम्म ३६ किमिको दुइटा प्याकेज छ । प्रतिमा चोकदेखि बरियारपुरसम्म २० किमिको एउटा र बरियारपुरदेखि अडुवासम्म १६ किमिको अर्को, त्यस्तै रौतहटमा अडुवादेखि बागमतिसम्म १८.११ किमि,’ योजनाका प्रमुख रहेका डिभिजनल इन्जिनियर अनुठालाल पटेलले भने, ‘हुलाकी सडकमा चौतर्फी बराबर नभए पनि प्याकेजअनुसार फरक फरक भौतिक प्रगति छ, पर्सामा भने प्रतिमा चोकदेखि सेढवासम्मको प्याकेजमा राम्रो प्रगति देखिएको छ ।’

बहुअर्वा चोक नजिक पाँच सय मिटर सडकमा स्थानीयले मुआब्जा बढाउन माग गर्दै अवरोध गरेपछि काम हुन नसकेको उनले बताए । १५–१५ मिटर चौडाइ भएको दुई लेन कालोपत्रे सडक बनाउने काम ३० महिनाभित्र पूरा गर्ने विभाग र ठेकेदार कम्पनीबीच सम्झौता छ । सबभन्दा जटिल मानिएको प्रतिमा चोकदेखि सेढवासम्मको खण्डमा काम थालेको निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनका कार्यकारी निर्देशक सुमित रौनियारले आफूहरुले बेलैमा काम सम्पन्न गर्ने लक्ष्य लिएको बताए ।

ग्रामीण भेगको विकासका लागि निकै महŒवपूर्ण मानिएको यो सडकबाट पर्साका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने छन् । सँगै यसले रौतहटदेखि चितवनसम्मलाई वैकल्पिक मार्गको रुपमा जोड्ने छ । बारा र रौतहटका सडक खण्डको निर्माण पनि हुलाकी राजमार्ग योजनाभित्र छ । परियोजनाको प्राविधिक कन्सल्ट्यान्ट भारतीय कम्पनी नेसनल हाइवेज एन्ड इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कर्पोरेसन लिमिटेडले सुपरीवेक्षण गरिरहेको छ । यसैबीच सोमबार नेपाल र भारतका सरोकारवालाको संयुक्त टोलीले योजना निर्माण कार्यको प्रगतिबारे स्थलगत अनुगमन गरेको छ ।

सांसद हरिनारायण रौनियार, पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह, भारतीय महावाणिज्यदूत बिसि प्रधान, हुलाकी योजना कार्यालय वीरगन्जका प्रमुख पटेल, प्रहरी उपरीक्षक गणेश रेग्मी, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय पर्साका उपरीक्षक शान्तिकुमार कार्की र योजना सुपरीवेक्षण गरिरहेका प्राविधिक कन्सल्टेन्ट, पप्पु कन्स्ट्रक्सनका प्रमुख योजना इन्जिनियर इब्राहम जोसवासहितको टोलीले योजना अनुगमन गरेको हो ।

 

प्रकाशित: ३ फाल्गुन २०७४ ०१:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App