५ वैशाख २०८१ बुधबार
राजनीति

‘एकीकृत पार्टीको नेतृत्वमा सरकार’

काठमाडौं- नेकपा माओवादी केन्द्रको सचिवालय बैठकले एकीकृत पार्टीकै नेतृत्वमा सरकारमा जाने निर्णय गरेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको बैठकले एमाले र माओवादीको तर्फबाट सरकारमा प्रतिनिधित्व नगरी एउटै पार्टीको तर्फबाट सरकार बनाउने निर्णय गरेको माओवादी नेता दिनानाथ शर्माले बताए। 'दुई पार्टीको तर्फबाट नभइ एउटै पार्टीको तर्फबाट सरकारमा जाने निर्णय भएको छ', शर्माले भने, 'एकता घोषणा गरेर सरकार बन्छ।'

माओवादीले सरकार र पार्टीमा आलोपालो नेतृत्व गर्ने समेत निर्णय गरेको छ। पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्नेमा माओवादी नेताहरु सहमत भएका छन्।

नयाँ बन्ने पार्टीमा वैचारिक काम गर्न समिति बनाउने भएका छन्। उक्त कमिटी विद्यान र वैचारिक दिशाबारे काम गर्ने छ। यस्तै संगठनात्मक काम गर्न कार्यदल बनाउने र उक्त कार्यदलले दुई पार्टीका नेताहरुको कार्य विभाजन लगायतका विषय हल गर्ने छ।

अहिले पार्टी एकता संयोजन समितिको बैठक बसिरहेको छ। संयोजन समितिको बैठकले दुई कार्यदल निर्माण गर्ने सम्भावना रहेको एक नेताले बताए।

संयोजन समितिको बैठक पछि एकताको सन्देश दिने गरी दुई पार्टीका शीर्ष नेताले घोषणा गर्ने समेत कार्यक्रम रहेको छ। यता एमाले बैठकले पनि प्रधानमन्त्रीको उम्मेदवार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बनाउने निर्णय गरेको छ। पार्टी एकता र सरकार निर्माणबारे निर्णय लिन बसेको एमाले बैठकले पार्टी र सरकारको नेतृत्वमा आलोपालो गर्ने समेत निर्णय गरेको छ।

 

प्रकाशित: २ फाल्गुन २०७४ १०:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App