७ वैशाख २०८१ शुक्रबार
समाज

आकाश अधिकारी–क्लाउडीया फाजियोः प्रेमिल र बुझ्झकी जोडी

तस्बिर: कृष्पा श्रेष्ठ

ग्ल्यामर दुनियाँमा रमाइरहेको नेपाली ठिटोको इटालियन युवतीसँग कसरी सम्बन्ध जोडियो ? कसरी प्रेम फक्रियो ? कसरी बिहे भयो ? आकाश र क्लाउडीयाको प्रेम कहानी कम रोचक छैन । 

सुटिङमा जुरेको भेट 
सन् १९९९ तिर आकाश आफ्नो दोस्रो फिल्म ‘दाग’को सुटिङमा व्यस्त थिए । फिल्ममा आकाशले जस्मिन गुरुङलाई बाल कलाकार राखेका थिए जसको अध्ययनमा क्लाउडीयाले आर्थिक सहयोग पुर्याइरहेकी थिइन् । विश्वभाषा क्याम्पस (काठमाडौं) मा नेपाली भाषा पढिरहेकी क्लाउडीया एक दिन कलंकीनजिकै ‘दाग’को सुटिङस्थलमा गएकी थिइन्, जस्मिनलाई भेट्न । त्यहीँनेर उनको भेट भयो– आकाशसँग । चिनजानको क्रममा विदेशी अनुहार भएकाले आकाशले थोरै अंग्रेजी टोन निकाल्न खोजे, ‘हेलो’ । जवाफ आयो नेपालीमा– ‘नमस्ते’ ।  क्लाउडीयाको नेपाली सुनेर पहिलो भेटमै आकाश लोभिएछन् । ‘मैले एक्सन–कट भनिरहँदा त्यतिबेला क्लाउडीयाले खुब घुरेर हेरेकी थिइन्, मैले पनि खुब ख्याल गरेको थिएँ,’ आकाशले अझै बिर्सेका छैनन् त्यो पहिलो प्रेमिल भेट । 

 फिल्म निर्माता/निर्देशक आकाश अधिकारीले इटालीकी क्लाउडीया फाजियोसँग बिहे गरेको १६ वर्ष पुगिसक्यो । धर्मले आकाश हिन्दु र क्लाउडीया क्रिस्चियन हुन् तर उनीहरुको प्रेमअघि देश, धर्म, संस्कार, संस्कृति सबै फिक्का लाग्छन् । सफल दाम्पत्यसम्बन्धी उनीहरुको एउटै सूत्र छ– इगो कम, प्रेम ज्यादा। 

पहिलो डेटिङ 
उनीहरुको पहिलो भेट जति नै प्रेमिल भए पनि त्यसपछिको केही महिनासम्म उनीहरुको भेट भएन । आकाशलाई लाग्छ, त्यसमा दुवैको ‘रिजर्भ’ स्वभाव पनि एउटा कारण हो । ‘हामी दुवै हत्तपत्त कसैसँग नभेट्ने÷नबोल्ने टाइपका परेछौं । कसैले नराम्रो पो सोचिहाल्छ कि भन्ने डर मनमा राख्थ्यौँ,’ उनले भने, ‘त्यसैले लामो समय भेट भएन । पछि फिल्मको डबिङको बेला जस्मिनलाई भेट्न क्लाउडीया आइन् । त्यहीँनेर ल्यान्डलाइन टेलिफोन नम्बर आदानप्रदान भयो । फोनमा कुराकानी हुन थाल्यो । अनि तय भयो हाम्रो पहिलो डेटिङ ।’ कहाँ र कसरी ? ‘मैले भेटेर कफी खाऊँ भन्दै उनलाई डेटको अफर गरेको थिएँ । दरबारमार्गको नाङ्लो रेस्टुराँको चाइनिज रुममा बसेका थियौं । त्यतिबेला भएको ‘सुगर एक्सिडेन्ट’ म कहिल्यै बिर्सन्नँ ।’ 

 कस्तो सुगर एक्सिडेन्ट ? आकाश खुल्दै गए, ‘कफीमा सुगर (चिनी) हाल्नै लागेको थिएँ, अत्तालिएर हातमा लागेर चम्चा सुइय उड्यो, चिनी पोखियो । उनी मुसुक्क हाँसिन् । उनको हाँसोले मलाई खुल्न सहज बनायो । प्रस्टसँग भनौं न, प्रेमको संकेत गर्यो ।’ 

आकाशले यति भनेपछि क्लाउडीया फेरि मुस्कुराइन् । अनि उनकै कुरामा सहमति जनाउँदै बोलिन्, ‘त्यतिबेला भेट भा’को अहिलेसम्म छुटेका छैनौं ।’ उनले त्यतिबेला आफूहरुबीच पारिवारिक र व्यक्तिगत गफ बढी भएको बताइन् । भेट भएको ६ महिनापछि उनीहरुको प्रेम सम्बन्ध सुरु भएको रहेछ । ‘लभ परेको दुई वर्षपछि बिहे भएको हो हाम्रो,’ क्लाउडीयाले भनिन् । उनीहरुको सन् २००२ मा बिहे भएको थियो ।

पहिलो भेटको ६ महिनापछि आकाश–क्लाउडीया नजिकिए । नजिक बनाउन आकाशको नयाँ फिल्म ‘पक्षी’ले पनि मद्दत गर्यो । कसरी ? आकाश भन्छन्, ‘उनलाई पनि पर्दा पछाडिको काममा रुचि थियो । ‘पक्षी’को स्क्रिप्टदेखि सुटिङसम्म मसँग सहकार्य गरिन् । मेरो गाउँ (नवलपरासी)तिर सुटिङ थियो । त्यहाँ मेरो फेमिलीसँग पनि उनको भेट भयो । सामीप्य बढ्दै गयो ।’ 

अफेयरमा रहेको २ वर्षपछि आकाशबाटै बिहेको प्रस्ताव भयो । ‘एकदिन मैले उनलाई ‘अब हामी बिहे गर्यौ भने के हुन्छ ?’ भनेर सोधेँ,’ आकाशले सम्झिए, ‘त्यसपछि उनी बेस्कन हाँसिन्। किन हाँसिन् भनेर मलाई कौतुहलता भयो । ’ त्यसपछि के भयो ? क्लाउडीयाले मुन्टो मात्रै हल्लाइन्, जवाफ आकाशले नै दिए, ‘घर सल्लाह गर्छु अनि गरौँला भनेर उनले टेबलबाटै प्रस्ताव स्वीकार गरिन्।’ अहिले उनीहरुको १३ वर्षकी छोरी छिन्– आरजुइशा अधिकारी ।

केले लोभ्यायो ? 
क्लाउडीयालाई त्यतिबेला आकाशको केले लोभ्यायो होला जसका कारण उनी उनलाई निःसर्त प्रेम गर्न थालिन् ? ‘दुइटा कुराले लोभ्यायो,’  क्लाउडीया सम्झिन्छन्, ‘उहाँको धैर्य गर्ने स्वभावले लोभ्याएको हो । जतिसुकै प्रेसरमा काम भइरहेका बेला पनि सुटिङ सेटमा उहाँ एकदमै धैर्य र नरम भएर मान्छेहरुसँग कुरा गर्नुहुन्थ्यो । म हेरेको हे¥यै हुन्थेँ ।’ यति भनेर एकछिन रोकिइन् उनी अनि आकाशलाई हेरेर फेरि बोलिन्, ‘तर उहाँ अहिले पहिलेजस्तो धैर्य हुनुहुन्न ।’ आकाश गलल हाँसे । ‘रिस त अहिले पनि उठ्दैन है मलाई,’ क्लाउडीयाको कुरामा असहमति जनाउन खोजे आकाशले । क्लाउडीयालाई पर्दापछाडि हुने काममा पहिल्यैदेखि रुचि रहेछ । त्यसैले आकाशको फिल्म निर्देशन गर्ने शिल्प पनि उनलाई मनपर्दो रहेछ । 

 पालो आकाशको आयो । ‘उनी मन पर्नुको मुख्य कारण चाहिँ विदेशी भएर पनि नेपाल, नेपाली भाषा र नेपाली संस्कृतिप्रति उनले देखाएको प्रेम नै हो,’ आकाशले भने, ‘कतिले मलाई सोध्थे– ‘फरेनरसँग बिहे ? मलाई भने कहिल्यै ऊ सात समुन्द्रपारिको भन्ने महसुस भएन । नेपालमै हुनेहरु नेपालीभन्दा बढी विदेशी कल्चर पछ्याइरहेको बेला उनी त मेरो कल्चर पछ्याइरहेकी थिइन् । इटालीबाट ट्रेकिङ गर्न आएकी थिइन्, नेपाल र नेपाली कल्चर मन परेर यतै पढ्न बसिन् । उनको यस्तै कुराले मलाई भुतुक्कै बनायो ।’  

आकाश–क्लाउडीयाको त्यतिबेला बढी नेपाली र अंग्रेजी भाषा मिसाएर गफ गर्थे । ‘अहिले त उनले धेरै नेपाली जानिसकिन्, बरु मैले इटालियन भाषा सिकेको छैन, छोरीले त दुवैको सिकिसकिन्,’ आकाशले सुनाए । त्यसो त क्लाउडीयाले नेपाली भाषा सिकेको कुरा त त्यतिबेलाको माहोलले पनि पुष्टि गरिसकेकै थियो । 

अन्तरदेशीय बिहे कति सहज? 
आकाशले क्लाउडीयालाई जतिबेला बिहे गरे, त्यतिबेला स्वदेशभित्रै अन्तरजातीय प्रेमको हिम्मत कमैले गर्थे । झन् उनको प्रेम त अर्कै देशकी युवतीसँग थियो, त्यो पनि अर्कै धर्म मान्ने थिइन् । बिहे गर्न कति कठिन भयो होला ? सुरुमा क्लाउडीयाले जवाफ दिइन्, ‘मलाई त त्यति गाह्रो भएको थिएन । श्रीमान्–श्रीमतीबीच प्रोब्लम त जुनसुकै देशमा पनि हुन्छ, संघर्ष त जहाँ पनि हुन्छ । मुख्य कुरा मान्छेको क्यारेक्टर (चरित्र) कस्तो छ भन्ने हो । हाम्रो खास समस्या धर्ममा हुन सक्थ्यो । म क्रिस्चियन, ऊ हिन्दु तर हामी दुवै एकअर्काको धर्मप्रति नरम रुपमा प्रस्तुत भयौँ । एकअर्काको धर्मलाई सधैँ उच्च सम्मान ग¥यौँ, दुवैको धर्मलाई मान्न मिल्नेसम्म मान्यौँ ।’

आकाशको नजरमा क्लाउडीया 

  • एकदमै राम्री छिन् । 
  • समझदार छिन । 
  • जिम्मेवार छिन् । 
  • जेलियस हुने र ठुस्स रिसाउने बानी मनपर्छ
  • एकदमै केयर गर्छिन् मेरो । 
  • झडंग रिसाउने बानी सुधारे हुन्थ्यो । 

अर्को कुरा, क्लाउडीयाको सुरुदेखि नै ससुरासँग खुब ग्रह मिल्छ रे ! सुनाउँदै थिइन्, ‘नवरपरासी जाँदा पहिलो भेटमै उहाँसँग ग्रह मिलेको थियो । सुटिङको पहिलो दिन नै बुबाले ‘तपाईं आकाशलाई हेर्नुस्, तपाईं राम्रो हुनुहुन्छ’ भनेर प्रशंसा गर्नुभएको अझै याद छ । अहिले उहाँ ८० वर्ष पूरा भइसक्नुभयो । हामीसँगै बस्नुहुन्छ । मलाई छोरीजस्तै व्यवहार गर्नुहुन्छ ।’ 

क्लाउडीयाको नजरमा आकाश 

  • नरम दिलको (सफ्ट हार्टेड) हुनुहुन्छ ।
  • एकदमै क्रिएटिभ हुनुहुन्छ ।
  • ह्यान्डसम् त भनिरहनु नपर्ला !
  • टाइममै नखाने, टाइममै नसुत्ने बानी सुधारे हुन्थ्यो ।
  • जति नै बिजी भए पनि फेमिलीलाई अलि बढी टाइम दिए हुन्थ्यो । 
  • तनाव कम लिए हुन्थ्यो ।

आकाश पनि अन्तरदेशीय बिहे गर्दा आफूले कुनै कठिन अवस्था खप्नु नपरेको बताउँछन् । ‘मलाई लाग्छ संसारमा सबैभन्दा ठूलो कुरा भनेकै मानवता हो,’ उनले भने, ‘स्वभाविक रुपमा म हिन्दु हुँ, उनी क्रिस्चियन हुन् तर पनि सबैभन्दा ठूलो कुरा मानवता हो । हामी दुवै एकअर्काको धर्मप्रति कठोर भएनौँ । अझ भन्नुपर्दा म भन्दा राम्रोसँग क्लाउडीयालाई पूजा गर्न आउँछ । तिहारमा उनी लक्ष्मीपूजा धेरै भव्य तरिकाले गर्छिन् । बिहे गर्नुअघि लक्ष्मीपूजाको दिन उनले मलाई घर बोलाएकी थिइन् । उनले जसरी लक्ष्मीलाई सजाएकी थिइन्, जुन भव्य दिपावली गरेकी थिइन्, त्यो देखेर म त चकितै भएको थिएँ । बाहिरको मान्छेले मेरो धर्म, मेरो पर्व, मेरो संस्कृति यसरी मनाएको देख्दा को चकित हुन्न र ?’ 

क्लाउडीया हाँसिन् अनि सहमति जनाउँदै बोलिन्, ‘हो, त्यतिबेला हि वाज भेरी इम्प्रेस्ड विद मी ।’ 
यो जोडी दुवैको धर्मलाई उत्तिकै सम्मान गर्छ । दुवै चर्च र मन्दिर जान्छन् । ‘हामी दुवैलाई चर्चको शान्त संगीत र मन्दिरको घन्टीको आवाज दुवै प्यारो लाग्छ,’ आकाश सुनाउँदै थिए । 

आकाशसँग बिहे गरेपछि क्लाउडीयाको मनमा खड्किएको एउटै मात्र कुरा छ– समय । यत्तिकैमा घुमघामको कुरा निस्कियो र क्लाउडीयाले एकछिन सुनाउँ कि नसुनाउँझैँ गरिन् । त्यसपछि सबै राम्रोमात्रै के भन्नु, केही त मनमा लागेर कुरा पनि भन्नुप¥यो भन्दै उनले गुनासो पोखिन्, ‘यहाँ र त्यहाँको अलिकति फरक कुरा भनेको घुमघाम हो । हाम्रो युरोपतिर विकेन्ड कल्चर अनिवार्य हुन्छ । हप्तामा दुइ दिन फेमिलीलाई टाइम जोसुकैले निकालेको हुन्छ । वर्षमा दुइचोटी होलिडे गएकै हुन्छ, नत्र माइन्ड रिफ्रेस हुँदैन भन्ने मान्यता राखिन्छ । यहाँ भने त्यस्तो छैन ।’ 

आकाशले उनको कुरामा आधा सहमति जनाएजस्तो गरे र भने, ‘त्यति साह्रो पनि होइन । भ्याएसम्म घुमेकै छाँै । तीन वर्ष भयो उनलाई अमेरिका जाउँ भनेको मान्दै मान्दिनन् । म केही काम पनि लिएर जान खोज्छु उनी बिना काम मात्रै जान चाहन्छिन् ।’

ती भ्यालेन्टाइन्स डे
प्रेमको सम्मानमा विश्वभर फेब्रुअरी १४ मा भ्यालेन्टाइन्स डे मनाइन्छ । यो दिनसँग आकाश–क्लाउडीयाको ठूलो सम्बन्ध छ अनि धेरै सम्झनाहरु छन् । उनीहरुले पहिलो भ्यालेन्टाइन्स डे काठमाडौं, दरबारमार्गको याक एन्ड यती होटलमा मनाएका थिए । जहाँ थाहै नपाई, बेन्ट डान्स कपलका रुपमा पुरस्कृत भएका थिए । कसरी ? क्लाउडीयाले सुनाइन्, ‘प्रोगाममा ढिलोगरी पुगेका थियौँ । डिस्को पार्टीमा राम्रैगरी नाचिरहेका थियौँ । एकाएक स्टेजबाट घोषणा भयो– ‘द विनर इज ड्याट कपल इन द कर्नर ।’ हामी भएको कर्नरतिर देखाएपछि हामीले पछाडि फर्केर हे¥यौँ । कोही थिएनन् । खासमा विनर त हामी नै पो रहेछौँ ! एकछिन त हाँसेको हाँसेकै भइयो । अनि प्राइज थापियो ।’

बिहे गरेको दुई वर्षपछि बैंकक गएर मनाएको भ्यालेन्टाइन्स डे पनि उनीहरु कहिल्यै बिर्सन्नन् । किन त ? ‘हामी त्यतिबेला दुई तीन वटा टापु पार गरेर एउटा एकान्त आइल्यान्ड (द्विप)मा गएर बसेका थियौँ जहाँ केही पनि पाइँदैनथ्यो,’ आकाशले सम्झिए, ‘त्यो दिन आज भ्यालेन्टाइन्स डे भन्ने थाहा पाएपछि म बिहानै उठेर क्लाउडीयालाई एक्लै छाडेर बोट चढेर अर्को आइल्यान्ड पुगेँ । मलाई नदेखेर क्लाउडीयाले ठूलो खोजिनिती गरिछन् मात्र होइन, रुवाबासी नै चलेछ । चार घण्टापछि फर्कंदा त उनी रिसाएर बमबम भइन् । इभिनिङ पार्टी सुरु भएपछि जब मैले ‘ह्याप्पी भ्यालेन्टाइन्स डे’ भन्दै गुलाबको गुच्छा झिकेर हातमा थमाइदिएँ उनी त छक्कै परिन् । उनको आँखाभरि आँसुको झझल्को अझैसम्म छ । त्यो क्षण हाम्रो जीवनकै एउटा मीठो क्षण हो किनभने म एउटा गुलाबका लागि चार घण्टा गायब भएको थिएँ ।’

‘मेरो दाहिने हात’ 
आकाश अहिले नेपाल चलचित्र निर्माता संघका अध्यक्ष छन् । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पनि हुन्, उनी । रेड स्टुडियो पनि चलाउँछन् । फिल्म निर्देशन÷निर्माण पनि गर्छन् । एकदमै व्यस्त हुन्छन् । उनको यो व्यस्ततामा भरपुर साथ दिएकी छन्, श्रीमती क्लाउडीयाले । आकाश यो कुरा खुलेर स्वीकार्छन् । भन्छन्, ‘म सुटमा हुँदा अफिसमा केही समस्या हुँदैन । अफिसको व्यवस्थापन पूरै हेर्ने गर्छिन् । ऊ बिना म अधुरो छु । ऊ नभएको भए म चाहेर पनि अहिलेजस्तो ‘स्पिरिट’मा काम गर्न सक्दिनँ थिएँ । मेरो दाहिने हात नै उही हो । त्यसैले म प्राउड्ली भन्छु, मेरो सफलतामा उनको ठूलो हात छ ।’

‘इगो कम गर्नुपर्छ’
आकाश–क्लाउडीयाको १६ वर्षदेखिको वैवाहिक सम्बन्धको अनुभवले उनीहरुलाई के सिकायो त ? क्लाउडीया भन्छिन्, ‘सम्बन्ध बलियो बनाउन एकअर्काको इगो कम गर्नुपर्छ, एकअर्कालाई बुझ्नुपर्छ अनि शंका फिटिक्कै गर्नुहुन्न ।’ उता आकाशलाई पनि त्यस्तै लाग्छ । भन्छन्, ‘हो, एकअर्कालाई बराबर सम्मान गर्नुपर्छ, इगो कम गर्नुपर्छ । उसको सफलता मेरो हो, मेरो सफलता उसको हो भन्ने ठान्नुपर्छ ।’

‘प्रेमिल र बुझ्झकी जोडी’ 
आकाश र क्लाउडीया आफ्नो जोडीलाई ‘लभ्ली एन्ड अन्डस्टेन्डिङ –प्रेमिल र बुझ्झकी जोडी)’ भन्न रुचाउँछन् । ‘जति नै टेन्सन भए पनि हामी एकअर्काप्रति निःसर्त प्रेम गरिरहन्छौं, साथ छोड्दैनौँ,’ आकाशले भने । उता क्लाउडीयाले पनि थपिन्, ‘हो, हामी बाहिरको कुरा धेरै सुन्दैनौ । कहिलेकाहीँ बाहिरको मान्छेले नै कुरा बिगार्दिन्छन् । त्यसैले हाम्रा कुरामा भएका मतभेद पनि दुईबीच नै सल्लाह गर्छौं, बाहिर गर्दैनौँ ।’ 

प्रकाशित: २ फाल्गुन २०७४ १०:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App