७ वैशाख २०८१ शुक्रबार
विचार

रोमान्टिक लभको समाजशास्त्र

फेबु्रअरी १४ । पछिल्ला वर्षहरूमा संसारभरका रोमान्टिक प्रेमी–प्रेमिकाका लागि यो दिन महाउत्सव जस्तै बन्दो छ। त्यसैले यस सन्दर्भमा मायाको बारेमा निकै बहस चल्ने नै भयो । धेरैले बहसमा तर्क गर्नेछन्, माया आफैँ हुन्छ। लोभ, स्वार्थ, मोहभन्दा माथि हुन्छ माया । मायालाई धन सम्पत्तिले छेक्दैन । जात, धर्म, वर्ण, वर्ग, क्षेत्रले केही फरक पार्न सक्दैन । यो दुई आत्माको आकर्षण र मिलनको उच्चतम रूप हो । दुई आत्माको आकर्षणलाई रोक्न सक्ने तागत संसारमा कसैसँग छैन । अर्थात् प्रेम स्वच्छन्द हुन्छ । यो स्वतः र स्वतन्त्र हुन्छ । अनन्त हुन्छ । यस्तै तर्क भेटिन्छन् धेरैजसोका। 

तर के साँच्चै माया आफैँ हुन्छ ? के माया स्वतः हुने कुरा हो ? के युवक युवती रोमान्टिक प्रेम गर्न पूर्णतः स्वतन्त्र छन् ? के सधैभरि यस्तो प्रेममा स्वतन्त्रता थियो ? प्रेम दुई आत्माको स्वतः आकर्षणबाट सुरु हुन्छ वा यसलाई प्रभाव पार्ने अन्य केही सवाल पनि हुन्छन् ? यो लेख यसै सवालमा केन्द्रित छ । यस लेखमा माया वा प्रेम भन्ने शब्दले युवकयुवतीको बीचमा हुने ‘रोमान्टिक लभ’लाई समेटेको छ। 

रोमान्टिक लभ सार्वकालिक र सर्वव्यापी कुरा होइन । यो समाज विकासको खास अवस्थाले निर्माण गरेको हो । कोही पनि प्रेमी वा प्रेमिका छनौट गर्न स्वतन्त्र छैन । ‘पिरती आफैँ हुँदो रैछ’ जस्ता गीतहरू सुनाइयो । त्यसैले हामीलाई लाग्यो कि हामी रोमान्टिक लभ गर्न पूर्णतः स्वतन्त्र छाँै । तर यथार्थता के हो भने माया आफैँ हुँदैन । 

समाजशास्त्रको आधारभूत सवाललाई ध्यानमा राखेर हेर्ने हो भने माया÷प्रेम र विवाह न विश्वव्यापी र सार्वकालिक कुरा हो न त स्वतः नै हुन्छ । माया र विवाह भन्ने कुरा इतिहासको खास समय र स्थानको उपज हो । विवाह त खासगरी व्यक्तिगत सम्पत्तिको अवधारणाको उदय भएसँगै सुरुवात भएको अवधारणा हो । यसैगरी मागी विवाह तथा प्रेम विवाह पनि त्यस्तै सामाजिक परिस्थिति तथा अवस्था र समयमा सुरु भएको अवधारणा हो । एउटा सानो उदाहरण हेरौँ, कृषि पेसामा आबद्ध भएको समाजमा प्रेम विवाह लगभग असम्भव हुुन्छ । त्यस्तो समूहमा विवाह त हुन्छ तर परिवारले खोजिदिएको केटी वा केटासँग परम्परागत ढंगबाट मात्रै । अहिले पनि कृषिमा आबद्ध हाम्रो गाउँघरमा भइरहेको एरेन्ज म्यारिज यसैको उपज हो । तर सहरी क्षेत्रमा लगभग यसरी परम्परागत शैलीमा मागी विवाह अब असम्भव बन्दै गइरहेको छ । यहाँ आफ्नो जीवनसाथी आफैँ खोज्नुपर्ने बाध्यता केटा वा केटीलाई आइपरेको छ । यसरी आफैँले आफ्नो जीवनसाथी खोज्नुपर्ने बाध्यता हुँदा ‘रोमान्टिक लभ’ गर्नैपर्ने बाध्यतामा केटा वा केटी रहन्छन् । यसको मतलब रोमान्टिक लभ खास सामाजिक प्रणाली तथा अवस्था र संरचनाको उपज हो । 

एकजना विद्वान् ए जे म्याकफारलेनले आफ्नो लेख ‘लभ एन्ड क्यापिटालिज्म’ अर्थात् माया र पुँजीवादमा रोमान्टिक लभ पुँजीवादको उपज भएको तर्क गरेका छन् । द्रुतगतिमा भइरहेको औद्योगिक विकास, सहरीकरण र पुँजीवाद झाँगिदै गएको समाजमा रोमान्टिक लभ बढ्दै जाने उनको तर्क छ । उनी लेख्छन्, “रोमान्टिक लभ र लभ म्यारिज भन्ने कुरा औद्योगिक क्रान्ति र सहरीकरणको साइड इफेक्ट हो ।” यसैगरी अर्का विद्वान् केइथ थोमस रोमान्टिक लभलाई कमजोर किमिसको सामाजिक तथा पारिवारिक सम्बन्धको उत्पादनका रूपमा लिन्छन् । अर्का विद्वान् तथा प्रसिद्ध मानवशास्त्री रेडक्लिफ ब्राउन लभ म्यारिजलाई विशिष्ट सामाजिक विकासको उत्पादनका रूपमा व्याख्या गर्छन् । उनका अनुसार विवाहसम्म पुग्ने रोमान्टिक लभ आधुनिकीकरण र पुँजीवादको विशिष्ट उत्पादन हो। 

विश्व इतिहासलाई मिहिन रूपमा केलाउने हो भने मूलतः १६आैँ देखि १९औँ शताब्दीसम्मको युरोपको उथलपुथलको परिणाम ‘व्यक्तिवादिता’को विकास हो । यस समयमा युरोपमा परम्परागत रूपमा रहेका नातासम्बन्धमा आश्रित हुने व्यक्ति त्यसबाट रूपान्तरित भए । यसै समयमा युरोपमा झाँगिएको पुँजीवादले परम्परागत नातेदारीमा आश्रित समाजलाई पूर्णतः विनिर्माण गरिदियो । यससँगै हुर्किएको आधुनिक पुँजीवादी प्रणालीको जगमा युरोपमा व्यक्तिवाद झाँगियो । यसै समयमा निजी सम्पत्तिको अवधारणाले शिखर चुम्यो । उत्पादन र उपभोगको आधारभूत एकाइका रूपमा रहेको परिवारको पुरातन स्वरूप भत्कियो । व्यक्ति आफ्नो नाता सम्बन्ध तथा परिवारको बन्धनबाट मुक्त हुँदै गयो । गुजारामुखी र वस्तु विनिमयको युग सकियो । पैसामा आधारित अर्थतन्त्रको उदय र वृद्धि भयो । अर्मपर्म जस्ता विनिमययुक्त श्रमप्रणालीको अवसानसँगै ज्यालामा आधारित श्रमको विकास भयो । आधुनिक उद्योग कलकारखानामा आधारित उत्पादनको विकास भयो । संसारभर सहरको संख्या द्रुतगतिमा बढ्दै गयोे । कृषिमा आधारित गुजारामुखी समाजको अवसान हुँदै गयो भने पुँजी र ज्यालामा आधारित औद्योगिक र पुँजीवादी समाजको संख्या बढ्दै गयो । व्यक्तिले आफ्नो गाउँघरमा रोजगारी गुमाउँदै गयो । अरू कलकारखाना तथा उद्योगधन्दामा त्यसको सम्भावना देख्न थाल्यो । 

यही समयमा बसाइँसराइ तीव्र भयो । यसरी सर्दा परिवारै नभई हरेक व्यक्ति एक्लै थातथलो छाडेर शिक्षा, रोजगारीको अवसरको खोजीमा हिँड्यो । योसँगै मामाचेला फुपूचेला विवाह मासिँदै गयो किनकि परिवारबाट छुट्टिएसँगै व्यक्ति परिवारको नियन्त्रणबाट मुक्त भयो । अनि उसका लागि केटी वा केटा खोजिदिने आफन्त तथा नातेदार पनि भएनन् । उसको मनका वह पोख्ने वा भावना साटासाट गर्ने आफन्त, नातेदार वा अन्य कोही व्यक्ति सँगै भएनन् । खासमा यही विन्दुबाट संसारमा रोमान्टिक लभको अवधारणाले प्रवेश पायो । औद्योगिक क्रान्तिले यस अवस्था सृजना गरिदियो । त्यसपछि १८ आँै शताब्दीको अन्त्यतिर भएको फ्रान्सेली राज्य क्रान्तिले मजदुरलाई निश्चित समय काम, मनोरञ्जन र आरामको अवधारणालाई संस्थागत गर्‍यो । त्यसपछि हप्तामा निश्चित दिन काम गरेपछि निश्चित दिन वा समय आराम तथा मनोरञ्जन गर्न पाइने भयो । अनि व्यक्ति रोमान्टिक लभ गर्न थाल्यो । हो, रोमान्टिक लभ, यसैको उपज हो । कुनै स्वतः पाइएको अवस्था होइन।  

एकजना विद्वान् स्टोनको तर्कमा अठारौँ शताब्दीभन्दा अगाडिसम्म रोमान्टिक लभ सुरु नै भएको थिएन । उनका अनुसार त्यस बेलासम्म समाजमा असुरक्षा र मृत्युदर अत्यधिक थियो, जसले मान्छेमा माया र आकर्षणलाई बढाउँदैनथ्यो, बरू घटाउँथ्यो । उनी भन्छन्, “गरिबीमा भावना र माया हुर्कन सक्दैन ।” उनको यो तर्क माथि व्यापक आलोचना भएको छ । यद्यपि मृत्युदर तथा असुरक्षा धेरै भएको समाजमा रोमान्टिक लभ हुर्कन नसक्नेमा धेरै सहमत छन् । स्टोनको अध्ययनको निष्कर्ष छ, “रोेमान्टिक लभ भनेको सत्राँै तथा अठारौँ शताब्दीमा युरोपमा भएको जनसांख्यिक, औद्योगिक तथा पुँजीवादी क्रान्तिको परिणाम हो।”

अर्का विद्वान् सोर्टरको बुझाइमा पनि भावनात्मक सम्बन्ध र रोमान्टिक लभको जरा भनेको बजारमा आधारित पुँजीवाद नै हो । उनका यसमा तीनवटा तर्क छन् । पहिलो, पुँजीवादले परम्परागत समाजलाई भत्काएर बजारलाई खुला गरिदियो । मानिसको आवतजावत तथा गतिशीलतालाई बढाइदियो । यही समयमा पैसा र बजारको मूल्य–मान्यताले समाजलाई आफ्नो कब्जामा लियो । यससँगै रोमान्टिक लभ हुर्कंदै गयो । दोस्रो, पुँजीवादले मानिसको गुणस्तरीय जीवनमा वृद्धि ग¥यो । स्वास्थ्य, शिक्षा रोजगारीले व्यक्तिमा मायालु भावना बढायो । र तेस्रो भनेको पुँजीवादले परम्परागत ग्रामीण समाजलाई विनिर्माण गरी सहरीकरणको निर्माण सुरु भयो । यी तथ्यलाई मिहिन रूपमा हेर्दा रोमान्टिक लभ भनेको पुँजीवादसँगै सत्रौँ तथा अठाराँै शताब्दीबाट हुर्कंदै आएको अवधारणा हो। 

माथिका तथ्यहरूलाई हेर्दा हाम्रो पहिलेदेखिको मान्यतालाई भत्काउनुपर्ने हुन्छ । वास्तवमा रोमान्टिक लभ सार्वकालिक र सर्वव्यापी कुरा होइन । यो समाज विकासको खास अवस्थाले निर्माण गरेको हो । साथै, कुनै पनि युवक वा युवती प्रेमी वा प्रेमिका छनौट गर्न स्वतन्त्र पनि छैनन् । वास्तवमा हामीलाई गलत कुरा बुझाइएको छ । लामो समयदेखि हामीलाई यस्तै साहित्य पढाइयो । ‘पिरती आफैँ हुँदो रैछ’ जस्ता गीतहरू सुनाइयो । त्यसैले हामीलाई लाग्यो कि हामी रोमान्टिक लभ गर्न पूर्णतः स्वतन्त्र छाँै । तर यथार्थता के हो भने माया आफँै हुँदैन । न त माया गर्ने कुरामा हामी आफैँ पूर्ण रूपमा स्वतन्त्र छौँ । यसलाई प्रभाव पार्ने र निर्धारण गर्ने विभिन्न सामाजिक संरचना तथा सम्बन्ध छन् । नेपालमै पनि हेर्ने हो भने जात, वर्ग, तथा क्षेत्रले मायामा प्रभाव पारिरहेको छ । त्यसैले भन्न सकिन्छ रोमान्टिक लभ गर्न हामी स्वतन्त्र छैनाैँ । रोमान्टिक लभ पनि स्वतः हुँदैन । बरू यो त पुँजीवादको ‘साइड इफेक्ट’ हो।  

प्रकाशित: २ फाल्गुन २०७४ ०३:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App