coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सर्लाहीमा भन्टाको भार र धानको मटका चढाउनेको घुइँचो

सर्लाहीको हरिपुर–७ स्थित लक्ष्मीनाथ मन्दिरमा महाशिवरात्रीका अवसरमा भक्तजनले चढाएका भ्यान्टा । तस्बिर : टंक नागरिक

सर्लाही – महाशिवरात्रीका अवसरमा सर्लाहीको हरिपुरस्थित ऐतिहासिक एवं धार्मिक स्थल लक्ष्मीनाथ महादेव मन्दिर (चितायन मन्दिर) परिसरमा मंगलबार दिनभर भक्तजनको घुइँचो लागेको छ ।

  हरिपुर–७ स्थित मन्दिरमा भ्यान्टाको भार तथा धानको मटका चढाउनका लागि हजारौं भक्तजनको भीड लागेको हो । मुसालगायत छालाको रोग निको हुने विश्वासका साथ हरेक वर्ष महाशिवरात्रीका दिन चितायन मन्दिरमा भ्यान्टाको भार चढाउने प्रचलन छ । त्यस्तै चिताएको भाकल पूरा हुने विश्वासका साथ परालले बाँधेको धानको मटका (मौर) चढाउने भक्तजनको पनि घुइँचो लागेको थियो ।

भक्तजनको भीड लागेका कारण नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित आयोजक समितिका स्वयंसेवकलाई दिनभर भ्याइनभ्याइ भएको थियो ।‘चिताएका कुरा पूरा हुने हुनाले चितायन मन्दिर भनिएको हो’, लक्ष्मीनाथ चितायन महादेव विकास समितिका अध्यक्ष रामकृष्ण चौधरीले भने, ‘तीन सय वर्षदेखि यो मेला लाग्दै आएको छ ।’ भ्यान्टाको भार र धानको मौर चढाउनेसहित एक लाखभन्दा बढी श्रद्धालुभक्तजनले मेला अवलोकन गर्ने उनले बताए ।

मौतका कुवा, विद्युतीय रेल, घोडचढी, रोटेपिङ, सांस्कृतिक कार्यक्रम, सर्कसलगायत अन्य आकर्षणसमेत रहेको मेला ५ गतेसम्म लाग्ने उनले जानकारी दिए । ‘१५ वर्षयता मेलाको समयावधि घटेको हो, नत्र महिना दिनसम्म चल्थ्यो,’ चौधरीले भने, ‘फलामका चीजबीज, डोरीलगायत किन्न थुप्रै पहाडी जिल्लाबाट मानिसहरू झर्थे अनि भारतका ठूला व्यापारीहरू पसल राख्न आउँथे, अचेल त्यस्तो किनबेच भने निकै घटेको छ ।’
मंगलबार भ्यान्टाको भार तथा धानको मटका चढाउने भक्तजनको मन्दिरमा तथा अन्य दिन मेला स्थलमा घुइँचो लाग्ने स्थानीय रामहरि धामीले जानकारी दिए ।

 

प्रकाशित: २ फाल्गुन २०७४ ०३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App