७ वैशाख २०८१ शुक्रबार
अर्थ

इटालियन टेम्पो ‘पियाजो’ बजारमा

काठमाडौं – एमभी दुगड समूहले इटालियन टेम्पो ‘पियाजो’ फागुनबाट नेपाली बजारमा ल्याउने भएको छ । इटालियन कम्पनी पियाजियोको नेपालका लागि आधिकारिक बिक्रेता दुगड समूह बनेको छ।

एमभी दुगड समूहका उपाध्यक्ष विवेक दुगडले पेट्रोल इन्जिन भएको टेम्पो फागुनबाटै बिक्री सुरु हुने बताए । पियाजियो ब्रान्डका एपेसिटी र एपेकार्गो गरी दुई मोडलका टेम्पो नेपाली बजारमा फागुनबाट उपलब्ध हुने दुगडको भनाइ छ।

एमभी दुगडले बजारमा ल्याउन खोजेको एपेसिटी प्यासेन्जर थ्री ह्विलर हो । यसमा चालकबाहेक तीनजना यात्रा गर्न सक्नेछन् । एपेसिटीको मूल्य ५ लाख १९ हजार नौ सय रुपैयाँ पर्ने कम्पनीका उपाध्यक्ष दुगडको भनाइ छ।

उनका अनुसार अन्य ब्रान्डसँग प्रतिस्पर्धाभन्दा गुणस्तरीय सेवा दिनेछन् । एपेसिटीको इन्जिन अन्य टेम्पोभन्दा बलियो हुन्छ । यसको मााइलजे सोचेभन्दा राम्रो रहेको उनले बताए।

एमभी दुगडले बजारमा ल्याउने अर्को एपेकार्गो हो । उनका अनुसार नेपाली बजारका लागि नयाँ मोडल हुनेछ । यो सवारी यात्राका लागि भन्दा पनि सामान ढुवानीका लागि प्रयोग गर्न सकिने छ।

नेपालमा नयाँ डिलरमार्फत कारोबार सुरु गर्न लागेको पियाजियोले दुई वर्षमा नेपाली बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरेको छ । सन् २०१८ मा ३० प्रतिशत बजार हिस्सा ओगट्ने एमभी दुगड समूहले जनाएको छ।
पियाजियो  भेइकल्सका एसोसिएट भाइस प्रेसिडेन्ट सुधांशु अग्रवालले नेपालको सहरीकरण, साँघुरो गल्ली बाटोको लागि उपयोगी हुने बताए । एपेकार्गो हरेक सहरका लागि उपयुक्त साधन भएको अग्रवालले जानकारी दिए।

‘साँघुरा सडकका लागि प्राथमिकतामा पर्ने साधन हो । यो साधन सुरक्षाका हिसाबले पनि सुरक्षित छ,’ उनले नागरिकसँग भने, ‘नेपाली बजारका लागि सस्तोमा बिक्री गर्ने तयारी गरेका छौं ।’  एपेकार्गोको मूल्य पाँचदेखि ६ लाख रुपैयाँसम्म पर्ने उनको भनाइ छ।

 

प्रकाशित: २ फाल्गुन २०७४ ०१:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App