८ वैशाख २०८१ शनिबार
समाज

नियम मिच्ने टिपर कारबाहीमा

काठमाडौं  – मापदण्डविपरीत गलत लेनमा तीव्र गतिमा हाँकिएका टिपरलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । महानगरीय ट्राफिक महाशाखाले एक महिनाअघि सुरु गरेको अभियानमा एक सय ३० टिपर कारबाहीमा परेका छन् ।

अनुगमनका क्रममा  ३०  वटा टिपर तीव्रगतिमा चलेको र १ सय टिपर कागजात नपुगेको अवस्थामा भेटिएको महाशाखाले जनाएको छ । यी टिपरलाई नियमअनुसार कारबाही भइरहेको महाशाखा अपरेसन शाखाका डिएसपी मुकुन्द मरासिनीले बताए ।

धादिङ र काभे्रतिरबाट राजधानी छिर्ने मालवाहक गाडीलाई केन्द्रित गरेर अनुगमन कारबाही थालेको डिएसपी मरासिनीले बताए । ‘अहिले यी दुई नाकाबाट आउने गाडीलाई बढी ध्यान दिएर कारबाही गरेका छौं’, उनले भने । अनुगमनका क्रममा चालक अनुमतिपत्र, गाडीको साइड लाइटको अवस्था, धुवाँ फाल्ने तह, मापसेजस्ता स्थितिको अनुगमन गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रहरीले राजमार्गमा गति नाप्ने मेसिन राडार गनको सहयोगबाट टिपरको गति नापेपछि कारबाही गरेको हो । यो मेसिन गाडीको अघि उभ्याएपछि कति गतिमा चलाएको छ भन्ने देखाउँछ । ट्राफिक प्रहरीले अनुगमनको क्रममा राति र बिहान पख गाडी तीव्रगतिमा चलाएकै कारण दुर्घटना हुने गरेको पत्ता लगाएको छ ।

मानिसको ज्यान जानेगरी भएका पछिल्लो दुर्घटनामा टिपरको संलग्नता देखिएपछि प्रहरीले तिनैलाई लक्षित गरी कार्यक्रम अघि सारेको डिएसपी मरासिनीले बताए  । ‘मोटरसाइकल र पैदलयात्रीलाई ठोक्ने बढीजसो दुर्घटनामा टिपर कारण देखिएकाले अनुगमन सुरु गरेका हौं’, उनले भने ।ट्राफिकले तीव्र गतिमा चल्ने निजी कार, मोटरसाइकललाई पनि अनुगमन कारबाही गरिरहेको जनाएको छ । ‘मोटरसाइकलले पनि लेन मिच्ने, तीव्र्र गतिमा चलाउने र ट्राफिक नियम उल्लंघन गरेको देखिन्छ’, मरासिनीले भने ।
 

प्रकाशित: २ फाल्गुन २०७४ ०१:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App