coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

साइकल रेसमा नेपालीको वर्चस्व

पोखरामा सोमबार सुरु साइकल रेसका सहभागी । तस्बिर सौजन्यः अजय पण्डित

पोखरा– ‘पोखरा चौथो स्टेज अन्तर्राष्ट्रिय साइकल रेस’ प्रतियोगिता सुरु भएको छ । सोमबार पहिलो दिनको रेसमा नेपाली साइक्लिस्टले महिला तथा पुरुष दुवै विधामा वर्चस्व जमाएका छन् । 

अन्तर्राष्ट्रिय साइकल रेसको पहिलो दिन सोमबार कास्कीको पामेबाट सुरु भई चापाकोट, तारेभिर, भुम्दी, पुम्दी, विश्वशान्ति स्तुप, छोरेपाटन, स्तुपा सानोताल हुँदै पामेमै पुगेर टुंगिएको थियो । उकाली–ओराली गर्दै ग्रामीण क्षेत्रको ५० किलोमिटरको दूरी तय गर्न काठमाडौंका नारायणगोपाल महर्जनले २ घन्टा १४ मिनेट ४८ सेकेन्ड लगाए ।

दोस्रो स्थानमा नुवाकोटका रोहन तामाङले २ घन्टा १९ मिनेट ५६ सेकेन्डमा पूरा गरे । ललितपुरका ओकेश बज्राचार्यले २ घण्टा २१ मिनेट ४३ लगाउँदै तेस्रो स्थानमा चित्त बुझाए । उनी नेपाली सेनाका साइक्लिस्ट हुन् । 

महिलातर्फको पहिलो दिनको टास्कमा नुवाकोटकी लक्ष्मी मगर प्रथम भइन् । उनले दूरीलाई २ घण्टा ५३ मिनेट ३४ सेकेन्डमा पूरा गरिन् । ललितपुरकी उषा खनालले ३ घण्टा १४ मिनेट २० सेकेन्डको समयमा पूरा गर्दै दोस्रो भइन् । निर्णायक शंकर भण्डारीका अनुसार काठमाडांैकी रोजा केसी भने ३ घण्टा २० मिनेट ४६ सेकेन्डमा पूरा गर्दै तेस्रो हुन सफल भइन् ।

कास्की जिल्ला साइक्लिङ संघको आयोजनामा सञ्चालित चारदिनको प्रतियोगितामा सबैभन्दा कम समयमा दूरी पूरा गर्ने च्याम्पियन बन्नेछ । मंगलबार दोस्रो दिनको टास्क सुरु हुनेछ । छोरेपाटन, शिवालय, कृस्ति, मट्टिखान हुँदै पुनः छोरेपाटनमा आएर टुंग्याइने अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेको निर्णायक अजय पण्डितले जानकारी दिए । उनका अनुसार दोस्रो दिनको दूरी भने ५८ किलोमिटरको छ । 

तेस्रो दिन बुधबार बेगनासबाट सुरु टास्क भने सबैभन्दा लामो दूरीको हुनेछ । बेगनास, कालिका, बेगनासताल, रूपाताल हुँदै बेगनासताल किनारमा पुगेर समापन हुनेछ । तेस्रो दिनको दूरी ८० किलोमिटरको छ । चौथो तथा अन्तिम दिन बाटुलेचौर, डाडाँगाउँ, अर्मलाकोट, अर्मलाडिही, महेन्द्रगुफाहुँदै बाटुलेचौरमा पुगेर सकिने रेसको भने ५२ किलोमिटरको हुनेछ ।

साइकल दौडको माध्यमबाट साहसिक खेलको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजित प्रतियोगिताको चारै दिनमा प्रतिस्पर्धीको समयलाई आधार मानेर विजयी घोषणा गरिनेछ । विजेताले ट्रफी पाउनेछ । साइक्लिङ संघले विगतमा राष्ट्रियस्तरको प्रतिस्पर्धा गरेपनि यो भने पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हो ।

प्रतियोगितामा जर्मनी, फ्रान्स, अस्ट्रिया, स्विट्जरल्यान्ड, क्यानडा, स्विडेन, अस्ट्रेलिया र श्रीलंकाका खेलाडी सहभागी छन् । आर्मी र सशस्त्र प्रहरी बलका खेलाडीले समेत आफ्नो उपस्थिति जनाएका छन् । महिलातर्फ दुई विदेशी र तीन स्वदेशी खेलाडी सहभागी छन् ।

प्रकाशित: १ फाल्गुन २०७४ १०:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App