८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

सत्ताधारी गठबन्धनलाई धक्का

कोलोम्बो– श्रीलंकामा स्थानीयस्तरको प्रतिनिधि चयनका लागि शनिबार भएको निर्वाचनमा सत्ताधारी गठबन्धनलाई धक्का लाग्ने देखिएको छ ।

स्थानीय निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको भए पनि सोमबार दिउँसोसम्मको नतिजा अनुसार पूर्व राष्ट्रपति महिन्द्रा राजापाक्षको दलले सत्ताधारी गठबन्धनलाई निकै पछि पार्ने देखिएको अल जजिराले जनाएको छ । सोमबार दिउँसोसम्मको मतपरिणाम अनुसार राजापाक्ष नेतृत्वको श्रीलंका पोडुजना पेरामुना (एसएलपीपी)ले ४४.०५ प्रतिशत नतिजा प्राप्त गर्न सफल भएको छ भने प्रधानमन्त्री रनिल विक्रमासिङ्गेको युनाइटेड नेसनल पार्टीले जम्मा ३१.६५ प्रतिशत मत प्राप्त गरेको छ ।

 पछिल्लो परिणाम अनुसार राष्ट्रपति मैत्रीपाला सिरिसेनाको श्रीलंका फ्रिडम पार्टी(एसएलएफ्पी)ले निकै कम ९.५२ प्रतिशत मत ल्याएको छ ।

 राजापाक्षको दल (एसएलपीपी)ले लामो समय द्वन्द्वले तहसनहस बनेको उत्तरी र पूर्वी श्रीलंका बाहेकका प्राय सबै क्षेत्रमा राम्रो नतिजा ल्याएको बताइएको छ ।  सत्ताधारी (एसएलएफ्पी) र युएनपीबीच सन् २०१५ मा गठबन्धन बनेपछि श्रीलंकामा भएको यो पहिलो निर्वाचन हो । मतपरिणाम आउने क्रम जारी रहँदा सत्ता गठबन्धनप्रति श्रीलंकाली जनताको विश्वास घट्दै गएको देखिएको छ ।

शनिबार सम्पन्न भएको निर्वाचनमा ७० प्रतिशत मतदाताले मतदान गरेका थिए । प्रधानमन्त्री विक्रमासिङ्घेले सन् २०१५ मा सत्ता सम्हालेपछि ल्याएको सुधारका कार्यक्रमलाई परीक्षण गर्ने कसीका रूपमा शनिबारको निर्वाचनलाई हेरिएको थियो । तर मतपरिणाम अनुसार श्रीलंकाली जनताले विक्रमासिङ्घेको सुधारको योजनालाई नरुचाएको देखिएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण बनाउनका लागि ६५ हजार प्रहरी, ४१ हजार विशेष सुरक्षा अधिकारी तथा सात हजार कर्मचारीको प्रयोग गरिएको थियो । निर्वाचनलाई शान्तिपूर्ण बनाउन विभिन्न स्थानमा बल प्रयोग गर्ने वा मतदातालाई तर्साउन खोज्ने ११ जनालाई पक्राउ गरिएको थियो ।

 

प्रकाशित: १ फाल्गुन २०७४ ०२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App