८ वैशाख २०८१ शनिबार
राजनीति

पौडेलले सम्हाले प्रदेश ३ को कमाण्ड (फोटो फिचर)

मकवानपुर – प्रदेश नम्बर ३ को मुख्यमन्त्री डोरमणि पौडेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पदभार ग्रहण गरेका छन्। प्रदेश राजधानी हेटौंडामा प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेश प्रमुखको कार्यालयमा सोमबार बिहान करिब पौने १० बजे पदको पद तथा गोपनियताको सपथ खुवाएकी हुन्।

सपथग्रहण कार्यक्रममा प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ, विपक्षी दल नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल, प्रतिनिधी तथा प्रदेश सभाषदहरु, क्षेत्रीय तथा जिल्ला सरकारी कार्यालयका प्रमुख/प्रतिनिधी लगायतको उपस्थिती थियो।

सपथग्रहण लगत्तै मुख्यमन्त्री पौडेलले हेटौंडा–११ मा रहेको सहिद स्मारकमा रहेको सहिदहरुको प्रतिमामा माल्यार्पण गरेका थिए। मुख्यमन्त्री पौडेललाई स्वागत गर्दै स्मारक प्रवेशद्वारमा पुष्पगुच्छा, खादासहित सर्वसाधारण लाईन बसेका थिए। स्मारकमै गरिएको जलपान कार्यक्रममा चना, पाउरोटी खाएका पौडेल त्यसपछि  मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेका थिए।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्यमन्त्रीको कार्यकक्षमा ७२ बर्षीय उनले सोमबारै पदभार ग्रहण गरे। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रमुख सचिव रेश्मिराज पाण्डेले तयार पारेको ३ वटा नियमावली बनाउने पत्रमा मुख्यमन्त्री पौडेलले हस्ताक्षर गरेका थिए। मुख्यमन्त्री पौडेलले प्रदेश सरकार कार्यविभाजन, प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणिकरण सम्बन्धी र प्रदेश सरकार कार्यसम्पादन नियमावलीमा हस्ताक्षर गरेका हुन्।

पदभार ग्रहण लगत्तै उनले प्रदेश नम्बर ३ लाई पहिलो, उत्कृष्ट र नमुना प्रदेश बनाउने बताए। ‘यस प्रदेशमा रहेका १३ जिल्लाको आ–आफ्नै परिचय, अवस्था छन्, तराईदेखि हिमालसँग जोडिएका छन्, उनले भने, हामीसँग भएको पर्याप्त स्रोत साधनको अत्याधिक परिचालन गरी समृद्धी त्यहीबाट शुरु गरेर सम्बृद्ध नेपाल, स्वाभिमानी र खुशी नेपाली भन्ने नारालाई सार्थक बनाउँछौं।’

पदभार ग्रहणपछि कर्मचारीहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री पौडेलले आफु देशको पहिलो मुख्यमन्त्री भएकोले विकासमा पनि पहिलो हुने बताए। त्यसका लागि आफूलाई सहयोग गर्न सबै कर्मचारीहरुसँग आग्रह गर्दै उनले सबै राजनितिक दल, सभाषदहरुलाई अनुरोध समेत गरेका थिए।मुख्यमन्त्रीको कार्यालयमा पनि पौडेललाई स्वागत गर्दै प्रवेशद्वारदेखि भवनको ढोकासम्म पुष्पगुच्छासहित कर्मचारीहरुको लाईन रहेको थियो।

प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले एमालेको सिफारिस र माओवादीको सर्मथनमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम पौडेललाई आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्। एमाले प्रदेश संसदीय दलका नेता पौडेलले एमालेका ५८ जना सभाषदको हस्ताक्षरसहितको पत्र तथा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कटेलले समर्थन पत्र आईतबारै प्रदेश प्रमुख कार्यालयमा बुझाएको थियो। 

शुक्रबार ललितपुरमा भएको संसदीय दलको निर्वाचनमा पौडेलले एमाले उपाध्यक्ष एवम् ३ नम्बर प्रदेश कमिटी संयोजक अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै निर्वाचित भएका थिए। पौडेलले ३४ मत पाएर बिजयी हुँदा आकांक्षी शाक्यले २४ मत पाएकी थिईन्। पौडेल एमाले अध्यक्ष केपी शर्मा ओली समूहबाट र शाक्य बरिष्ठ नेता माधवकुमार नेपालको समूहबाट चुनाब लडेका थिए। जिल्ला समन्वय समिति मकवानपुरको नयाँ भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा स्थापना गरिएको छ। उनी मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ (ख)का बाम गठबन्धन(एमाले)का तर्फबाट प्रदेश सभाषद निर्वाचित भएका थिए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App