coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ज्यादती गर्ने सुरक्षाकर्मीमाथि कारबाही हुन्छ

यांगुन – नियन्त्रणमा लिइएका रोहिन्जालाई हत्या गरेको आरोप लागेका १० जना म्यानमाली सुरक्षाकर्मीमाथि कारबाही हुने भएको छ ।

म्यानमार सरकारका प्रवक्ता ज ह्टेले कब्जामा लिइएको रोहिन्जा मुसलमानको हत्या गर्ने १० सुरक्षाकर्मीमाथि कारबाही हुने आइतबार बताएका हुन् ।उनले सुरक्षा अधिकारीमाथि हुने कारबाही रोयटर्स समाचार एजेन्सीले घटनाबारे सार्वजनिक गरेको रिपोर्टसँग सम्बन्धित नरहेको पनि बताएका छन् ।

रोयटर्सले शुक्रबार इन डिनको उत्तरी रखाइन गाउँमा १० जनासम्म रोहिन्जा पुरुषलाई हत्या गरिएको रिपोर्ट सार्वजनिक गरेको थियो । उनीहरुलाई बौद्ध धर्मावलम्बी छिमेकीले मर्न बाध्य बनाएपछि वा सेनाले गोली हानेपछि सामूहिक चिहानमा गाडिएको विवरण रोयटर्सले शुक्रबार सार्वजनिक गरेको थियो ।
 म्यानमार सरकारका प्रवक्ता ज ह्टेले रोयटर्सले रिपोर्ट सार्वजनिक गर्नुभन्दा अघि नै सेनाले गरेको जाँचबुझबाट दोषी ठहरिएका सात सेना, तीन प्रहरी र सात गाउँलेमाथि कानुनअनुसार कारबाही हुने बताएका छन् ।

उनीहरुलाई रोयटर्सको समाचारको आधारमा पक्राउ नगरिएको बताउँदै प्रवक्ता ज ह्टेले अनुसन्धान रोयटर्सले समाचार प्रकाशन गर्नुभन्दा अघि नै गरिएको बताएका छन् । उनले १६ जनाविरुद्ध यस्तै खालको कारबाही हुन्छ भनेर आफूले ठ्याक्कै भन्न नसक्ने पनि बताएका छन् । सुरक्षा फौजमाथि आक्रमण गर्ने दुई सय जना आतंकवादीमध्येका ती १० रोहिन्जा पुरुष पनि रहेको जनवरी १० का दिन, सेनाले बताएको थियो । ‘१० जना रोहिन्जा मध्येका केहीलाई बौद्ध धर्मावलम्बी गाउँलेले तरबारले आक्रमण गरेका थिए भने अन्यलाई सैनिकहरुले गोली हानेका थिए,’ घटनामा संलग्न दोषीमाथि कारबाही गर्ने बताउँदै म्यानमाली सेनाले बताएको छ ।

घटनाका बारेमा रखाइनका बौद्ध धर्मावलम्बी तथा रोहिन्जा मुसलमान प्रत्यक्षदर्शीले रोयटर्सलाई दिएको विवरण र सेनाले दिएको विवरणमा फरक देखिएको रोयटर्सले जनाएको छ ।

इन डिनमा सुरक्षा फौजमाथि ठूलो समूहको विद्रोहीले आक्रमण नगरेको बौद्ध धर्मावलम्बी प्रत्यक्षदर्शी गाउँलेले बताएका थिए । त्यसैगरी रोहिन्जा प्रत्यक्षदर्शीका अनुसार सेनाले नजिकैको सामुद्रिक किनारामा सुरक्षाका लागि लुकेर बसेका सयौं पुरुष, महिला र बालबालिकामध्ये १० जनालाई छानेर लगेको थियो । सुरक्षा पोष्टमाथि रोहिन्जा विद्रोहीले आक्रमण गरेपछि सरकारी सेनाले गरेको कारबाहीका कारण गत अगस्टदेखि हालसम्म करिब ६ लाख ९० हजार रोहिन्जाहरु रखाइन राज्यबाट भागेर दक्षिणी बंगलादेश पुगेका छन् । अल्पसंख्यक राज्यविहीन रोहिन्जामाथि म्यानमाली सेनाले गरेको कारबाहीलाई संयुक्त राष्ट्रसंघले नरसंहारको संज्ञा दिँदै आएको छ ।

प्रकाशित: २९ माघ २०७४ ०३:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App