८ वैशाख २०८१ शनिबार
कला

रानीपोखरीको टेण्डरमा मिलेमतो !

भक्तपुर – काठमाडौंको रानीपोखरी पुनर्निर्माण विवाद ताजा घटना हो । पुनर्निमाणका लागि काठमाडौंका मेयर र उपमेयरकै जुँगाको लडाइँमा फसेको रानीपोखरी कस्तो स्वरुपमा बन्ने अझै टुंगो छैन । रानीपोखरीलाई लिएर आम जनमानससमेत धु्रविकृत भइरहेका बेला  यसैको निर्माण टेण्डरमा मिलेमतो भएको तथ्य खुलेको छ । तर यो तथ्य वास्तविक भने होइन ।  भक्तपुरमा तीनदिन प्रदर्शन भएको ‘रानीपोखरीको टेण्डर’ शीर्षकको नाटकमा यो तथ्य देखाइएको हो ।

आस्था साँस्कृतिक परिवारको प्रस्तुति रहेको नाटकमा पुँजीवादी राज्य बन्दोबस्तको भ्रष्ट काम गर्ने शैलीलाई मुख्य विषयवस्तु वनाइएको छ । कर्मचारी प्रशासन, ठेक्काप्रथामा हुने मिलोमतो, भागबन्डा, गुटबन्दी, चाप्लुसी, असमानतालगायतका विकृतीमाथि नाटकले तीखो व्यंग्य गरेको छ । विकासमा भ्रष्टाचारले कस्तो प्रभाव पार्छ भने कुरालाई नाटकमा केलाइएको छ । सत्ता वरिपरि बस्नेको गलत सल्लाहले देशकै प्रमुख व्यक्ति कसरी निकम्मा बन्छ बन्ने कुरालाई नाटकले प्रस्तुतिमार्फत देखाएको छ ।

हाल काठमाडौंको रानीपोखरी पुनः निमार्णमा देखिएको किचोलोको समयमा यो नाटकले काठमाडौका जनप्रतिनिधिलाई पनि चोटिलो प्रहार गरेको छ । राजा प्रताप मल्लले आफनो रानीको नाममा रानीपाखेरी बनाउने घोषणासँंगै सुरु हुने नाटक कसरी पुँंजीवादी कर्मचारीतन्त्र र भ्रष्ट बन्दोवस्तका कारण यसको निर्माण सपना कसरी तुहिन्छ भन्ने कुरालाई नाटकले चोटिलो तवरले प्रस्तुत गरेको छ ।  

भारतका चर्चित नाटककार र रंगकर्मी अजय शुक्लाले लेखेको नाटक ‘ताजमहलके टेण्डर’ लाई नेपाली सन्दर्भमा रुपान्तरण गरी नाटक मञ्चन गरिएको हो । नाटकको नेपाली भाव अनुवाद निरज लवजूले गरेका छन् भने परिकल्पना तथा निर्देशन रमेश प्रजापतिको छ । नाटकमा झण्डै दुई दर्जन कलाकारको भूमिका रहेको छ । नाटक झण्डै साढे एक घण्टाको छ ।

२०७२ सालको विनासकारी भूकम्पपछिको पुनर्निर्माणको चरणमा रहेको रानीपोखरी निर्माणमा देखिएको विवादलाई उजागर गर्दै गीत, नृत्य, हास्यव्यंग्य , प्रहर्सनले दर्शकलाई भरपूर मनोरञ्जन दिएको थियो । आदर्श समाज र प्रगतिशील संस्कृति निर्माणमा समपिर्त आस्था साँस्कृतिक परिवारले हरेक वर्ष झै यस वर्ष पनि सामाजिक, राजनैतिक, प्रशासनिक विषयवस्तुलाई नाटकमार्फत पस्किने क्रममा ‘रानीपोखरी’ नाटक प्रस्तुत गरेको हो ।

२०६१ सालमा स्थापना भएको आस्था साँंस्कृतिक परिवारले हरेक वर्ष गर्दै आएको आस्था साँंस्कृतिक साँंझकै सिलसिलाको रुपमा यो वर्ष नाटक देखाइएको जनाइएको छ । नाटक भक्तपुरको लिवालिस्थित नवनिर्मित आस्था थिएटरमा गरिएको हो । शुक्रबारदेखि देखाइएको नाटक आइतबारसम्म चलेको थियो । नाटकको उद्घाटन शुक्रबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक समारोहबीच गरेका थिए । यसअघि गतवर्ष आस्थाले भक्तपुरकै कालिघाट व्यासीस्थित बासु स्कुलमा ‘बहुलाकाजीको सपना’ नाटक मञ्चन गरेको थियो ।

 

 

प्रकाशित: २९ माघ २०७४ ०२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App