८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

रुसमा ७१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त

मस्को – मस्कोबाट रसियाको पश्चिमी क्षेत्रका लागि छुटेको १४८ यात्रुभार क्षमताको एक विमान आइतबार विमानस्थलबाट छुटेको केही समयमा दुर्घटनाग्रस्त भएको छ। 

विमानमा रहेका छ जना चालक दलका सदस्यसहित सबै ७१ जना यात्रु जीवित रहेनसक्ने आशा गौण रहेको रसियाली अधिकारीलाई उद्धृत गर्दै इन्टरफ्याक्स न्यूज एजेन्सीले आइतबार जनाएको छ। 

विमान रसियाको राजधानी मस्कोस्थित डोमोडेडोभो विमानस्थलबाट रसियाकै पश्चिमी ओरेन्वर्ग क्षेत्रको ओस्र्कका लागि छुटेको थियो । 

विमान दुर्घटनास्थलमा रसियाली अधिकारी पुगिनसकेको तर विमान आर्गुनोभोको ग्रामिण इलाकामा दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको छ। विमान चालक दलका सदस्य तथा यात्रुलाई जिवित भेटाउनसक्ने सम्भावना नरहेको स्रोतले जनाएको छ। 

इन्टरफ्याक्सको अर्को एक जानकारी अनुसार विमान दुर्घटनास्थलबाट दुई मृत शरीरलाई क्षतविक्षत अवस्थामा भेटाइएको खबर छ। यसको सरकारी अधिकारीले पुष्टी भने गर्न बाँकी नै छ। 

रसियाली यातायात मन्त्रालयले इन्टरफ्याक्सलाई दिएको जानकारी अनुसार विमान दुर्घटना मौसम खराब भएका कारण वा मानवीय कमजोरीका कारणलगायतका केही अन्य कारणले भएको हुनसक्ने देखिएको छ। यद्यपि यसबारे थप अनुसन्धानपछि मात्र भन्न सकिने मन्त्रालयले बताएको छ। 

रसियाली छानविन समितिले दुर्घटनाको कारण अध्ययन गरी प्रशासनलाई प्रतिवेदन बुझाउन काम शुरु गरिसकेको बताएको छ। रसियाली यातायात मन्त्री माक्सिम सोकोलोभ घटनाबारे बुझ्न र मृतकका आफन्तलाई सान्त्वना दिन दुर्घटनास्थलतर्फ गएका छन्।

प्रकाशित: २८ माघ २०७४ १६:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App