४ वैशाख २०८१ मंगलबार
अर्थ

हेटौंडा देशकै औद्योगिक हब बन्ने सम्भावना

मकवानपुर – हेटौंडालाई ३ नम्बर प्रदेशको अस्थायी राजधानी तोकिएसँगै मकवानपुरमा आर्थिक गतिविधि पनि बढ्ने सम्भावना चुलिएको छ । प्रदेश सभा सचिवालय, प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँगै सात मन्त्रालय स्थापना भएपछि तीन राजमार्गको संगमको रुपमा रहेको हेटौंडामा औद्योगिक क्षेत्रले फड्को मार्नेमा उद्योगी, व्यवसायी विश्वस्त छन्।

प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडा भए औद्योगिक हब बन्ने मकवानपुरका उद्योगी व्यवसायीको अपेक्षा छ । प्रदेश सरकारले औद्योगिक क्षेत्रको विकासमा विशेष ध्यान दिए हेटौंडालाई देशकै नमूना औद्योगिक क्षेत्र बनाउन सकिने उद्योगीको भनाइ छ।

प्रदेश सरकारले औद्योगिक क्षेत्रको विकासमा विशेष ध्यान दिए हेटौंडालाई देशकै नमूना औद्योगिक क्षेत्र बनाउन सकिने

नेपालकै सबैभन्दा धेरै क्षेत्रफलमा फैलिएकोे औद्योगिक क्षेत्र रहेको हेटौंडामा थपिएको नयाँ औद्योगिक क्षेत्रमा उद्योग सञ्चालनको तयारी पनि हुँदैछ । भारत, तराई र केन्द्रीय राजधानी काठमाडौंलाई जोड्ने भएकाले हेटौंडामा औद्योगिक विकासको प्रचूर सम्भावना रहेको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख नेपाल भूषण वैद्यले बताए । ‘हेटौंडालाई जोड्ने गरी कान्ति राजपथ, फास्ट ट्र्याकसहित ठूला सडक आयोजनाहरु बन्ने र सञ्चालनको क्रममा छन्, ती सञ्चालन भएपछि औद्योगिक विकासमा अझै टेवा पुग्छ,’ उनले भने।

यहाँ ८७ वटा उद्योग चलिरहेका छन् । ‘नयाँ औद्योगिक क्षेत्र सञ्चालनको क्रममा रहेको बेला प्रदेशको राजधानी बनेपछि उद्योगको संख्या करिब तीन सयसम्म पुग्ने अनुमान गरेका छौं,’ उनले थपे, ‘राजधानी घोषणा भएपछि काठमाडौंका उद्योगीले पनि हेटौंडामा नयाँ उद्योग स्थापना गर्न प्रस्ताव गरिरहेका छन्।’

उद्योग संघ मकवानपुुरका सचिव बासु कार्की पनि हेटौंडा प्रदेशको राजधानी भएसँगै उद्योगीमा नयाँ आशा पलाएको बताउँछन् । विभिन्न समस्या झेलेर ५३ वर्षदेखि हेटौंडा औद्योगिक क्षेत्रमा उद्योगीले उद्योग सञ्चालन गरिरहेको भन्दै उनले प्रदेशको राजधानी भएसँगै बन्ने प्रदेश सरकारले समस्या समाधान गर्दै विशेष सहुलियत पाउनेमा विश्वस्त रहेको बताए । ‘हेटौंडामा नाजुक अवस्थामा उद्योग चलिरहेका छन्, विद्युत्, खानेपानी वितरण लगायतको समस्या समाधान हुन सकेको छैन । आगामी दिनमा प्रदेश सरकारले समस्याको समाधानमा चासो देखाउनेमा हामी आशावादी छौं,’ उनले भने, ‘हामीले घरजग्गा र श्रीमतीको गहना धितो राखी ऋण लिएर उद्योग चलाइरहेका छौं, सरकारले पनि त्यसलाई बुझेर स्वदेशी उद्योगको प्रवद्र्धनमा लाग्नुपर्छ।’

आयात प्रतिस्थापन गर्दै स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्नुपर्नेमा कार्कीको जोड छ । हेटौंडा राजधानी हुनु उद्योगी व्यवसायीको लागि गतिलो अवसर भएको भन्दै त्यसको हेटौंडाले सही सदुपयोग गरेमा आर्थिक समृद्धि हासिल गर्न महत्वपूर्ण सहयोग पुग्ने उनको दाबी छ । उनले औद्योगिक क्षेत्रमा न्यूनतम रुपमा हुनुपर्ने दमकल, एम्बुलेन्स सेवासँगै अत्याधुनिक भौतिक सुविधा जुटाउन औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई ध्यानाकर्षण गराए।

मकवानपुर उद्योग वाणिज्य संघले पनि हेटौंडालाई राजधानी तोकिएसँगै हेटौंडा बजार क्षेत्रको व्यवस्थापनमा क्रियाशीलता बढाएको छ । ट्राफिक व्यवस्थापन, फुटपाथ व्यवस्थापन, व्यवस्थित पार्किङको लागि संघले नेतृत्वदायी भूमिका निर्वाह गर्न तम्सिएको छ । ‘हेटौंडा प्रदेशको राजधानी हुँदा हामी निक्कै खुसी छौं, अब हेटौंडाले विकासमा फड्को मार्नेमा दुईमत छैन,’ करिब २६ सय उद्योगी, व्यवसायी सदस्य रहेको संघका अध्यक्ष कृष्ण कटुवालले भने, ‘व्यापार, व्यवसाय प्रवद्र्धन र पर्यटन विकासमा राजधानी हुनुले निकै प्रभाव पार्दछ।’

प्रहरी, उपमहानगरपालिका, ट्राफिक प्रहरीलगायत सरोकारवाला सक्रिय भई हेटौंडालाई व्यवस्थित गर्न तत्काल लाग्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । बाइपास सडकलाई व्यवस्थित गरी भारी सवारी बजार क्षेत्रभन्दा बाहिरबाटै आवतजावत गराउनुपर्ने आवश्यकता पनि उनले औंल्याए।

एमाले मकवानपुरकी अध्यक्षसमेत रहेकी प्रदेश सभासद् मुनु सिग्देलले भइरहेका उद्योगको प्रवद्र्धन र नयाँ उद्योग ल्याउने वातावरण बनाउन अब बन्ने बाम प्रदेश सरकारले ध्यान केन्द्रित गर्ने बताइन् । पुरानो औद्योगिक क्षेत्रमा जग्गा मात्र ओगटेर बस्ने उद्योगलाई हटाई नयाँ उद्योगलाई ल्याउने तथा नयाँ औद्योगिक क्षेत्रमा राम्रा उद्योग ल्याउन सहज वातावरण बनाउने सिग्देलको भनाइ छ । ‘औद्योगिक शान्ति कायम गर्दै कच्चा पदार्थ आयातसहित स्वदेशी र स्थानीय उद्योगलाई विशेष सहुलियत दिने र सुरक्षा दिने लगायतको विषयमा हामी तत्काल काम गर्छौं,’ उनले भनिन्।

२०२० सालमा स्थापित हेटौंडा औद्योगिक क्षेत्रमा हाल ८७ वटा उद्योग सञ्चालनमा छन् । पछिल्लो समय फेसन पेन्ट्स, श्री हाइड्रोपावर, लक्ष्मी टेक्नोप्लास्ट, सूर्य पेन्ट्सलगायत नयाँ उद्योग सञ्चालनमा आएका छन् । औद्योगिक क्षेत्रमा हाल चार हजारजनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । वनस्पती घ्यू, विराट लेदर, रिज्वाइन, युरोसियन पास्ता उद्योग गरी चार उद्योग भने बन्द अवस्थामा छन् । २०५७ सालदेखि बन्द रहेको नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा कपडा उद्योग सञ्चालनको पछिल्लो प्रयासले सार्थकता पाएको छैन । २०३५÷३६ देखि व्यावसायिक रुपमा उत्पादन सुरु गरेको कपडा उद्योगको दैनिक ३६ हजार मिटर कपडा उत्पादन गर्न सक्ने क्षमता छ । एक सय ८८ रोपनीमा फैलिएको उद्योग सञ्चालन गर्न नेपाली सेनाले पनि प्रस्ताव गरेको थियो।

हेटौंडा औद्योगिक क्षेत्रले तीन हजार तीन सय रोपनी क्षेत्रफल ओगटेको छ भने करिब दुई सय बिघा क्षेत्रफलमा हेटौंडा–१४ र १५ मा नयाँ औद्योगिक क्षेत्र स्थापनाको तयारी भएको छ । औद्योगिक क्षेत्रभित्र एसिएन पेन्ट्स, बर्जर, सिएसआई क्लोजर सिस्टम जस्ता बहुराष्ट्रिय उद्योग पनि सञ्चालित छन् । बहुराष्ट्रिय कम्पनी युनिलिभरदेखि शिवम् सिमेन्ट, हेटौंडा सिमेन्ट, निक जस्ता ठूला उद्योग पनि हेटौंडा औद्योगिक क्षेत्रबाहिर सञ्चालित छन्।

प्रकाशित: २८ माघ २०७४ ०७:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App