coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश ३ : को हुन भावी मुख्यमन्त्री पौडेल ?

मकवानपुर – प्रदेश नम्बर ३ को नेकपा एमालेको संसदीय दलको नेतामा निर्वाचित भएसँगै भावी मुख्यमन्त्री डोरमणी पौडेलको बारेमा जिज्ञासाहरु बढ्न थालेको छ। संघीय राजधानी रहेको शक्तिशाली मानिएको प्रदेश भएकाले पनि भावी मुख्यमन्त्रीबारे चासो बढेको पाइन्छ।

हुन त पौडेल खासै नयाँ अनुहार होइनन्। २० बर्षदेखि नेपाल नगरपालिका संघ हाँक्दै आएका उनी हेटौंडेली माझ चिरपरिचित छन्। हेटौंडा ३ नम्बर प्रदेशको अस्थायी राजधानी पाएर दंग परेका मकवानपुरवासी पौडेल एमालेको संसदीय दलको नेतासँगै मुख्यमन्त्री बन्ने भएपछि सरप्राईज भएका छन्। किनकी न हेटौंडेलीले यति सहजै राजधानीवासी हुने कल्पना गरेका थिए, न त मुख्यमन्त्री जिल्लावासी होला भनेर सोचेका थिए।

काठमाडौंको तत्कालिन फर्पिङ्ग गाबिसमा बि.सं. २००२ साल चैत्र १५ गते जन्मिएका डोरमणि पौडेलको हेटौंडा उपमहानगरपालिका–११, नवलपुरको स्थायीवासी हुन्। बाबा मायानाथ पौडेल र आमा कुलकुमारी पौडेलका ५ छोरी र २ छोरामध्ये जेष्ठ सुपत्र डोरमणिले मानविकी संकायमा स्नातक(बी.ए.)सम्मको शिक्षा हासिल गरेका छन्। उनले प्रारम्भिक शिक्षा भने फर्पिङ्गको त्रिभुवन आदर्श बोडिङ्ग स्कूलबाट लिएका थिए।

वि.सं. २०३० सालदेखि बिद्यार्थी राजनीति सुरु गरेका उनी २०३६ सालदेखि राजनीतिमा सक्रिय भएका थिए। नेकपा एमाले मकवानपुरको पूर्व जिल्ला सदस्य रहेका उनी हाल पार्टीको ३ नम्बर प्रदेश कमिटी सदस्य छन्।

७२ बर्षिय पौडेलले प्रदेश नम्बर ३ को जेष्ठ सदस्य भएकाले सभामुखको भुमिका निर्वाह गरेपछि उनको उचाई थप बढेको थियो। हेटौंडा नगरपालिकाको २ पटक मेयर भईसकेका र आफ्नो कुरा प्रस्ट राख्ने पौडेलले जुनसुकै हालतमा हेटौंडालाई नै स्थायी राजधानी बनाउँनुपर्ने तर्क गर्दै आएका छन्। उनी मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ (ख)का बाम गठबन्धन(एमाले)का तर्फबाट प्रदेश सभाषद निर्वाचित भएका थिए।

भुमीसुधार कार्यालय दाङ्ग र त्यसपछि सडक बिभागमा खरदार भएर केही बर्ष सरकारी जागिरे भएका उनले पछि शिक्षण पेशा अपनाएका थिए। उनले हेटौंडाको नवलपुरमा रहेको त्रिभुवन माध्यमिक बिद्यालयमा २०३२ देखि १० बर्ष शिक्षक भएर शिक्षण समेत गरेका थिए। शिक्षक हुँदा पनि उनी नेकपा एमालेको भातृ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनमा आबद्ध रहेका थिए।

लामोसमय अर्धभूमिगत भूमिगत बिताएका उनको २०४६ सालको जनआन्दोलनका बेला तत्कालिन सरकारले टाउकोको मुल्य तोकेपछि ५६ दिन भारतमा बसेका थिए। चारपटक कैद सजाँय तोकेर जेल परेका उनी १८ पटक प्रहरीको हिरासतमा बसेका थिए।

नेपाल नगरपालिकाका संघको २०५४ सालदेखि हालसम्म अध्यक्ष रहेका पौडेल तत्कालिन हेटौंडा नगरपालिकाको बि.सं. २०४८ र २०५४ मा निर्वाचित मेयर हुन्। २ पटक नगरपालिकाको नेतृत्व गरेका उनले हेटौंडालाई देशमै नमुनालायक हुने गरि बिकास गरेको जानकारहरु बताउँछन्। त्यसकै प्रतिफल स्वरुप हेटौंडा पटक–पटक देशकै सफा सहर घोषणासँगै देश, बिदेशबाट भ्रमण गर्ने नगरपालिका समेत बनेको पाईन्छ।

राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगमा सदस्य भएर काम गरिसकेका पौडेल, स्थानीय सरकार तथा शहरहरुको विश्व संस्था(यूसीएलजी)का एसिया प्यासिफिक उपाध्यक्ष, सिटीनेटको कार्यकारी सदस्य, मकवानपुर बहुमुखी क्याम्पसको तेश्रो पटक अध्यक्ष, शहीद स्मारक बिकास समितिको अध्यक्ष समेत हुन्। धादिङ्गकी बिजया अधिकारीसँग २०१५ सालमा बिवाह गरेका पौडेलको ३ छोरा प्रदीप, नवीन र सुशील छन्। उनलाई नजिकबाट चिन्नेहरु निष्ठाको राजनीति गर्ने तथा आफ्नो अडान एक्लै भएपनि नछाड्ने नेता र समाजसेवीको रुपमा चित्रण गर्ने गरेका छन्।

प्रकाशित: २६ माघ २०७४ १२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App