८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्री जियालाई पाँच वर्षको जेल सजाय

ढाका– बंगलादेशकी पूर्वप्रधानमन्त्री एवं प्रतिपक्षी दलकी नेत्री खालिदा जियालाई भ्रष्टाचारको आरोपमा पाँच वर्ष जेल सजाय तोकिएको छ ।

७२ वर्षिया जियाले बालबालिकासम्बन्धी एउटा परोपकारी कोषलाई दिइएको अन्तर्राष्ट्रिय सहयोग हिनामिना गरेको आरोपमा पाँच वर्षको जेल सजाय तोकिएको हो । जियाले भने उक्त आरोप अस्वीकार गर्दैै आफूले रकम हिनामिना नगरेको बताएकी छिन् । प्रहरीले अश्रु ग्यास प्रयोग गरेर उनका हजारौं समर्थकलाई तितरबितर पारेपछि राजधानी ढाकास्थित विशेष अदालतका न्यायाधीश मोहम्मद अख्तारुज्जमानले ६२ पुष्ठ लामो फैसला पढेर सुनाएका थिए ।

जेल सजाय पाएपछि पूर्व प्रधानमन्त्री जियाले यसै वर्षको अन्त्यतिर हुने संसदीय निर्वाचनमा सहभागी हुन नपाउने भएकी छिन् । बंगलादेशी प्रधानमन्त्री सेख हसिनाकी लामो समयदेखिकी राजनीतिक प्रतिस्पर्धी जियाविरुद्ध अदालतमा विचाराधीन कैयौं मुद्दामध्ये एउटामा भएको फैसलामा उनलाई पाँच वर्षको जेल सजाए तोकिएको हो ।

जियाले आफूविरुद्धका आरोप राजनीतिक रुपमा प्रेरित रहेको बताएकी छिन् । अदालतमा हाजिर हुन जानेबेला रोइरहेका आफन्तलाई उनले आफू चाँडै आउने र नआत्तिन तथा बलियो बन्न आग्रह गरेको डेली स्टारले उल्लेख गरेको छ ।जियालाई जेल सजाय तोकिए पछि उनका समर्थक प्रदर्शनमा उत्रिदाँ प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा कैयौं प्रहरी घाइते भएको बताइएको छ ।

अदालतले जेल सजाए तोकेको केही मिनेट मै जियालाई जेल लगिएको बिडिन्युज२४ लाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।अदालतले भ्रष्टाचारकै अभियोगमा बेलायतको राजधानी लन्डनमा बसिरहेका जियाका छोरा तारिक रहमानलाई १० वर्षको जेल सजाय तोकेको छ भने जियाका अन्य चार सहयोगीलाई पनि १० वर्षकै जेल सजाय सुनाएको छ ।

जियाले आफू प्रधानमन्त्री भएको बेला अनाथ बालबालिकाका लागि स्थापना गरेको ट्रस्टलाई आएको करिब दुई लाख ५२ हजार डलर सहयोग भ्रष्टाचार गरेको अभियोगमा पाँच वर्षको जेल सजाय तोकिएको बताइएको छ । कोषमा दुरुपयोग गरेको प्रमाणित भएपछि उनलाई जेल सजाय तोकिएको हो । उनीविरुद्ध लागेका अन्य मुद्दाका कारण उनले सन् २०१४ को निर्वाचनमा पनि सहभागिता जनाउन पाएकी थिइनन् । त्यसबेला पनि उनको समर्थनमा बंगलादेशका विभिन्न क्षेत्रमा प्रदर्शन भएका थिए ।

करिब २० वर्षपछि सन् १९९१ मा भएको बंगलादेशको पहिलो प्रजातान्त्रिक निर्वाचनमा बंगलादेशी नेस्नालिस्ट पार्टी (बिएनपी)लाई नेतृत्व गरेर विजयी बनाएर उनी बंगलादेशको प्रथम महिला प्रधानमन्त्री बन्न सफल भएकी थिइन् । उनी सन् २००१ मा पुनः बंगलादेशको प्रधानमन्त्री बनेकी थिइन् । त्यसपछि सन् २००६ मा भएको आम निर्वाचनको अगाडिसम्म उनी बंगलादेशको प्रधानमन्त्री रहेकी थिइन् ।

उनी बंगलादेशका पूर्व प्रधानमन्त्री स्वर्गीय जिउर रहमानकी श्रीमती हुन् । उनको राजनीतिक भविष्य विभिन्न भ्रष्टाचारको आरोप र अवामी लिगकी नेत्री तथा वर्तमान प्रधानमन्त्री सेख हसिनासँगको द्वन्द्वका कारण अप्ठेरोमा पर्दै आइरहेको छ । विगत दुई दशकदेखि यी दुई महिला कहिले सरकारमा त कहिले प्रतिपक्षमा बसिरहेका छन् । बिहीबारको फैसला अघि राजधानी ढाकासहित बंगलादेशका विभिन्न सहरको सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको थियो । थुप्रै विद्यालय र पसलहरु बन्द गरिएका थिए । जियाको बंगलादेश नेस्नालिस्ट पार्टी (बिएनपी) का अनुसार देशैभरबाट उनीहरुका सयौं कार्यकर्ता पक्राउ परेका छन् ।

प्रकाशित: २६ माघ २०७४ ०३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App