८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

माल्दिभ्सले पठायो चीन, पाकिस्तान र साउदीमा दूत

माले – देशमा विकसित पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी गराउन माल्दिभ्सका राष्ट्रपतिले आफ्ना सहगोगी राष्ट्रमा दूत पठाएका छन् ।

माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिनले देशमा उत्पन्न पछिल्लो राजनीति संकटका बारेमा ब्रिफिङ गर्न चीन, पाकिस्तान र साउदी अरबमा आफ्ना विशेष दूत पठाएको राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।उनले आफ्ना आर्थिक विकास मन्त्री मोहम्मद साइदलाई चीन, विदेशमन्त्री असिमलाई पाकिस्तान र कृषि तथा माछासम्बन्धी मन्त्री मोहम्मद साइनीलाई साउदी अरबतर्फ पठाएको बुधबार अबेर राष्ट्रपतिको वेबसाइटमा जनाइएको थियो ।

माल्दिभ्सका राष्ट्रपति यामिनले क्षेत्रीय शक्ति भारतमा भने कोही पनि दूत पठाएको छैन । माल्दिभ्समा लगाइएको १५ दिने राज्य संकटकाल हटाउनुपर्ने र सरकारद्वारा पक्राउ गरिएका प्रधानन्यायाधीशसहति अर्का वरिष्ठ न्यायाधीशलाई तत्काल रिहा गरिनुपर्ने धारणा राख्ने अमेरिका र बेलायतलाई भारतले पनि साथ दिएपछि यामिनले भारतमा भने कोही पनि दूत नपठाएको हुनसक्ने आंकलन गरिएको छ ।सरकारले भारतका लागि पनि विशेष दूत पठाउन चाहेको भएपनि भारतका विदेशमन्त्रीको समय नमिलेका कारण त्यो सम्भव नभएको भारतका लागि माल्दिभ्सका राजदूत अहमेद मोहम्मदले जानकारी गराएका छन् ।

गत साता सर्वोच्च अदालतले पक्राउ परेका विपक्षी दलका सांसदसहित सम्पूर्ण राजबन्दीलाई रिहा गर्न दिएको आदेश राष्ट्रपति यामिनले कार्यान्वयन गर्न इन्कार गरेपछि माल्दिभ्समा राजनीतिक संकट सुरु भएको थियो । एसिया र अन्य महादेशबीच व्यापार र यातायात सञ्जाल विस्तार गर्ने बेइजिङको परियोजना ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’मा हस्ताक्षर गरेपछि पयर्टनका लागि प्रख्यात माल्दिभ्समा पछिल्लो समय भारत र चीनबीच तीव्र प्रतिस्पर्धा चल्दै आएको छ । लामो समयदेखि राजनीतिक र सुरक्षासम्बन्ध कायम गर्दै आएको भारतले माल्दिभ्समा बढ्दो चिनियाँ प्रभावलाई रोक्न खोजिरहेको छ ।

करिब चार लाख जनसंख्या रहेको टापु नै टापुको देश माल्दिभ्समा मुसलमान धर्मको बाहुल्यता रहेको छ । राजनीतिक संकट उत्पन्न भएपछि श्रीलंकामा निर्वासित जीवन बिताइरहेका पूर्वराष्ट्रपति मोहम्मद नासिदले देशमा भारतको हस्तक्षेपका लागि आग्रह गरेका थिए ।

प्रकाशित: २६ माघ २०७४ ०३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App