७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

माल्दिभ्सको राजनीतिक संकटबारे विदेशी चासो

माले – मालदिभ्समा बढ्दो राजनीतिक संकटको बारेमा विदेशी चासो बढेको छ। मालदिभ्सको सरकारले प्रधानन्यायाधीशलाई पक्राउ गरी हिरासतमा राखेको छ भने संसदमा विपक्षी दलका नेताहरू पनि थुनामा रहेका छन्। 

संयुक्त राष्ट्रसंघले मालदिभ्समा जारी गरिएको संकटकालको घोषणालाई फिर्ता गर्न भनेको छ। त्यसैगरी अरु विदेशी राष्ट्रहरूले राजनीतिक प्रतिशोधका रूपमा अघि नबढ्न राष्ट्रपति अब्दुल्लाह यामिनलाई आग्रह गरेका छन्। उता विपक्षीहरूले भने यहाँको राजनीतिमा हस्तक्षेप गरी प्रजातान्त्रिक रूपबाट राजनीतिक व्यवस्थापनका लागि भारतसँग आग्रह गरेका छन्। 

राष्ट्रसंघका महासचिव एन्टिनियो गुथ्रेसले मालदिभ्सको सरकारले संकटकाल लगाएर अघि बढ्नु भनेको समस्याको समाधान होइन भनेका छन्। उनले मुलुकको सर्वोच्च अदालतबाट सुरक्षाकर्मीको घेराउको अवस्था हटाउन पनि आग्रह गरेका छन्।  

राष्ट्रसंघ र विभिन्न देशहरूले सम्पूर्ण नागरिकको सुरक्षाको प्रत्याभूत गर्न र पक्राउ परेका प्रधानन्यायाधीशको रिहाई गर्न पनि आग्रह गरेको छ। महासचिव गुथ्रेसले देशमा कानूनी शासनको प्रत्याभूत हुने खालका क्रियाकलापकहरूमात्र गर्न मालदिभ्सको सरकारलाई आग्रह गरेका छन्।

यहाँको सर्वोच्च अदालतलाई बुधबार पनि प्रहरीको घेरामा नै राखिएको छ। यहाँका विपक्षी नेता मौमुन अब्दुल गैयूम, प्रधानन्यायाधीश र सर्वोच्च अदालतका अर्का एकजना न्यायाधीशलाई पक्राउ गरिएको अधिकारीहरूले जनाएका छन्। 

राजधानी मालेमा विपक्षी नेता तथा कार्यकर्ताले यहाँका राष्ट्रपतिको कामप्रति असन्तुष्ट भई बुधबार पनि आन्दोलन जारी राखेका छन्। सरकारले स्थितिलाई नियन्त्रणबाहिर जान नदिन भन्दै ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ। 

मंगलबार बिहानको आमूल परिवर्तनसँगै यहाँको राजनीतिक संकट झनै गहिरिएको समाचारमा जनाइएको छ। गएको बिहीबारदेखि शुरु भएको राजनीतिक संकटका कारण यहाँ थप तनाव भएको बताइएको छ। 

मालदिभ्सको संसदमा राष्ट्रपति यामिनलाई महाभियोग लगाउन मिल्ने गरी दुईतिहाई बहुमत रहेकोले विपक्षी नेताहरूलाई पक्राउ गर्ने आदेश दिइएको हो। त्यसैले उनीहरूलाई थुनामा राखेर देशमा संकटकालको घोषणा गरिएको हो। 

यहाँका सुरक्षा अंगहरूलाई राष्ट्रपति यामिनलाई पक्राउ गर्ने या महाभियोग लगाउने कुनै प्रयासहरू भएमा त्यसमा संलग्नहरूलाई पक्राउ गर्न नै सरकारले आदेश दिएको छ। सोही बमोजिम उनीहरू सडक र संवेदनशील क्षेत्रमा ठूलो संख्यामा तैनाथ भएका हुन्। 

प्रकाशित: २४ माघ २०७४ १६:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App