८ वैशाख २०८१ शनिबार
समाज

‘कालो सुन’ले जीवन समृद्ध

संखुवासभा – सभापोखरी ८ का मनबहादुर लिम्बु ५१ वर्ष पुगिसकेका छन्। तर अहिले पनि युवाजस्तो जाँगरका साथ आफ्नो अलैंची बगानमा काम गरिरहेका भेटिन्छन्। ४ छोरा, ३ छोरी र २ नाता नातिनाका धनी मनबहादुरले झन्डै ३ दशक समय अलैंची खेतीमा बिताई सकेका छन्। पहिले मनबहादुरको परिवार एकै चुलोमा हुँदा थोरै जग्गामा अलैंची खेती लगाएका थिए। त्यसबेला देखि नै उनले अलैंची खेतीका विषयमा जानकारी लिंदै आएका थिए। जब बाबुको शेष पछि मनबहादुरका पाँच दाजुभाई छुट्टा (भिन्न) भए, तब उनले आफ्नो अंशमा परेको सबै जग्गामा अलैंचीको बिरुवा लगाए। गाउँको पाखा र खोल्सीमा उनले करिब १२ हजार बिरुवा लगाएका थिए। अन्य खाद्य बाली उत्पादन नहुने भएकाले अलैंचीको विकल्प नभएको उनी बताउँछन्।

बिरुवा लगाएको सुरुका वर्ष पुरानो बगानबाट उनले ३ मन अलैंची फलाए। दुई वर्षपछि  उत्पादन दिन सुरु गरेको बिरुवाले पुरानो बगानसहित ५ मन अलैंची उत्पादन भएको उनले बताए। बगानबाट उत्पादन भएका अलैंचीले वर्ष भरी परिवारलाई खान पु¥याउनु पर्ने भएकाले सुरुका समयमा निकै दुःख भएको थियो उनले भने। छोराछोरी हुर्किएपछि बगान सुधारमा थप टेवा पुगेको उनी बताउँछन्। तर अहिले पहिलेको दुःख बिर्साएको छ, अलैंचीले नै मेरो जीवन र परिवार बचाएको छ, मनबहादुरले फिस्स हाँस्दै भने। 

पहिले उत्पादन भएका सबै अलैंची बिक्रिका लागि बोकेर बाह्रबिशे पु¥याउनु पथ्र्यो। धेरै वर्ष यो क्रम चलिरह्यो तर विगत १५ वर्ष यता भट्टीसम्म पुगेर खच्चरलाई बोकाएर बाह्रबिशे ल्याएर अलैंची बिक्री गर्न सकिन्छ। मनबहादुरका माइला छोरा सुकमानले भने– खच्चर नपुग्दा धेरै पटक एक मन (४० केजी) अलैंची बोकेर बाह्रबिसे पुगेको छु। यहाँबाट दिनभरी भारी बोकेर बाह्रबिसे पुग्दा ४ हजार थापिन्थ्यो। जुन गाउँमा बेच्दा ३ हजार पनि पाउन मुस्किल थियो। बाह्रबिसेमा अलैंची बेचेको ४ हजारले दाल, चामल, तेल जस्ता खाद्य सामाग्री लिएर भोलिपल्ट फर्किन्थ्यौँ।

घरमा खाद्य सामग्रीको अभाव हुन थालेपछि वर्षभरीमा उत्पादन भएका अलैंची त्यसरी नै बजार लगेर बेच्ने र सामान लिएर आउनुपर्ने बाध्यता पनि हटिसकेको छ। अहिले गाउँमा नै खच्चर पुग्ने भएकाले अलैंची गाउँमा नै बिक्री हुने गरेको छ। गाउँमा खच्चर पुगेपछि अलैंची लिएर बाह्रबिसे पुग्ने खच्चर धनीलाई खाद्य सामग्री अर्डर गरे पछि घरमा नै आइ पुग्ने गरेको मन बहादुरले बताए।

मौसम अनुकुल हुँदा वर्षमा ७० मनसम्म उत्पादन हुने गरेको उनले बताए। पछिल्लो समय अलैंचीको मूल्य आकाशिए पछि मन बहादुरको परिवारमा समृद्धिको ढोका खुलेको हो। उत्पादन भएको अलैंची राम्रो मूल्यमा बिक्री गर्दा वार्षिक ५० देखि ७० लाखसम्म आम्दानी हुने गरेको छ। मन बहादुरले भन्छन– वर्षमा ७० लाख सम्म आम्दानी गरियो। तर विगत २ वर्षदेखि अलैंचीको मूल्य घट्दा १० देखि २० लाख सम्म आम्दानी भएको छ। 

अलैंचीबाट राम्रो आम्दानी लिएका मन बहादुरले बाह्रबिशेमा दुई वर्ष अघि मात्र घर किनेका छन्। सदरमुकाम खाँदबारीमा घडेरी जोडेका उनले धरानमा समेत घडेरी खरिद गरिसकेका छन्। अबको दुई वर्ष पहिलेको जस्तो मूल्यमा सुधार हुने हो भने धरान र खाँदबारीको घडेरीमा घर बनाउने सोँचमा छन् उनी। कालो सुन भनेर चिनिने अलैंचीले मन बहादुर जस्ता थुप्रै किसानको जीवन समृद्ध बन्दै गएको छ।  

सभापोखरी लगायत क्षेत्रका अलैंचीको व्यापारिक केन्द्र बाह्रबिसे नै हो। मनबहादुर जस्ता वार्षिक लाखौं आम्दानी गर्ने कृषकहरु बाह्रविसेमा रहेका अलैंची व्यवसायिहरुलाई बिक्रि गर्ने गर्छन्। यहाँ वार्षिक १५ सय मन खरिद बिक्री हुने गरेको बाह्रबिसेका व्यवसायी सुवास कालाखेतीले बताए। उनी यस क्षेत्रका अलैंचीका सफल व्यवसायी मानिन्छन्। २०५९ सालदेखि अलैंचीको व्यवसाय गरेका कालाखेती त्यस क्षेत्रका अलैंचीकका मूख्य व्यापारी हुन्। उनले वार्षिक डेढ सय मनसम्म खरिद बिक्री गर्ने गरेका छन्। यसको वार्षिक कारोबार करिब २० करोड हुने उनले बताए। बाह्रबिसेमा जम्मा भएको अलैंची काँकडभिट्टा, जोगवनी नाका हुँदै भारत निर्यात हुने गरेको कालाखेती बताउँछन्। भारतबाट पनि तेस्रो मुलुकमा निर्यात हुने गरेको उनले बताए। 

जिल्लामा ३ हजार २ सय ३५ हेक्टर क्षेत्रफलमा यसको खेती गरिएको कृषि विकास कार्यालयले जनाएको छ। कृषि कार्यालयको तथ्यांक अनुसार गत वर्ष करिब ९ लाख किलोग्राम अलैंची उत्पादन भएको थियो। 

प्रकाशित: २४ माघ २०७४ ०९:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App