coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले संसदीय दलमा तीन प्रतिस्पर्धी

इटहरी – प्रदेश १ मा नेकपा एमाले संसदीय दलको नेता चयनका लागि माघ २६ गते निर्वाचन हुने भएको छ । दलको नेता बन्न तीन जनाबीच प्रतिस्पर्धा हुँदैछ।

प्रदेश समिति बैठकले सहमति प्रयास गर्ने सम्भव नभए निर्वाचन गर्ने टुंगो लागेको हो । ‘माघ २५ गतेसम्म सहमति प्रयास हुनेछ, सम्भव नहुँदा प्रजातान्त्रिक प्रक्रियाअनुसार निर्वाचन हुन्छ,’ प्रदेश सांसद लिलम बस्नेतले भने।

एमाले संसदीय दलको नेताका लागि प्रदेश नं. १ संयोजक भीम आचार्य, सहसंयोजक शेरधन राई र केन्द्रीय सदस्य जीवन घिमिरे आकांक्षी छन् । आचार्य र घिमिरे वरिष्ठ नेता माधव नेपाल पक्षधर हुन् भने राई पार्टी अध्यक्ष केपी शर्मा ओली निकट हुन् ।
प्रदेश नं. १ मा एमालेको बहुमत रहेकाले गर्दा संसदीय दलका नेता नै मुख्य मन्त्री बन्नेछन्।

पार्टीका केन्द्रीय सचिव समेत रहेका आचार्यले सकभर सहमतिबाट संसदीय नेताको चयन हुने बताए । ‘सकभर शेरधनजीलाई उपमुख्य मन्त्री वा सभामुखमा सहमति गरेर म संसदीय नेता चयन हुन सक्छु,’ आचार्यले नागरिकसँग टेलिफोनमा भने, ‘जीवनजी अन्तिममा उठ्नु हुन्न ।’ पार्टी सिस्टमअनुसार आफू नै सिनियर भएको आचार्यले बताए।

पार्टी अध्यक्ष ओली निकट राईले आफूलाई सर्वसम्मत संसदीय दलको नेता चयन गर्नुपर्ने बताए । नेता आचार्यले आफ्नै पक्षमा सहमति हुन्छ भन्नु व्यक्तिगत कुरा भएको राईले बताए । ‘मलाई सर्वसम्मत चयन गरेर बरु उहाँ (भीम आचार्य) प्रदेश संयोजककै हैसियतमा बस्नु उत्तम हुनेछ,’ उनले भने।

वरिष्ठ नेता नेपाल समूहकै घिमिरेले निर्वाचन तयारीमा लागेकाले गर्दा नछाड्ने जिकिर गरे । ‘मैले तयारी तीव्र पारेको छु,’ उनले भने, ‘बरु भीम आचार्यले मलाई छाडनुहुन्छ भन्ने आशा छ ।’ उनले आचार्यभन्दा आफ्नो पक्षमा बढी जनमत रहेको सुनाए।

निर्वाचनका लागि अधिवक्ता चूडामणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिमा  टीकाराम पुरी र प्रेमप्रसाद पोखरेल सदस्य छन् ।

प्रकाशित: २३ माघ २०७४ ०२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App