८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अफ्रिकी आप्रवासीमाथि आक्रमण

इटालीको माकेराटा सहरमा शनिबार भएको गोलीकाण्डका घाइतेलाई उपचारका लागि लाँदै स्वास्थ्य विभागका कर्मचारी । तस्बिर : एजेन्सी

रोम – इटालीको माकेराटा सहरमा शनिबार एक इटालियन नागरिकले अफ्रिकी आप्रवासीहरुलाई लक्षित गरेर गरको गोली प्रहारका कारण कैयौं घाइते भएका छन्।

गोली प्रहार रंगभेदबाट प्रभावित भएर गरिएको आशंका प्रहरीले गरेको छ । एक १८ वर्षे इटालियन युवतीको हत्यामा संलग्न भएको आरोपमा एक नाइजेरियन आप्रवासी पक्राउ परेको भोलीपल्ट शनिबार गोली प्रहारको घटना भएको छ । ती युवतीको टुक्रा टुक्रा पारिएको शरीरका अंगहरु माकेराटा सहर नजिकै दुई फरक सुटकेसमा भेटिएको थियो।

शनिबारको गोलकाण्डले मार्च ४ मा हुने आम निर्वाचनलाई धक्का दिने  निश्चित देखिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । राष्ट्रिय निर्वाचन अघि भइरहेको विभिन्न सर्वेक्षणमा जित उन्मुख मध्य दक्षिणपन्थी गठबन्धनले आप्रवासीविरुद्ध क्रुर कार्यक्रम सार्वजनिक गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार शनिबार भएको गोलीकाण्डमा कम्तीमा ६ आप्रवासी घाइते भएका छन् । आफ्नै कारमा आएका एक बन्दुकधारीले कारको झ्यालबाट बन्दुक निकालेर कुदाउँदै गोली प्रहार गरेको प्रहरीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । गोलीकाण्ड भएको माकेराटा राजधानी रोमबाट करिबा दुई सय किलोमिटर पूर्व टाढा रहेको छ।

गोलीकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले एक इटालियन नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले सार्वजनिक गरेको तस्बिरमा बन्दुकधारी ती मानिसको काँधमा इटालीको झण्डा अंकित रहेको देखिएको छ । इटालीको राज्य  सञ्चालित राई टिभीका अनुसार बन्दुकधारी मानिस माकेराटा सहरकै २८ वर्षे युवा हुन् र उनको अल्फा रोमियो कारबाट प्रहरीले एक थान पेस्तोलसमेत बरामद गरेको छ । प्रहरीले घाइतेमध्ये एक विदेशी नागरिकको शल्यक्रिया गर्न आवश्यक देखिएको बताए पनि थप जानकारी भने नदिएको रोयटर्सले उल्लेख गरेको छ । प्रत्यक्षदर्शीका अनुसार बन्दुकधारीले आफ्नै कारको झ्यालबाट स्थानीय समयअनुसार बिहान ११ बजे दुई अफ्रिकी युवालाई लक्षित गर्दै गोली प्रहार गरेका थिए । जसका कारण एक आप्रवासी घाइते भएका थिए । त्यसलगत्तै सहरमा कार कुदाउँदै गोली प्रहार भएको अन्य घटना पनि बाहिरिएका थिए।

दक्षिणपन्थी निर्वाचन अभियानकर्ताले आगामी महिना हुने राष्ट्रिय निर्वाचनमा नाइजेरियन आप्रवासीबाट हत्या भएकी १८ वर्षे युवती पामेला मास्ट्रोपियट्रोको हत्याको विषयलाई आप्रवासीविरुद्धको आफ्नो अजेण्डा समर्थनको माध्यम बनाएका छन् । ती युवतीको मृत्युका बारेमा भएको पहिलो चरणको पोस्टमार्टम रिपोर्टले उनको मृत्युको कारणको पत्ता नलागेको बताइएको छ । गत वर्ष इटालीमा शरण माग गरेर शरण नपाएका र हाल इटालीमा बसिरहेका नाइजेरियन संदिग्धले भने यस विषयमा प्रहरीसँग बोल्न अस्वीकार गरेको रोयटर्सले जनाएको छ।


 

प्रकाशित: २१ माघ २०७४ ०४:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App