७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

फेसबुकले धनी वा गरिब पत्ता लगाउन सक्ने

नयाँ दिल्ली – विश्व प्रख्यात सामाजिक सञ्जाल फेसबुकले मानिसको आर्थिक अवस्था पत्ता लगाउने प्रयासको थालनी गरेको छ । फेसबुकले स्वचालित रूपमा नै आफ्ना प्रयोगकर्ताको सामाजिक आर्थिक अवस्था पत्ता लगाउन सक्ने प्रविधिको प्याटेन्ट एप्लिकेसन दर्ता गरेको छ । यो प्रविधिले सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताको सामाजिक आर्थिक अवस्था पत्ता लगाउँदै उनीहरुलाई काम गर्ने वर्ग, मध्यम वर्ग वा उपल्लो वर्ग भनेरसमेत विभाजन गर्ने प्रविधिको प्याटेन्ट दर्ता गरेको हिन्दूस्तान टाइम्सले आफ्नो अनलाइन संस्करणमा लेखेको छ।

सामाजिक सञ्जालको बादशाह फेसबुकले दर्ता गरेको प्याटेन्टअनुसार, उसले फेसबुक प्रयोगकर्ताको सामाजिक आर्थिक स्तर पत्ता लगाउनका लागि प्रयोगकर्ताका व्यक्तिगत विवरण जस्तै शिक्षा, घर भए वा नभएको र इन्टरनेट प्रयोग जस्ता तथ्यांक संकलन गर्ने प्रविधिको विकास गर्न चाहेको शनिबार डेलीमेलले जनाएको छ । फेसबुकले यस्तो प्याटेन्ट शुक्रबार सार्वजनिक गरेको डेलीमेलले उद्धृत गरेको छ । उसले सार्वजनिक गरेको प्याटेन्टमा फेसबुक प्रयोगकर्तासमक्ष उचित विज्ञापन मात्रै पुगोस् भनेर लक्षित वर्गसम्म पुग्नका लागि एल्गोरिद्म नामक एउटा गणितीय प्रणालीको पनि विकास गरिनेछ।

‘अब फेसबुक प्रयोगकर्ताका सामाजिक आर्थिक स्तर पूर्वानुमान गरेर प्रायोजन गरिएको विज्ञापन लक्षित तेस्रो पक्षसम्म पु¥याउन विज्ञापनदातालाई सजिलो हुने छ,’ प्याटेन्टमा जनाइएको छ ।

‘यो प्रणालीको विकासले तेस्रो पक्षले प्रभावकारी ढंगले आफ्ना सामान र सेवाको विज्ञापन गर्न सक्छन् र अनलाइन प्रणालीले अनुभवी प्रयोगकर्तामाझ पुग्न सजिलो हुन्छ,’ शुक्रबार फेसबुकले जारी गरेको प्याटेन्टमा जनाइएको छ । फेसबुकले आफ्ना प्रयोगकर्तालाई सुरुमा उनीहरुको उमेर सोध्ने छ र त्यसपछि सोही उमेर समूहकालाई थप उचित प्रश्नहरु सोध्ने छ।

‘प्याटेन्टमा, २० देखि ३० वर्ष उमेर समूहका मानिसलाई कतिवटा इन्टरनेट डिभाइस प्रयोग गर्नुहुन्छ भनेर सोधिने छ भने ३० देखि ४० वर्ष उमेर समूहका मानिसलाई उनीहरुको आफ्नै घर छ कि छैन भनेर सोधिने छ,’ रिपोर्टमा जनाइएको छ । फेसबुकले आफ्ना प्रयोगकर्ताको सामाजिक आर्थिक अवस्था पत्ता लगाउन प्याटेन्ट दर्ता गरेको बताएपनि लक्षित समूहलाई मात्रै गरिन्छ वा सबैलाई भनेर प्रष्ट नबनाएको डेलीमेलले जनाएको छ।

प्रकाशित: २१ माघ २०७४ ०४:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App