coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेपालगन्जमा चक्रपथ निर्माण अवरुद्ध

नेपालगन्ज उपमहानगरपालिका बजार। तस्बिर : अर्जुन/ नागरिक

नेपालगन्ज – स्थानीय, प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका अधिकांश उम्मेदवारले नेपालगन्जमा चक्रपथ (रिङरोड) निर्माण योजनालाई पूर्णता दिने विषयलाई जोडतोडका साथ उठाएका थिए । सोही अनुरुप नेपालगन्जवासीले चक्रपथ निर्माण पूरा हुने आशा राखेका थिए । तर, चक्रपथ निर्माण कार्यलाई पूर्णता दिने सम्भावना भने तत्काललाई टरेको छ।

पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको परिकल्पनामा अगाडि सारिएको चक्रपथ निर्माण  तत्कालका लागि टरेको सम्बद्ध पक्षले बताएका छन् । चार वर्षअघि नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २० मनिकापुर (राँझा) देखि सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहर हुँदै स्थानीय महेन्द्र बहुमुखी क्याम्पस तथा पश्चिम क्षेत्रको चौलिका चोकदेखि जानकी गाउँपालिकाको ईन्द्रपुर हुँदै पश्चिमी सिक्टाको नहरमा जोडिने गरी चक्रपथको सर्भे गरिएको थियो । सर्भेका क्रममा चक्रपथ २३ दशमलब ८ सय ६० किलोमिटर लामो हुने बताइएको थियो।

चक्रपथ निर्माण कार्य थालिएपछि ऐतिहासिक सहर नेपालगन्जको मुहार फेरिने आशा गरेका स्थानीय बासिन्दा काम रोकिएपछि निराश बनेका छन्।

नेपालगन्जमा बढ्दो सवारी चाप व्यवस्थित गर्न तथा नगरलाई आकर्षक बनाउने उद्देश्यसहित ‘कुभु बोध मार्ग’ नाम दिएर चक्रपथ निर्माण योजना अघि बढाइएको थियो । सोहीअनुसार सरकारले पनि चक्रपथका लागि हरेक वर्ष बजेट विनियोजन गर्दै आएको छ । तर कोइरालाको निधनपछि केन्द्रसँग बलियो पहुँच नपुग्दा योजना पनि पूरा हुन नसकेको  सम्बद्ध स्रोतले जनाएको छ।
 
‘एक त चक्रपथ कमजोर हिसाबले सर्बे गरियो, अर्को कुरा केन्द्रसँग बलियो पहुँच भएका नेता जिल्लामा कोही भएन,’ स्रोतले भन्यो, ‘यसै कारण चक्रपथ निर्माण योजना अलपत्र प¥यो, जुन नेपालगन्जवासीका लागि दुर्भाग्य हो ।’ चक्रपथ निर्माण कार्य थालिएपछि ऐतिहासिक सहर नेपालगन्जको मुहार फेरिने आशा गरेका स्थानीय बासिन्दा अहिले काम रोकिएपछि निराश बनेका छन् । सरकारले कुनै पनि हालतमा निर्माण कार्यलाई अघि बढाउनुपर्ने स्थानीयको माग छ । नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं  विकासका लागि नागरिक सरोकार समिति, बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ चक्रपथ निर्माण योजनालाई थाती राख्न नपाइने बताउँछन्।

‘चक्रपथ निर्माण योजनालाई किन थाती राख्न खोजियो, हामी अन्योलमा छौं,’ उनले भने, ‘कुनै पनि हालतमा यो योजना अघि बढाउनुपर्छ ।’ उनले नेपालगन्जवासीको ढुकढुकी चक्रपथलाई अलपत्र नपार्न सम्बद्ध सबै पक्षलाई आग्रह गरे।

चक्रपथ निर्माण अलपत्र पर्नुमा विशेषगरी सिक्टा सिँचाइ आयोजनाको नहर प्रमुख बाधक रहेको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । ‘पहिलो कुरा त चक्रपथका लागि जुन ठाउँमा सर्बे गरिएको थियो, त्यो ठाउँ पूरै नहर क्षेत्रमा पर्ने भएछ, अर्को कुरा चक्रपथ परेको ठाउँमा जग्गाधनीलाई मुआब्जा दिँदा नै अर्बांै खर्च हुने देखियो, मुआब्जा दिन सम्भव नभएपछि चक्रपथ बन्ने स्थिति भएन,’ मेयर धबलशमशेर राणाले नियमित पत्रकार भेटघाट क्रममा यसैसाता भनेका थिए ।  सिक्टाको नहर निर्माण सम्पन्न नभएका कारण चक्रपथ निर्माण अघि बढ्न नसकेको उनको भनाइ छ।     

‘मेरो पनि चक्रपथ निर्माण होस् भन्ने चाहना छ, सोही अनुसार स्थलगत निरीक्षण गरेको थिएँ तर सिक्टा सिँचाइ नहर र मुआब्जा समस्याले यो योजना बीचमै रोक्नुप¥यो,’ उनले भने । उनका अनुसार सिक्टा नहरको करिब ९० प्रतिशत भागमा चक्रपथ क्षेत्र परेको छ । ‘नराम्रो छवि बनाएको ठेकेदार कम्पनी पप्पु कन्ट्रक्सन कम्पनीले सिक्टाको पश्चित क्षेत्रको नहर निर्माण कार्य रोकेको छ, त्यसले चक्रपथलाई पनि असर गरेको छ,’ एक प्राविधिकले भने । हाललाई चक्रपथ निर्माण योजना अघि बढ्ने सम्भावना नरहेको समन्वय गर्दै आएको सडक डिभिजन कार्यालयले जनाएको छ।

सडक डिभिजन कार्यालय, नेपालगन्जका प्रमुख अर्जुनकुमार बमले चार वर्षअघि सुरु भएको चक्रपथ निर्माण कार्य अहिले आएर रोकिएको बताउँदै भने, ‘चक्रपथ क्षेत्र र सिक्टा नहर एउटै ठाउँमा भयो, चक्रपथको काम नहुँदा त्यसको  बजेट पुल निर्माणमा खर्च ग¥यौं ।’ सडक डिभिजन कार्यालयका अनुसार सरकारले चक्रपथका लागि दुई करोड २० लाख रुपैयाँ सुरु चरणमा विनियोजन गरेको थियो । त्यो रकममध्येबाट ८ सय २३ मिटर लामो चौलिकाचोक नजिक बनाइएको चक्रपथ कालोपत्रे गरिएको कार्यालयले जनाएको छ । त्यसका लागि ठेकेदारले एक करोड तीन लाख ८३ हजार रुपैयाँ भुक्तानीसमेत लिएको बताइएको छ । सरकारले त्यसपछि पनि हरेक वर्ष चक्रपथ निर्माणका लागि करोडौं बजेट छुट्याउँदै आएको छ । गत आर्थिक वर्षमा पनि ७ करोड ४५ लाख बजेट चक्रपथ निर्माणका लागि विनियोजन गरिएको थियो । चालू वर्षमा ७ करोड ३५ लाख रुपैयाँ विनियोजन भएको बमले जानकारी दिए।

‘सरकारले बजेट निरन्तर रुपमा विनियोजन गरेकै हो तर चक्रपथ निर्माण गर्न सकिएन,’ उनले भने । सिक्टाले नहर निर्माण कार्यमा ढिला गर्दा र चक्रपथका लागि तीन मिटर मात्रै क्षेत्र दिने बताएपछि प्राविधिक रुपमै यो योजना फेल भएको सडकका प्राविधिक बताउँछन् । ‘५÷६ मिटर चौडा भएको नहर निर्माणको बाटोमा सिक्टाले तीन मिटरजति मात्रै दिनसक्ने बतायो, अर्को कुरा नहर पनि निर्माण भएको छैन, हामीले कसरी चक्रपथ निर्माण अघि बढाउने,’ सडक डिभिजन प्रमुख बमले भने।

 

प्रकाशित: २१ माघ २०७४ ०३:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App