८ वैशाख २०८१ शनिबार
राजनीति

पहिलो बैठकको व्यग्र प्रतिक्षा

सुर्खेत- वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीलाई आइतबार बस्ने प्रदेशसभाको पहिलो बैठकको व्यग्र प्रतिक्षा छ। ‘संघीयता कार्यान्वयनको औपचारिक सुरुवात पनि पहिलो बैठकबाटै हुन्छ’ नगर प्रमुख सुवेदीले भने, ‘संघर्षले प्राप्त प्रदेश भएकाले शहिदहरुको योगदान र उनीहरुले कल्पना गरेको विकासको चाहनामा संसद बैठक केन्द्रीत हुने अपेक्षा गरेको छु।’
उनले आफ्नो कार्यक्षेत्रभित्र प्रदेश संसदको बैठक हुनु अझ उत्साहपूर्ण रहेको बताए । ‘मेरो कार्यक्षेत्रभित्र प्रदेशसभाको बैठक बस्ने भएकाले पनि यसमा विशेष चासो हुने भैहाल्यो’ मेयर सुवेदीले भने, ‘म मात्रै होइन् सम्पूर्ण प्रदेशबासीले यो बैठक लागि व्यग्र प्रतिक्षा गरिरहेका छन् ।’
सुवेदीजस्तै धेरैलाई प्रदेश सभाको पहिलो बैठक चासोको विषय बनेको छ । बैठकको समाचार संकलनका लागि ५० भन्दाबढी पत्रकारले प्रदेशसभा सचिवालयबाट प्रवेशपत्र बनाएका छन् । बैठक कक्षभित्र प्रदेशसभाका ४० सांसद, २० जना विशिष्ट व्यक्ति र १० जना पत्रकारलाई मात्रै प्रवेश दिइने छ । ‘बैठकस्थल सानो भएकाले एक पटकका लागि १० जना पत्रकारका लागि मात्रै हामीले प्रदेश अनुमति दिएका छौं’ संसद सचिवायलका कृष्णध्वज खड्काले भने, ‘नेपाल पत्रकार महासंघको समन्वयमा सबै पत्रकारका लागि पालो प्रणाली अपनाइएको छ ।’
शनिबार प्रदेश प्रमुख दुर्गाकेशर खनाल आफै संसदसभा सञ्चालन हुने स्थलमा पुगे । ‘हामी नयाँ अभ्यासमा छौं, प्रदेशसभा सचिवालय सबैको चासोको केन्द्र बनेको छ’ प्रदेश प्रमुख खनालले भने, ‘सचिवालयमा भइरहेको काम र आइतबार (आज) बस्ने संसद बैठकको तयारीका बारेमा बुझ्नका लागि आएको हुँ ।’
बैठक कक्षबाहिर टेन्ट राखिएको छ । प्रदेशसभा परिसरको पास पाएका पत्रकार र आगन्तुकका लागि टेन्टभित्रै राखिएको टेलिभिजनमार्फत प्रदेशसभाको पहिलो बैठकको प्रत्यक्ष प्रसारण देखाइने छ । प्रदेशसभा सचिवालयको सुरक्षाका लागि तैनाथ सुरक्षाकर्मीका लागि क्षेत्रीय सिँचाइ विकास डिभिजन कार्यालयको ग्यारेज र दुई वटा टेन्टको व्यवस्था गरिएको छ ।
संसद सचिवायलका कृष्णध्वज खड्काले आइतबार दिउँसो १ बजे प्रदेशसभाको हिलो बैठक बस्ने जानकारी दिए । सरकार गठन नभएकोले पहिलो सभामा सत्तापक्ष र प्रतिपक्षीको लागि छुट्टै स्थान व्यवस्था नगरिएको उनको भनाई छ । दलको हैसियतअनुसार सभाकक्षमा बस्ने व्यवस्था मिलाइएको छ ।
 

प्रकाशित: २० माघ २०७४ १४:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App