८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

७ सय ८२ दिने लामो प्रदर्शन अन्त्य

नयाँ दिल्ली – भारतको दक्षिणी राज्य केरलाका एक मानिसले सात सय ८२ दिन लामो प्रदर्शन अन्त्य गरेका छन् । तोडेका छन् ।भारतको संघीय एजेन्सीले उनको भाइको मृत्युका बारेमा अनुसन्धान थालेपछि उनले आन्दोलनको कार्यक्रम अन्त्य गरेको बिबिसीले जनाएको छ ।

मोबाइल फोन चोरेको भन्दै प्रहरीले पक्राउ गरी आफ्नो भाइको हत्या गरेको आरोप लगाउँदै एसआर श्रीजिथ नामका ती व्यक्तिले दोषीमाथि कारबाही हुनुपर्ने माग गर्दै प्रदर्शन सुरु गरेका थिए । उनले भाइको हत्याका बारेमा स्वतन्त्र छानबिन हुनुु पर्ने माग गर्दै गरेको आन्दोलनलाई पछिल्ला केही महिना सामाजिक सञ्जाल प्रयोगकर्ताको पनि राम्रो साथ मिलेको थियो ।

उनको मागलाई लिएर सामाजिक सञ्जालमा ‘जस्टिस फर श्रीजिथ’ अर्थात् श्रीजिथलाई न्याय नामको ह्यासट्यागसमेत व्यापक मात्रामा प्रयोग भएको थियो । उनको विज्ञप्तिलाई संघीय जाँचबुझ आयोगका अनुसन्धान अधिकारीहरुले रेकर्ड गरेपछि उनले सात सय ८२ दिने लामो प्रदर्शन अन्त्य गरेका थिए । सर्वसाधारणको बढ्दो दबाबपछि केरला राज्यका विधायकहरुले आन्तरिक प्रहरीलाई श्रीजिथको भाइको हत्याका बारेमा अनुसन्धान गर्न आदेश दिएका थिए ।

तर श्रीजिथले आफ्नो भाइको हत्याका अनुसन्धान आन्तरिक प्रहरीबाट भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई)लाई हस्तान्तरण गर्नुपर्ने माग गरेका थिए । श्रीजिथका २६  वर्षीय भाइ श्रीजिभले प्रहरी हिरासतमै आत्महत्या गरेको बताउने गरेपनि उनको परिवारका सदस्यले भने उनको हत्या भएको बताउँदै आएका छन् । उनीहरुले श्रीजिभको एक प्रहरी अधिकारीको आफन्त पर्ने केटीसँग प्रेम भएकै कारण प्रहरीले उसको हत्या गरेको आरोप लगाउने गरेका छन् । ती महिलाको अर्कै केटासँग तय भएको विवाहको निर्धारित समयभन्दा एक दिन अघि श्रीजिभलाई प्रहरीले पक्राउ गरेको थियो । आत्महत्याको प्रयास गरेपछि अस्पताल लगिएका श्रीजिभको भोलीपल्ट मृत्यु भएको प्रहरीले बताउने गरेको छ ।

प्रहरीको यातनाका कारण हिरासतमै मृत्यु भएपछि भारतीय प्रहरीले हत्या लुकाउनका लागि आत्महत्या र बिरामीलाई कारण देखाउने गरेको अधिकारवादी संस्था ‘ह्युमन राइट्स वाच’लाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । प्रहरी हिरासतमा बढी यातना दिने र हिरासतमै मृत्यु बढी हुने भनेर चिनिने देश भारतको अपराध रेकर्ड ब्युरोले जनाएअनुसार सन् २०१० देखि २०१५ का बीचमा मात्रै भारतभर त्यसरी मृत्यु हुनेको  संख्या पाँच सय ९१ रहेको छ । भाइको मृत्यु प्रहरी हिरासतमै भएको भन्दै प्रदर्शनमा उत्रिएका श्रीजिथका कारण यस्ता घटनाप्रति सामाजिक सञ्जालमा प्रहरीविरुद्ध आक्रोश बढिरहेको छ ।

पछिल्ला केही महिना भारतभर उनी र उनले गरेको प्रदर्शनका तस्बिरहरु सामाजिक सञ्जाल फेसबुक र ट्विटरभर छाएका छन् । उनलाई समर्थन गर्दै सामाजिक सञ्जाल प्रयोगकर्तामा तस्बिर राख्नेको संख्यामा पनि पछिल्ला महिना उल्लेख्य रूपमा वृद्धि भएको छ । उनलाई केरला राज्यका केही उच्च ओहोदाका मानिसले पनि समर्थन गरेको बिबिसीले जनाएको छ ।  

 

प्रकाशित: १९ माघ २०७४ ०४:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App