८ वैशाख २०८१ शनिबार
अर्थ

आइएईको इन्जिन भाडामा लिने निगमको निर्णय

काठमाडौं – नेपाल वायुसेवा निगमले एक महिनादेखि भारतको नयाँदिल्लीमा थन्किएको एउटा जहाज उडाउन अमेरिकी इन्जिन निर्माता कम्पनी ‘इन्टरनेसनल एरो इन्जिन’ (आइएई) सँग एकथान इन्जिन भाडामा लिने निर्णय गरेको छ । यसका लागि निगमले महिनाको १ लाख ५० हजार अमेरिकी डलर (१ करोड ५० लाख रुपैयाँ) तिर्ने सम्झौता गरेको छ। 

निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग २०७१ माघ २५ गते खरिद गरी ल्याएको १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०–२००’ सिरिजको उक्त जहाज गत पुस १० देखि दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ छ । त्यही जहाज उडाउन निगमले आइएईसँग एकथान इन्जिन भाडामा लिने निर्णय गरेको हो। 

एयरबस ३२० जहाजका लागि एकथान इन्जिन महिनाको डेढ करोडका दरले चार महिनाका लागि भाडामा लिइने

निगमलाई एकथान इन्जिन भाडामा दिन अमेरिका र युरोपका दुई कम्पनीले प्रस्ताव पेस गरेका थिए । एउटा अमेरिकाको आइएई र अर्को इन्जिन मर्मत गर्ने जर्मनीको एमटियु नामको कम्पनी थिए । तीमध्ये आइएईको प्रस्ताव सस्तो भएका कारण निगमले आइएई रोजेको हो । हाल ग्राउन्डेड निगमको जहाजमा यही आइएईकै इन्जिन छन् । अर्को कम्पनी एमटियुले भने मासिक १ लाख ५७ हजार ५ सय डलर (१ करोड ५७ लाख ५० हजार रुपैयाँ) प्रस्ताव गरेको थियो। 

उक्त जहाजको बायाँ इन्जिनले पूर्णरूपमा काम गर्न छाडेपछि नयाँ वा ‘सेकेन्ड ह्यान्ड’ इन्जिन फेर्ने, त्यसैलाई मर्मत गर्ने र भाडामा लिने विकल्प निगमसँग थिए । नयाँ इन्जिन खरिद गर्नुपरे १ अर्बभन्दा बढी र सेकेन्ड ह्यान्ड लिए ६० करोड रुपैयाँहाराहारी पर्ने छ । त्यसकारण निगम व्यवस्थापनले भाडामा लिने विकल्पलाई निगम सञ्चालक समितिले अनुमोदन गरेको थियो । एक महिनादेखि जहाज ग्राउन्डेड हुँदा निगमले करोडौं आम्दानी गुमाइरहेको छ।

‘दिल्लीमा ग्राउन्डेड जहाजलाई सकेसम्म चाँडै उडाउन आइएईसँग एकथान इन्जिन भाडामा लिने निर्णय गरेका छौं,’ निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बुधबार नागरिकसँग भने, ‘यसका लागि प्रतिमहिना १ करोड ५० लाख रुपैयाँ भाडा तिर्ने सम्झौता भएको छ । हामी चार महिनासम्म भाडाका इन्जिन प्रयोग गर्ने छौं।’

उनका अनुसार बिग्रिएको इन्जिन आइएईले नै मर्मत गरिदिने सहमति समेत भएको छ । इन्जिन मर्मत गर्न चार महिनाजति लाग्ने अनुमान छ । यो इन्जिन मर्मत गर्न १÷२ करोडदेखि ५÷६ करोड रुपैयाँ कति खर्च लाग्छ अहिले यकिन गर्न सकिँदैन, मर्मतपछि मात्र थाहा हुन्छ।

आइएईसँग भाडामा लिने इन्जिन अमेरिकामा रहेको र त्यसलाई सिंगापुरसम्म ल्याउन निगमले बुधबार बिमा रकम बेहोरेको कंसाकारले जानकारी दिए । ‘अबको ८ देखि १० दिनभित्र दिल्लीबाट हाम्रो जहाज सिंगापुर जान्छ र भाडाको इन्जिन जडान गरेपछि नियमित उडानमा फर्किन्छ,’ उनले भने। 

उनका अनुसार एउटा इन्जिनले काम नगरे पनि जहाज निर्माता एयरबस र इन्जिन निर्माता आइएईले इन्जिन फेर्न जाने गन्तव्य (दिल्लीबाट सिंगापुर) सम्म ‘फेरी फ्लाइट’ को अनुमति दिएपछि जहाज उडाएर लगिने छ।  

दुइटै कम्पनीबाट प्राप्त प्राविधिक र वित्तीय प्रस्ताव मूल्यांकन गरेपछि निगम व्यवस्थापनले आएईको प्रस्ताव सस्तो र उपयुक्त ठहर गरेको थियो । आइएईले जस्तै एमटियुले पनि निगम जहाजको बिग्रिएको इन्जिन मर्मत गरिदिने प्रस्ताव गरेको थियो।  

कलसाइन ‘९एन–एकेडब्लु’ भएको निगमको ‘ए३२०–२००’ सिरिजको उक्त जहाज नियमित तालिकाअनुसार पुस १० गते भारतको नयाँदिल्ली गएको थियो । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि जहाजको बायाँ इन्जिनमा समस्या उत्पन्न भएको थियो । निगमका इन्जिनियरहरूले धेरै प्रयास गर्दा पनि काम नगरेपछि इन्जिन फेर्नैपर्ने निष्कर्ष निस्किएको थियो। 

सम्बद्ध अधिकारीका अनुसार निगमसँग रहेका दुइटै ए३२० जहाजमा अमेरिकी इन्जिन निर्माता कम्पनी आइएईका चारथान इन्जिन छन् । जहाज एयरबसले निर्माण गरे पनि इन्जिन आइएईका हुन् । जहाज खरिद गर्दा जति मूल्य पर्छ, त्यसको ८० प्रतिशत हिस्सा दुईथान इन्जिनले ओगट्ने गर्छ। 

दिल्लीमा ग्राउन्डेड जहाजका दुईथान इन्जिनको ‘वारेन्टी’ अवधि पनि समाप्त भइसकेको छ । त्यसको वारेन्टी अवधि ७ हजार घन्टा उडान समयबराबर थियो । वारेन्टी बाँकी भएको भए आइएईले मर्मत गरेर तोकिएको समयमै दिन्थ्यो।

निगमसँग अन्तर्राष्ट्रिय उडान गर्न अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित १ सय ९० सिट क्षमताको ‘बि७५७–२००’ सिरिजको एकथान तथा दुईथान ए३२० जहाज छन् । तीन जहाजबाट निगमले भारत, कतार, थाइल्यान्ड, मलेसिया, युएई र हङकङका आठ गन्तव्यमा उडान गरिरहेको छ। 

उसले भारतका नयाँदिल्लीका लागि सातामा सात, मुम्बई र बैंगलोर तीन–तीन तथा युएईको दुबईका लागि सातामा चार उडान गरिरहेको छ । त्यसैगरी कतारको दोहा, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, र हङकङ प्रत्येक गन्तव्यका लागि सातामा तीन–तीन उडान गरिरहेको छ । एकथान ए३२० थन्किएपछि निगमले केही गन्तव्यका उडान संख्या कटौती गरेको छ। 

 

 

प्रकाशित: १८ माघ २०७४ ०९:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App