coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानमा भूकम्प, एकको मृत्यु

इस्लामाबाद – पाकिस्तानमा बुधबार शक्तिशाली भूकम्प गएको छ ।बुधबारको भूकम्प ६.२ म्याग्निच्युड रहेको पाकिस्तानको राष्ट्रिय भूगर्भ विभागले जनाएको छ ।

भूकम्पका कारण एक बालकको मृत्यु भएको र अन्य नौ जना घाइते भएको उक्त विभागले जानकारी दिएको छ । भूकम्पका कारण पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलोचिस्तानको लसबेला जिल्लाको बेला सहरमा माटोबाट बनेका दुई वटा घर भत्किएको बताइएको छ । सोही घरमा परी ती बालकको मृत्यु हुनुका साथै अन्य नौ घाइते भएको बताइएको छ । भूकम्प प्रभावित इलाकामा उद्धारकर्ताको समूह परिचालन गरिएको बताइएको छ ।

लसबेला जिल्लाका अस्पतालहरूमा राज्य संकटको घोषणासमेत गरिएको छ । राजधानी इस्लामाबादबाट दक्षिणपश्चिममा पर्ने बलोचिस्तान प्रान्तको विभिन्न भागलगायत खैबर पाख्तुनख्वा र पूर्वी पञ्जाव पनि यस भूकम्पबाट प्रभावित भएको बताइएको छ ।

स्थानीय  समयानुसार बुधबार मध्याह्न १२ बजे सात मिनेटमा सो भूकम्प गएको बताइएको छ । यस भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको हिन्दू कुस क्षेत्रमा एक सय ६९ किलोमिटर गहिराइमा रहेको जनाइएको छ । पाकिस्तानमा सन् २०१५ को अक्टोबरमा गएको ७.५ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा दुई सय ८० व्यक्तिको मृत्यु हुनुका साथै एक हजार नौ सय व्यक्ति घाइते भएका थिए ।

    

 

प्रकाशित: १८ माघ २०७४ ०४:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App