८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

केन्यामा टेलिभिजन माथि हस्तक्षेप

राजधानी नैरोबीमा आयोजित सांकेतिक राष्ट्रपतीय पदको शपथ लिँदै केन्याली विपक्षी गठबन्धन नेसनल सुपर अलायन्स (नासा) का नेता राइला ओडिङ्गा । तस्बिर : रोयटर्स


नैरोबी – केन्याका तीनवटा ठूला टेलिभिजन स्टेसन बन्द गराइएका छन् ।केन्याका विपक्षी नेताको राजधानी नैरोबीमा भएको अनाधिकारिक शपथ ग्रहण समारोहलाई प्रसारण गरेपछि केन्याली सरकारले अर्को सूचना जारी नभएसम्मका लागि ती टेलिभिजन स्टेनसन बन्द गराएको बिबिसीले जनाएको छ ।

अनुसन्धान नसकिएसम्म ती टेलिभिजन स्टेसन बन्द रहने केन्याका आन्तरिक मन्त्री फ्रेड माटियाङीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । आन्तरिक मन्त्रीको यस्तो अभिव्यक्ति सार्वजनिक भएसँगै विपक्षी दलका नेता टम काजवाङलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

मंगलबार भएके विपक्षी नेता राइला ओडिङ्गाको सांकेतिक राष्ट्रपतीय शपथ कार्यक्रम गराउन सांसद काजवाङले महत्वपूर्ण भूमिका खेलेका थिए । उनले ओडिङ्गालाई जनताको राष्ट्रपतिका रूपमा परिचित बनाउन खोजेका थिए । राजधानी नैरोबीस्थित उहुरु पार्कमा भएको कार्यक्रममा सम्बोधन गर्दै सांसद काजवाङले हजारौं विपक्षी समर्थकलाई मन्त्रमुग्ध बनाएका थिए । उनलाई प्रहरीले हिरासतमा किन लियो भन्नेबारेमा भने केही प्रष्ट नभएको बिबिसीले उल्लेख गरेको छ ।

केन्याका आन्तरिक मन्त्रीले देशको तीनवटा प्रमुख टेलिभिजन स्टेसनलाई बन्द गराउनु परेको कारणका बारेमा विस्तृत रूपमा बताए पनि सरकारले जारी गरेको विज्ञप्तिमा टेलिभिजनहरुले प्रशारण गरेको विपक्षी नेताको कार्यक्रमले सरकारलाई पदस्थापना गर्न खोजेको आरोप लगाइएको छ । विज्ञप्तिमा विपक्षीको यस्तो कार्यक्रमले सोझा हजारौं केन्याली नागरिकको मृत्युसमेत हुन सक्थ्यो भनिएको छ । सरकारले केन्याका तीन टेलिभिजन स्टेसन एनटिभी, केटिएन र सिटिजन टिभीलाई मंगलबार स्थानीय समय अनुसार नौ बजेर १० मिनेटबाट प्रसारण बन्द गराएको बिबिसीले उल्लेख गरेको छ ।

सरकारको यस्तो कदमको केन्याली पत्रकारहरुले निन्दा गरेका छन् । उनीहरुले टेलिभिजन च्यानल बन्द गरिनु अन्यायपूर्ण भएको भन्दै संविधानको सम्मान गर्न सरकारलाई विज्ञप्तिमार्फत् आग्रह गरेका छन् । उनीहरुले केन्याली इतिहासमा नभएको यस्ता खालको घटना गरेर पत्रकारलाई डर नदेखाउनसमेत सरकारलाई चेतावनी दिएको बिबिसीले जनाएको छ । तर केन्याको आन्तरिक मन्त्रालयले भने सुरक्षा संवेदनशीलताका आधारमा यस्तो कदम अनिवार्य भएको बताएको छ ।

‘हिजो जे भयो त्यसको प्रतिक्रियास्वरुप सरकारले व्यक्तिलक्षित अनुसन्धान सुरु गरेको छ । सरकारको अनुसन्धान नसकिएसम्म सञ्चारगृह बन्द रहनेछन्,’ आन्तरिक मन्त्री माटियाङीले पत्रकारलाई बताए ।केन्याका विपक्षी नेता ओडिङ्गाले गत वर्ष सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति उहुरु केन्याटाले धाँधली गरेको आरोप लगाउँदै आएका छन् । उनले मंगलबार गत वर्षको निर्वाचनको आफू मात्रै वास्तविक विजेता भएको भन्दै सांकेतिक रूपमा राष्ट्रपतिका शपथ लिएका थिए ।

गत नोभेम्बरमा केन्याटाले राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालका लागि शपथ लिएका थिए । अक्टोबरमा दोहोर्याएर भएको राष्ट्रपतीय निर्वाचनमा विपक्षी नेता ओडिङ्गाले भाग लिएका थिएनन् । केन्याको सर्वोच्च अदालतले पुनः निर्वाचन गर्न आदेश दिएपछि अक्टोबरमा निर्वाचन भएको थियो ।मंगलबार ओडिङ्गाले गरेको सांकेतिक शपथ ग्रहण कार्यक्रममा उनी समर्थक हजारौं मानिस भेला भएका थिए र कार्यक्रम शान्तिपूर्वक भएको थियो । सिटजिन टिभीले आफ्नो वेबसाइट, युट्युब र फेसबुकमार्फत् उक्त कार्यक्रको प्रत्यक्ष प्रसारण गरेको थियो ।

 

 

प्रकाशित: १८ माघ २०७४ ०४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App