coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

कांग्रेसभित्र ‘बुट पालिस’

नेपाली कांग्रेसमा शुद्धीकरणको माग राख्दै केही युवा नेताले सुरु गरेको ‘बुट पालिस आन्दोलन’ ले पार्टी पंक्तिमात्र होइन, सर्वसाधारणलाई समेत तरंगित पारेको छ । उदार लोकतान्त्रिक मूल्यमान्यतामा विश्वास गर्ने मुलुककै पुरानो दल भएकाले पनि जनताको अपेक्षा हुनु स्वाभाविक हो । तर, विगतमा कांग्रेसले लिएका नीतिका कारण निर्वाचनमा जेजसरी कमजोर बन्यो, यसलाई लिएर कांग्रेसप्रति प्रश्न पनि उत्तिकै मात्रामा उठिरहेका छन् । अझ विशेष गरी पार्टीको नेतृत्वमाथि प्रश्न उठिरहेको छ । धन्य, समानुपातिकतर्फको मत परिणाम ! जसले नेतृत्वलाई थोरै भए पनि भरोसा दिएको छ । नेतृत्वमाथि आवाज उठाइरहेकालाई मत्थर पार्न पनि यो परिणाम प्रस्तुत गरिएको छ । समानुपातिकमा कांग्रेसको उपस्थिति प्रत्यक्षतर्फको निर्वाचनमा पहिलो स्थानमा रहेको एमालेकै हाराहारीमा छ । तैपनि कांग्रेसले जे–जस्तो उपलब्धि निर्वाचनमा हासिल गर्नुपर्ने थियो, त्यो हुन नसकेको अनुभव दलका नेताकार्यकर्ताको छ । कांग्रेसका केही नेता कुनै बेला अविचलित त्यागका निम्ति चिनिन्थे । त्यसमध्येका एक थिए– सन्त नेता कृष्णप्रसाद भट्टराई । उनकै नाममा स्थापित संस्था कृष्णप्रसाद भट्टराई प्रतिष्ठानको ब्यानरमा सुरु भएको ‘बुट पालिस आन्दोलन’ मा युवा नेता धनराज गुरुङ, चन्द्र भण्डारी आदिको नाम जोडिएको छ । यी युवाले आफ्नो दलको कमजोर प्रस्तुतिको निदान शुद्धीकरण अभियानबाट गर्न सकिन्छ भन्ने सोच बनाउनु आफैंमा सकारात्मक छ।

राजनीतिक नेतृत्वले आफूलाई सुधार गर्ने र युवाहरूले त्यसका लागि निरन्तर आफूलाई क्रियाशील गरिरहने हो भने ‘बुट पालिस’ आन्दोलनको सार्थकता हुनेछ।

२०१७ सालमा प्रजातन्त्र अपहरणमा परेयता कांग्रेसले ३० वर्षसम्म संघर्ष गरेको इतिहास छ । पछि वामपन्थीसँगको सहकार्यबाट मुलुकमा प्रजातन्त्र पुनस्र्थापनमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह ग¥यो । सत्तामा रहेका बेला कांग्रेसको प्रस्तुति सकारात्मक हुन सकेन । प्रायः यो आफ्नै आन्तरिक गुटबन्दीको सिकार बन्यो । जनआन्दोलन २०४६ को सफलतापछि सुविधाजनक बहुमतमा रहेको कांग्रेसको सरकार तीन वर्ष पनि टिक्न सकेन । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मुलुकलाई मध्यावधि निर्वाचनमा लैजाने काम गरे पनि त्यसले कांग्रेसलाई दोस्रो दलका रूपमा स्थापित गर्न पुग्यो । त्यसयता कुनै पनि दलले भरपर्दो गरी सत्ता सञ्चालन गर्न सकेका छैनन् । अस्थिर सरकारका कारण मुलुकले कहिल्यै प्रगति गर्न सकेन भन्ने यतिबेला सबैलाई लागिरहेको छ । त्यसो त सरकार परिवर्तन चाँडोचाँडो हुनेमा दक्षिण कोरियाजस्ता मुलुक पनि छन् । तर सरकार परिवर्तनले मुलुकको विकास र प्रगति अवरुद्ध गरेको देखिँदैन । हामीकहाँ भने सरकार परिवर्तन र राजनीतिक अस्थिरताका नाममा कुनै पनि काम समयमा हुँदैनन् । पुरानो सरकारको बहिर्गमन र निर्वाचनबाट नयाँ सरकार आउने यो बेलामा संक्रमणकै क्रममा केही महिनादेखि विकास निर्माणका काम पूरै ठप्प छन् । यस्तो परिवेशमा स्थिरताका नाममा वाम गठबन्धनले बहुमत ल्याउने मौका पाएको छ । मुलुकमा स्थिरताले विकास ल्याउँछ भन्ने उत्साह एकातिर भए पनि कांग्रेस कमजोर हुँदा मुलुकका प्रजातान्त्रिक संस्थाहरू पनि कमजोर हुन सक्ने भय पनि उत्तिकै छ । आर्थिक क्षेत्रमा विचलनकारी अभिव्यक्तिहरू सरकार नबन्दै आउन थालेका छन् । यो स्थितिमा कांग्रेस युवाहरूले शुद्धीकरणका लागि थालेको अभियान पक्कै पनि समग्रमा मुलुकको हितनिम्ति उन्मुख हुन प्रेरित गर्नेछ।

संसारभरि प्रजातान्त्रिक संस्थाहरू कमजोर हुन थालेका छन् । अतिवादी नाराहरूले निर्वाचनमा विजय प्राप्त हुन थालेको छ । अमेरिकाजस्ता दरिला मुलुकका प्रजातान्त्रिक संस्थासमेत धर्मराउन थालेका छन् । हामीकहाँ प्रजातन्त्रका खम्बाहरू आफैंमा कमजोर देखिन थालेका छन् । संसद्, न्यायालय र अन्य संवैधानिक अंगले अपेक्षित काम गर्न नसक्ने स्थिति सिर्जना हुँदै गएमा प्रजातन्त्रप्रतिको जनविश्वास कमजोर हुन सक्ने देखिन्छ । दुई सय वर्षयता संसारभरि प्रजातन्त्रको जसरी विकास भइरहेको थियो, त्यो गति यतिबेला रोकिएको अनुभव धेरैले गर्दै आएका छन् । निर्वाचनमा प्रचण्ड बहुमत ल्याएर फेरि तानाशाही स्थापना गर्नेतर्फ कैयन् मुलुक उन्मुख भएका छन् । प्रजातन्त्र भएका मुलुकमा प्रगति र विकास हुन्छ भन्ने विश्वासलाई चीनजस्ता राजनीतिक स्वतन्त्रता नभएका मुलुकको आर्थिक प्रगतिले खण्डित गरिरहेको छ । यस्तो विचलित वर्तमानमा कांग्रेसजस्तो वैयक्तिक स्वतन्त्रताका निम्ति प्रतिबद्ध दल कमजोर हुन थाल्नु भनेको आफैंमा चिन्ताको विषय हो । र, पछिल्लो निर्वाचनका क्रममा कांग्रेसको अवस्थालाई लिएर अनेकन् लेखकले निरन्तर कलम चलाइरहेका छन् । कांग्रेसको अहिलेको गुमेको अवसरलाई ध्यानमा राखेर यसभित्रका सम्भावना भएका युवा नेताहरूले पहल थाले भने पक्कै पनि केही वर्षमै स्थिति फरक हुनेछ । राजनीतिक नेतृत्वले आफूलाई सुधार गर्ने र युवाहरूले त्यसका लागि निरन्तर आफूलाई क्रियाशील गरिरहने हो भने ‘बुट पालिस’ आन्दोलनको सार्थकता हुनेछ । दलभित्रको भ्रष्टीकरणले मुलुक र प्रजातन्त्र दुवैलाई थप कमजोर हुनबाट जोगाउन युवा कांग्रेसको काँधमा गम्भीर जिम्मेवारी छ।

प्रकाशित: १८ माघ २०७४ ०४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App