५ वैशाख २०८१ बुधबार
समाज

भारतीय जेलबाट नेपाली बालिकाको उद्दार

रुकुम- भारतको उत्तर प्रदेश स्थित बहराइज जेलवाट एक नेपाली बालिकाको उद्दार गरिएको छ। जिल्ला बालकल्याण समितिको प्रयास पछि यहाँस्थित आठवीसकोट नगरपालिकाकी ६ बर्षिया बालिकाको उद्दार गरिएको हो।

उनकी आमा पाँच वर्ष देखी उक्त जेलमा परेपछि बालिका आमा संगै जेलमा थिइन्। उनकी  आमा लागू औषध बिक्रि बितरण तथा ओसारपसारमा संलग्न रहेको आरोपमा जेलमा छिन्। भारत उत्तर प्रदेश स्थित बहराइज जेलमा आमासगै बसेकी बालिकाले उद्दार पछि खुशी भएका छिन्। जेलबाट उद्दार गर्न नेपालबाट जिल्ला बालकल्याण समिति रुकुम (पश्चिम) का बाल अधिकार अधिकृत मानबीर ओली र २०१६ की सिएनएन हिरो पुष्पा बस्नेत बहराइज गएका थिए। ‘बालिकाको उद्दार प्रक्रिया एक महिना जति लाग्यो’ बाल अधिकार अधिकृत ओलीले भने, ‘बहराइजमा दुई दिन लाग्यो।’

उद्दार पछि बालिकालाई प्रारम्भिक बालविकास केन्द्र काठमाडौंमा पठनपाठनको लागि पुष्पा बस्नेतलाई हस्तान्तरण गरिएको उनले जानकारी दिए। बालिका नेपाल फर्काउन भारत प्रशासन र बालकल्याण समिति बहराइजको पनि महत्वपूर्ण सहयोग बताइएको छ। भारत सरकारले छ वर्ष भन्दा बढी उमेरका बालबालिकालाई कारागारमा राख्न नमिल्ने भएपछि भारतमा बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था डिइएचएटी मार्फत जिल्ला बालकल्याण समिति रुकुमलाई पहिचान गरि उद्दार गर्ने जानकारी आएको थियो।

अदालतको फैसला अनुसार बालिकाकी आमाले जेल भुक्तान गर्न अब दुई वर्ष बाँकी छ। बालिकाकी आमा जेल परेपछि परिवारको सम्पर्कबाट बिच्छेद भएकी थिइन्। उनका पतिको एक बर्ष पहिले मृत्यु भएको थियो। तर जेलमा उनले पतिको मृत्युको खबर समेत सुन्न पाएकी थिइनन्। ‘बालिकाको जेलमा असहज स्थिति थियो’ बाल अधिकार अधिकृत आलीले भने, ‘खबर पाउना साथ हामीहरु उद्दारमा लागेका थियौं।’ जेलमा रहँदा पढ्नवाट बञ्चित वालिकाले पढ्ने इच्छा रहेको बताएकी थिइन्। पढेर विभिन्न देशमा जेल जीवन बिताएका वालवालिकाहरुको लागि काम गर्ने बालिकाको इच्छा रहेको बाल अधिकार अधिकृतले जानकारी दिए।

(समाचारमा बालिका र उनकी आमाको नाम गोप्यताका लागि नखुलाइएको हो।) – सं.

 

प्रकाशित: १६ माघ २०७४ १४:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App