८ वैशाख २०८१ शनिबार
अर्थ

हुलाकी राजमार्ग फराकिलो बनाउन माग

हुलाकी राजमार्ग फराकिलो गरी निर्माण गर्न आयोजना गरिएको कार्यक्रम । तस्बिर / नागरिक

बारा – वीरगन्ज–कलैया–बरियारपुर हुलाकी सडक खण्ड फराकिलो गरी निर्माण जननिर्वाचित प्रतिनिधिले माग गरेका छन् । सडक फराकिलो नगरी पुरानै संरचनामा फेरि निर्माण गर्न लागेपछि त्यसको विरोध सुरु भएको हो ।

आइतबार कलैया उपमहानगरपालिकाको पहलमा आयोजना गरिएको कार्यक्रममा राजमार्गलाई छुने विभिन्न स्थानीय तहका प्रमुख, प्रतिनिधि र प्रदेश सभाका सदस्यले सडकको मध्य भागबाट १५–१५ मिटर दायाँ–बायाँ फराकिलो गरी निर्माण गर्न हुलाकी राजमार्ग आयोजना कार्यालयसँग माग समेत गरेका छन् ।

वीरगन्ज उपमहानगरपालिकादेखि महागढीमाई नगरपालिकाको २० किलोमिटरसम्मको हुलाकी राजमार्गलाई आयोजनाले फराकिलो नगरी पहिलाकै अवस्थामा निर्माण अघि बढाएको बताइएको छ ।
स्च्छन्द÷पप्पु÷हिम सगरमाथाले हुलाकी राजमार्ग आयोजना कार्यालय वीरगन्जसँग ८५ करोड ८५ लाखमा सम्झौता गरी सो सडकलाई सात मिटर चौडा कालोपत्र सहित १२ मिटरमा निर्माण गर्न थालेको छ । सो सडकको कालोपत्रे अहिले पनि पाँच मिटरमा रहेको बताइएको छ ।नयाँ निर्माण गर्न लागिएको सडकले सवारी साधनको चाप धान्न नसक्ने भएपछि त्यसमा सुधार गर्नुपर्ने यस क्षेत्रका जनप्रतिनिधिको भनाइ छ ।

कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख राजेशराय यादवले पहिलादेखि नै सञ्चालनमा रहेको सडकलाई फेरि त्यही अवस्थामा बनाउँदा सरकारको लगानीको प्रतिफल आउन नसक्ने भएकोले मध्यभागबाट १५–१५ मिटर फराकिलो गरी निर्माण गर्नुपर्ने सुझाए ।

कलैया उपमहानगरपालिकाभित्र पर्ने सडक फराकिलो बनाउने कार्यमा जनप्रतिनिधि सहयोग गर्न तयार रहेको भन्दै १२ मिटरमा नभएर ३० मिटरमा सडक बनाउनुपर्ने माग प्रमुख यादवले गरे ।कार्यक्रममा प्रतिनिधिसभा सदस्य रामएकबाल मियाले ३० मिटरको ठाउँमा १२ मिटर बनाउँदा यसले प्रसौनी कलैया, बरियारपुर लगायत स्थानको विकासमा बाधा पुर्याउन सक्ने बताए ।कार्यक्रममा अर्का प्रतिनिधिसभा सदस्य रामबाबु यादवले अहिले हुलाकी सडकलाई ३० मिटरमा निर्माण नगरे सडकका लागि जग्गा खाली छाडेका स्थानीयले सो जग्गा अतिक्रमण गर्न सक्ने भएकोले त्यतातिर सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी रहेको बताए ।

कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले बरियारपुर कलैया वीरगन्ज सडक विस्तार गर्दा त्यसमा पर्ने जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयको भौतिक पूर्वाधार पहिला भत्काउने भएकाले सडकभित्र पर्ने भौतिक संरचना हटाउन कुनै समस्या नआउनेमा जोड दिए ।हुलाकी राजमार्ग योजनाका प्रमुख अनुठालाल पटेलले सात मिटर कालोपत्र सहित १२ मिटरमा सडकलाई निर्माण गर्ने कार्य सुरु भएको जानकारी गराएका छन् । सडकलाई १५–१५ गरी ३० मिटरमा निर्माण गर्न आफूले सडक निर्मााणमा पहल गर्ने कार्यक्रममा प्रतिबद्धता गरेका छन ।


 

प्रकाशित: १६ माघ २०७४ ०३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App