८ वैशाख २०८१ शनिबार
खेल

उपाधि लक्ष्यमा थ्री स्टार र मनाङ

इटहरी – फुटबलमा सामान्यतया इतिहास र वर्तमानको प्रदर्शनकै आधारमा जित्ने टोलीको अनुमान गरिन्छ । थ्रिस्टार र मनाङ मस्र्याङदी क्लब काठमाडौं इटहरीमा जारी मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधिका लागि शनिबार (आज) भिड्दै छन । मोफसलकै सर्वाधिक पुरस्कार राशीको गोल्डकप फुटबलमा चिर–परिचित यी दुवैले आफूलाई उपाधिको हकदार दावी गरेका छन्।

दुवै टीमले फाइनल यात्रा गर्दासम्मको प्रदर्शन हेर्दा संघर्षपूर्ण प्रतिस्पर्धा हुने निश्चित छ । थ्रिस्टार र मनाङ डेढ बर्षपछि आमने सामने हुन लागेका हुन । पछिल्लो पटक डेढ बर्षअघि ए डिभिजन लिगको अन्तिम खेलमा मनाङ र थ्रिस्टारबीचच प्रतिस्पर्धा भएको थियो ।

मदन भण्डारी स्मृति गोल्डकपको अन्तिम सेमिफाइनलमा भारत कोलकताको गरिफा स्पोर्टिङ् क्लबलाई ३–० को गोल अन्तरले पराजित गर्दै मनाङ् उपाधि नजिक पुगेको हो । मनाङ्लाई उपाधि नजिक पुर्याउन लामो समयपछि खेलमा फर्किएका स्टाइकर सन्तोष शाहुखलले दुई र बिमल राणाले एक गोल गरेका थिए।

क्वाटरफाइनल खेलमा भने मनाङका  सुजल श्रेष्ठले ह्याट्रिक पुरा गरि सेमिफाइनलमा पुगेको थियो । झापा रमपम एघारलाईं ४–३ गोल अन्तरले  पराजित गदैं मनाङले सेमिफाइनलको यात्रा सुरक्षित गरेको थियो ।  सो खेलमा मनाङका लागि सुजल श्रेष्ठले ह्याटिक गरेका थिए भने अर्को एक गोल बिशाल राईले गरेका थिए।

थ्रिस्टार क्लबले सेमिफाईनल खेलमा विभागिय टिम त्रिभुवन आर्मी क्लब काठमाडौलाई हराउँदै फाईनलमा प्रवेश गरेको थियो । दुईं साताअघि धनगढीमा भएको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आर्मीले थ्रिस्टारलाई हराएर सेमिफाइनलमा प्रवेश गरेको बदला मदन भण्डारी गोल्डकपमा लिएको थियो ।

टाइब्रेकरमा आर्मीलाई ५–३ गोल अन्तरले हराउँदै  थ्रिस्टारले फाईनलको यात्रा सुरक्षित गरेको थियो । निर्धारित समयको खेलमा भने दुवै टीमले एक–एक गोल गरेका थिए । पहिलो क्वाटर फाइनल खेलमा थ्रिस्टारका अजय मार्टिनको निर्णयक गोलले सेमिफाइनलमा प्रवेश गरेको थियो । सशस्त्र प्रहरीको एपीएफलाई २–१ गोलको अन्तरले हराउँदै  थ्रिस्टार सेमिफाइनलमा प्रवेश गरेको थियो । खेलको पहिलो हाफको ३८ औँ मिनेट र दोस्रो हाफको २ मिनेटमा मार्टिनले गोल गरि थ्रिस्टारलाई सेमिफाइनलको यात्रा सुरक्षित गराएका थिए ।

यसरी सरसर्ती हेर्दा थ्रिस्टारले अहिले सम्म ३ गोल गरेर २ गोल खाएको छ । मनाङ्ले ७ गोल गरेर ३ गोल खाएको छ । स्कोरको हिसाबले हेर्ने हो भने थ्रिस्टार भन्दा मनाङ केही बलियो देखिएको छ ।

मनाङकातर्फबाट सुजल श्रेष्ठ, सन्तोष साहुखल, बिशाल राई, बिमल राणा र बिराज महर्जनले उत्कृष्ट खेल प्रस्तुत गर्दै आएका छन् । फाइनलमा थ्रिस्टारका तर्फबाट क्याप्टेन बिक्रम लामा र सुनिल बल भरपर्दा खेलाडी हुन् । यसबाहेक बिमल घर्तीमगर, अजय मार्टिन, बुद्ध चेम्जोङ र एउटै क्लबबाट फुटबल खेलिरहेका दाजुभाइ रजिन धिमाल र बिजय धिमाल पनि आश लाग्दा खेलाडी हुन । थ्रिस्टारका डिफेण्डर अनन्त तामाङ् मनाङका लागि बाधक बन्न सक्छन । सन्तोष शाहुखल र सुजल श्रेष्ठलाई रोक्नु थ्रिस्टारका लागि चुनौतीपूर्ण देखिन्छ ।

दुवै टिमका कोच र क्याप्टेनले एकले अर्कालाई कम नआंक्ने बताएका छन । शुक्रबार आयोजित प्रि–म्याच प्रेस कन्फेन्समा दुवै टिमका कोचले सुरुमा रक्षात्मक खेल खेल्ने बताए । प्रतियोगिताको विजेताले १२ लाख नगद, २.५ तोला र ८० तोला चाँदिबाट निर्मित ट्रफि प्रदान गरिने छ भने उपविजेतालाइ नगद छ लाख प्रदान गरिनेछ । यस्तै, सर्वोत्कृष्ट खेलाडीलाईं ४२ इन्चको टिभी र २५ हजार नगद प्रदान गरिनेछ । यस्तै, प्रत्येक खेलको म्यान अफ दि म्याचलाईं दस हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही २० हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगिता गर्नका निम्ति राष्ट्रिय खेलकुद परिषद र मदन मण्डारी फाउन्डेसनले सहयोग गरेको छ। मुख्य प्रायोजक भने एसियन थाई फुड्स प्रालि र प्रायोजक गोर्खा ब्रुअरी प्रालि रहेको छ।

प्रकाशित: १३ माघ २०७४ ०२:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App