४ वैशाख २०८१ मंगलबार
समाज

नेपाली हिमालकी ‘गुगल’ एलिजाबेथ रहिनन्

तस्बिर सौजन्य - एसियन ट्रेकिङ प्रालि

काठमाडौं  –नेपाली हिमाल, हिमशृंखला र आरोहण गतिविधिबारे सम्भवतः सबैभन्दा बढी जानकार अमेरिकी नागरिक एलिजाबेथ हलेको बिहीबार निधन भएको छ ।आधुनिक र सूचना प्रविधिको अंग्रेजी शब्दावली सापटी लिने हो भने नेपाली हिमालकी ‘गुगल’ मानिने एलिजाबेथसँग जति जानकारी थियो, त्यति सायदै अरू कोहीसँग होला ।

‘एलिजाबेथसँग नेपालका हिमाल, हिमशृंखला र आरोहण गतिविधिबारे असाध्यै धेरै ज्ञान र जानकारी थियो, उहाँले आफ्नो जीवन हिमालबारे सोधखोज र अनुसन्धानमै बिताउनुभयो,’ हिमाल अध्येता एलिजाबेथसँग वर्षौं संगत गरेका नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले शुक्रबार नागरिकसँग भने, ‘उहाँको निधनले नेपालको पर्वतारोहण क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । अब नेपाली हिमालबारे उहाँजस्तै बढी जानकार कमैमात्र छन् ।’ हिमाल अध्ययनमै लागेर उनले झन्डै ६ दशक नेपालमै बिताएकी थिइन् ।

शेर्पाका अनुसार राजा महेन्द्रको राज्याभिषेकको समाचार संकलन गर्ने उद्देश्यले एलिजाबेथ ५७ वर्षअघि सन् १९६० मा अमेरिकाबाट नेपाल आएकी थिइन् । नेपालका हिमाल र हिमशृंखलाबाट मोहित उनले नेपाललाई नै कर्मथलो बनाइन् । त्यसपछि उनी अमेरिका फर्किनन् ।एलिजाबेथ पहिलोपटक नेपाल आएदेखि नै हिमालबारे जानकारी राख्न थालेको शेर्पाले बताए । हिमालसम्बन्धी उनका अनुसन्धानमूलक लेखरचना अन्य तथ्यांक ‘हिमालयन डाटाबेस’ नाममा सयौं सिडी, किताब र जर्नलमा प्रकाशित छन् । उनका अधिकांश लेखरचना अमेरिकन अल्पाइन क्लबका जर्नलमा प्रकाशित छन् ।

एलिजाबेथ पत्रकारसमेत थिइन् । उनले अमेरिकाको फच्र्युन म्यागाजिन र टाइम म्यगाजिन तथा बेलायतको रोयटर्स समाचार संस्थाका लागि लामो समय नेपाल बसेर हिमाल र आरोहण गतिविधिसम्बन्धी समाचार लेखेकी थिइन् । नेपाली हिमालमा पुर्याएको योगदानको कदर गर्दै सरकारले केही वर्षअघि एउटा हिमाललाई उनकै नाम दिएको थियो । धौलागिरि हिमशृंखलामा पर्ने ६ हजार १ सय  ८२ मिटर उचाइको उक्त हिमालको नाम ‘पिक हले’ राखिएको छ ।

‘सरकारले मेरै संयोजकत्वमा गठन गरेको नौ सदस्यीय समितिको सिफारिसपछि  १ सय ४ वटा हिमाल खुला गरेको थियो भने उक्त अनाम हिमाललाई हलेको नाम दिएको थियो,’ इन्टरनेसनल क्लाइम्बिङ एन्ड माउन्टेनियरिङ फेडरेसनका पूर्वअध्यक्ष तथा मानार्थ सदस्यसमेत रहेका शेर्पाले भने, ‘हाम्रा हिमालबारे धेरै जानकार नेपाली नागरिकमा हर्क गुरुङ र विदेशीमा एलिजाबेथ हुनुहुन्थ्यो र दुःखद पक्ष अहिले दुवैजना हामीमाझ हुनुहुन्न ।’

केही वर्षअघिसम्म पर्वतारोहण मौसम सुरु हुनासाथ एलिजाबेथ शेर्पाले तीन दशकदेखि सञ्चालन गर्दै आएको एसियन ट्रेकिङ प्रालिमा दिनहुँ पुग्ने गर्थिन् । नेपाल र तिब्बतका हिमाल आरोहणमा जाने टोलीको पूर्णजानकारी लिन एलिजाबेथ दिनहुँ आउने गरेको शेर्पा स्मरण गर्छन् ।‘कुन देशको कुन आरोहण दल कहिले आउँछ, हिमालको कुन उचाइमा पुग्यो, कहिले चुचुरो पुग्यो जस्ता जानकारी उहाँसँग हुन्थे,’ शेर्पाले भने, ‘कुनै आरोही हिमालको चुचुरोमा पुगेको शंका लाग्नासाथ हामी ती आरोहीलाई एलिजाबेथका अगाडि राखिदिन्थ्यौं । उहाँको अगाडि कुनै पनि आरोहीले ढाँट्न सक्दैनथे । उहाँ लामो अनुभवले खारिनुभएको थियो ।’

सर्वोच्च शिखर सगरमाथाका प्रथम आरोहीमध्ये एक सर एडमन्ड हिलारीले स्थापना गरेको ‘सर एडमन्ड हिलारी फाउन्डेसन’ र पछि नाम परिवर्तन गरी ‘हिमालयन ट्रस्ट’ बनाइएको संस्थाको नेपाल प्रमुख भएर एलिजाबेथले धेरै वर्ष काम गरेकी थिइन् । यो संस्थामा रहेर उनले हिमाली क्षेत्रको शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा योगदान गरेकी थिइन् ।

तीन दशकअघि एलिजाबेथले चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको टाइगर टप्स रिसोर्टमा पनि काम गरेकी थिइन् । त्यसबेला उनले अमेरिकाको एक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी पानाम एयरलाइन्सको नेपालका लागि आधिकारिक बिक्री प्रतिनिधि (जिएसए) का रूपमा पनि काम गरेकी थिइन् । उनी केही वर्षअघिसम्म नेपालका लागि न्युजिल्यान्डको मानार्थ काउन्सेलरसमेत थिइन् । उनी लामो समयदेखि एक नर्स सहयोगी लिएर डिल्लीबजारमा बस्दै आएकी थिइन् ।

केही वर्षअघिसम्म सार्वजनिक कार्यक्रममा पनि उनको उपस्थिति हुने गथ्र्यो । तर, पछिल्लोपटक अस्वस्थताका कारण उनी कतै पनि जाने गरेकी थिइनन् । उनै ९५ वर्षीया एलिजाबेथको बिहीबार बिहान साढे २ बजे राजधानीको सिवेक अस्पतालमा निधन भएको छ । उनको शव अमेरिका लैजाने वा नेपालमै अन्त्येष्टि गर्ने भन्ने निर्णय गर्न शनिबार एलिजाबेथको परिवार नेपाल आउँदैछ । परिवारमा एलिजाबेथका दिदीबहिनीका छोराछोरी छन् ।

 

 

प्रकाशित: १३ माघ २०७४ ००:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App